महाअभियोग छानबिन समितिमा बुधबार सफाइ दिन पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका न्यायाधीशदेखि वकिलसम्मलाई विभिन्न आरोप लगाएका छन्।
राणाले आफ्नो बयान क्रममा बार एसोसिएसनका पदाधिकारी, न्यायाधीश र राजनीतिक दलका नेतामाथि आरोप लगाएको नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले बताइन्।
'सबै राजनीतिक दल र पूर्वप्रधानन्यायाधीशहरूप्रति प्रश्न उठाउनुभएको छ,' शर्माले भनिन्, 'आज बढी सुन्ने काम भयो। मिडियाप्रति पनि उहाँको प्रश्न छ। सबै एकातिर हुँदा म एक्लो वृहस्पति भएँ भन्ने उहाँको आसय थियो।'
राणाले क-कसलाई के-के आरोप लगाए त?
नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माका अनुसार उनले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीदेखि प्रकाशमान सिंह राउतलाई किटानीका साथ आरोप लगाएका थिए।
राणाले कार्कीमाथि प्रधानन्यायाधीश बन्न आफूविरूद्ध लागेको आरोप लगाए।
'रोलक्रममा मपछिको व्यक्तिलाई प्रधानन्यायाधीश बन्ने इच्छा हुन्न र? दीपक कार्कीलाई पनि थियो होला। उहाँलाई प्रधानन्यायाधीश बनाउन मसँग तीन-चारपटक प्रस्ताव आएको हो। मैले यसरी न्यायालय चल्दैन भनेर मानिनँ,' उनले भने।
सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीलाई पनि राणाले मुद्दा पन्छाउने गरेको आरोप लगाए।
'हरिकृष्णजी मुद्दा पन्छाइरहनुहुन्छ। केपी ओलीको महान्यायाधीवक्ता भएकाले उहाँको हेर्न मिल्दैन भन्नुहुन्छ तर आफ्नो स्वार्थका अन्य मुद्दा हेर्नुहुन्छ,' उनले भने।
सर्वोच्चकै अर्का न्यायाधीश प्रकाशसिंह राउतलाई पनि उनले इजलास हेर्दाहेर्दै राखेर निस्किने, रक्सी खाएर मात्नेदेखि श्रीमतीमाथि हिंसा गरेर डिभोर्स गर्न लगाउनेसम्मका आरोप लगाए।
'प्रकाशसिंह राउत इजलास हेर्दाहेर्दैमा राखेर पक्षहरूलाई भेट्न निस्किनुहुन्छ। भट्टीमा गएर रक्सी खाएर लड्खडाउँदै निस्किनुहुन्छ। कहिले त पिएसओ र ड्राइभरले बोकेर घर ल्याउनुपर्छ,' राणाको भनाइ उद्धृत गर्दै एक सांसदले भने, 'श्रीमतीलाई जबर्जस्ती डिभोर्स गर्न लगाउनुभएको थियो। मैले यो विषयमा उहाँसँग कुरा गरेको थिएँ!'
अरू न्यायाधीशहरूले गुटबन्दी गरेको र आफूलाई काम गर्न नदिएको उनले बताएका थिए।
राणाले प्रतिनिधिसभा विघटनमा भएको फैसलामा अरू न्यायाधीशलाई किन उन्मुक्ति दिइयो भन्ने सवाल पनि गरेका थिए। पूर्वप्रधानमन्त्री ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनमा भएको फैसलापछि आफूलाई मात्र किन अभियोग लगाइयो भन्ने उनको प्रश्न थियो।
प्रतिनिधिसभा विघटनविरूद्ध रिट दिने निवेदकहरूले अरू न्यायाधीशलाई आश्वासन दिएको उनले ठोकुवा गरे।
'असार २८ पछि मैले के गरेँ र ममाथि अभियोग आयो? प्रस्ट रूपमा भन्छु- निवेदकबाट अन्य न्यायाधीशमाथि आश्वासन दिइएको छ,' उनले भने।
गएको दसैंपछि उनीविरूद्ध न्यायालयमा भएको विद्रोहबारे सांसदहरूले प्रश्न गरेका थिए। त्यही सन्दर्भमा उनले न्यायाधीशहरूलाई एकपछि अर्को आरोप लगाएका हुन्।
सर्वोच्चका १९ न्यायाधीशले ४० दिनसम्म उनले तोकेका इजलास बहिष्कार गरेका थिए। त्यसपछि पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोसेर उनीहरू इजलास फर्किएका थिए।
न्यायाधीशहरूलाई नेपाल बारले उचालेको पनि राणाले समितिसमक्ष आरोप लगाएको समितिकै अर्का एक सांसदले बताए।
'प्रधानन्यायाधीशविरूद्ध न्यायाधीशलाई बारले उचाल्यो। यो कुनै संविधानले दिने कुरा होइन। न्यायाधीशलाई नआउनु भन्न भएन, मोटरको चाबी खोस्न भएन। एक-दुई न्यायाधीश इजलास नछाड्नेमा हुनुहुन्थ्यो तर उहाँहरूलाई पनि दबाबमा पारियो। अरू न्यायाधीशहरूले मान्छे पठाएर बार्गेनिङ गर्नुभयो राजीनामा दिनुस् भनेर, बारले पनि भन्यो,' राणालाई उद्धृत गर्दै उनले भने, 'न्यायालय प्रमुखले त्यसको स्वाभिमानमा सम्झौता गर्नुहुन्न भन्नेमा म स्पष्ट छु। सधैं अरूको विचारमा सहमत हुन सकिन्न। न्यायालयको गरिमाका लागि त्यो सही हुन्न। पारदर्शी रूपमा यो भन्छु म।'
नेपाल बारले भने उनका इजलास मात्र बहिष्कार गरेको थिएन, तीन महिनासम्म उनीविरूद्ध नाराबाजी गर्दै सर्वोच्चको मूलगेटमा प्रदर्शन गरेको थियो।
आफूविरूद्धको त्यो आन्दोलन केही वकिलको स्वार्थमा भएको राणाले बताएका थिए।
तत्कालीन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश बनाउन आफूलाई दबाब दिएको उनले बताए। तत्कालीन बार महासचिव लिलामणि पौडेलले त चेम्बरमै आएर मुख्य न्यायाधीश मागेको उनको आरोप छ।
उनले सर्वोच्च बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले आफूलाई विरोध गर्नुको कारण मुद्दाको स्वार्थ भएको बताए।
'तत्कालीन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश माग्नुभएको थियो। महासचिव लिलामणि पौडेलले चेम्बरमै आएर मुख्य न्यायाधीश माग्नुभएको थियो,' राणाले भने, 'त्यस्तै सर्वोच्च बार अध्यक्ष पूर्णमान शाक्यको पनि मुद्दामा स्वार्थ थियो। तर मैले मानिनँ। विधि र शासनको पालना गर्छु भनेँ। त्यहीँ भएर उहाँहरू मेराविरूद्ध लाग्नुभएको हो।'
वरिष्ठ अधिवक्ता हरिहर दाहाल र शम्भू थापाले पनि आफूलाई दबाब दिने गरेको राणाको आरोप थियो।
'हरिहर दाहाल र शम्भू थापाले सधैं इजलास तोक्दा दबाब दिनुहुन्थ्यो। आफ्नो मुद्दा यो न्यायाधीशकोमा पार्नू, ऊ न्यायाधीशकोमा पार्नू भन्ने दबाब आउँथ्यो,' उनले भने।
बारको आन्दोलनबारे उनले थप भने, 'म प्रश्नबाहिर छैन र होइन। मैले प्रश्न गर्न मिल्दैन भनेको पनि छैन। तर कसैको पनि दबाब मान्दिनँ भनेको हो। जनताको सर्वोच्च संस्था फेस गर्छु भनेको त्यही बेला हो। त्यसैले म यस गरिमामय संसदमा छु। न्यायालयको नेतृत्वमाथि अनुसन्धान नगरी लगाइएको आरोपमा संसदले छानबिन गरेर फैसला गर्नुपर्ने दायित्व होइन र?'
कांग्रेसका सांसद विश्वकर्माका अनुसार राणाले आफूमाथि लागेका आरोप खण्डन नगरेको बताए।
'उहाँलाई हामीले न्यायपालिकाको कार्यसम्पादन राम्ररी नगरेको, बिचौलियाको घुसपैठ भएको, अधिकार दुरूपयोग गरेको भन्ने आरोप छन् नि भनेर सोधेका थियौं। उहाँले ती आरोपबारे खररर बोल्नुभयो। जसले आरोपलाई नै प्रमाणित गरेजस्तो लाग्छ,' उनले भने।