मोरङको ६ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार बन्न नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, डिला संग्रौला र रमेशजंग रायामाझीले पार्टीमा आवेदन दिएका छन्।
आवेदन दिनेहरूमध्ये कोइराला पार्टीभित्रको संस्थापन इतर पक्षमा नेता हुन् भने संग्रौला र रायामाझी संस्थापन पक्षका हुन्।
पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई बलियो चुनौती दिएर संस्थापनइतर पक्षको नेता बनेका कोइरालालाई चुनौती दिन संस्थापनले केन्द्रीय सदस्य संग्रौला र राष्ट्रिय सभामा दलका नेता रायामाझीलाई अघि सारेको हो।
‘अहिलेसम्म हामी तीन जनाको आवेदन परेको छ’, प्रदेश १ का पार्टी उपसभापति समेत रहेका रायामाझीले भने, ‘यसपटक यो क्षेत्रबाट मैले चुनाव लड्ने हो। शेखर कोइरालाले क्षेत्र परिवर्तन गर्नुपर्छ।’
रायामाझीले कोइरालालाई मोरङ -२ जान सार्वजनिक रूपमै सुझाइरहेका छन्।
उनीसहितका संस्थापन पक्षका नेताहरू यो क्षेत्र कोइरालाले छाड्नु पर्ने भन्दै निरन्तर लबिङमा छन् भने कोइराला यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्।
कोइरालालाई शक्तिशाली हुन नदिन संस्थापन पक्षले महाधिवेशनयता निरन्तर प्रयास गर्दै आएको छ। शेखर निकट नेताहरू ‘सोही कारण घेराबन्दी गरिएको तर पार नलाग्ने’ बताउँछन्।
कांग्रेसका क्षेत्रीय सभापति देवराज तामाङले आकांक्षीहरूको आवेदन आउने क्रम जारी रहेको जानकारी दिए।
‘अहिले हामी बैठकमा छौं, आवेदन आउने क्रम जारी छ’, उनले भने, ‘आवेदन लिइसकेपछि मात्रै सिफारिस गर्ने हो।’
मोरङ-६ मा २०७४ को निर्वाचनमा कोइराला वाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित बनेका थिए।
वाम गठबन्धनका पण्डितले त्यसबेला ३३ हजार ९४१ मत ल्याउँदै जीत दर्ता गर्दा कोइराला ३३ हजार २६६ मत ल्याएर पराजित बनेका थिए। पण्डित र कोइरालाबीचको मतान्तर ६७५ मत मात्रै थियो।
यसपटक गठबन्धनको सहारामा सजिलै जीत निस्कने कांग्रेस नेताहरूको आशा छ। नेता कोइराला स्वयं भने स्थानीय चुनावमा गठबन्धनको विपक्षमा थिए। उनले अहिले स्थानीय चुनावताका जस्तो गठबन्धनको खुला विरोध त गरेका छैनन्। तर, कांग्रेसले कम्तीमा सय सिटबेगर तालमेल गर्न नहुने अडान चाहिँ राखिरहेका छन्।
कांग्रेसभित्र कोइराला परिवारको बलियो पकड रहेको मानिने यो क्षेत्रमा क्षेत्रीय समितिले कोइराला एक्लैको नाम सिफारिस गर्ने तयारी गरेको तर कोइरालाकै आग्रहमा आवेदन लिएर छलफलको बाटो खुला गरिएको उनीनिकट नेताहरुको भनाइ छ।
‘क्षेत्रीय समितिले उहाँको मात्रै नाम सिफारिस गर्ने तयारी गरेको थियो,’ समितिका एक पदाधिकारीले भने, ‘उहाँ नै त्यसो गर्न मान्नुभएन।’
विराटनगर महानगरको वडा नम्बर ४, ५, ६, ७, ९, ११ र १२, बुढीगंगा गाउँपालिका, सुन्दरहरैंचा नगरको २, ३, ४, ५ र ६ नम्बर वडा यो क्षेत्रमा पर्दछन्।
पछिल्लो स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार कांग्रेसका उम्मेदवारले नै सबैभन्दा धेरै मत पाएका छन्।
कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २७ हजार ८६ मत पाउँदा एमालेका उम्मेदवारले २४ हजार ५५६, माओवादीकाले ४ हजार ९९६, जसपाकाले ३ हजार ९३९, राप्रपाले ३ हजार ११५, एकीकृत समाजवादीले २ हजार ३५५ र लोसपाका वडाध्यक्ष उम्मेदवारले ८९५ मत पाएका थिए।
सत्ता गठबन्धनका दलहरुको सबैको मत जोड्दा यहाँ ३८ हजार ३७६ हुन्छ। जुन एमालेभन्दा बढी हो। एमाले, राप्रपा र लोसपा एकातिर उभिने अवस्था आयो भने पनि त्यो गठबन्धनमा कूल मत २८ हजार ५६६ मत मात्रै हुन्छ।
२०७४ को निर्वाचनमा समानुपातिकबाट सांसद बनेकी डिला संग्रौलाले पनि यसपटक आफू प्रत्यक्षतर्फ प्रतिष्पर्धा गर्ने बताएकी छन्।
‘मैले समानुपातिकबाट सांसद बनेर अनुभव हासिल गरिसकें, अब म प्रत्यक्षमा प्रतिष्पर्धा गर्ने हो’, उनले भनिन्, ‘त्यसैले पार्टीमा आवेदन दिएकी हुँ।’
कांग्रेसबाट उम्मेदवार बन्ने चर्चित नेताहरूको लर्को लाग्दा एमालेले भने अहिलेसम्म उम्मेदवार छनोटबारे छलफल मात्रै गरिरहेको छ। यो क्षेत्रबाट एमालेले फेरि लालबाबु पण्डितलाई नै अघि सार्ने तयारी गरेको छ। यद्यपि पछिल्लो राष्ट्रिय सभा निर्वाचनमा गोलाप्रथामा हारेका अध्यक्ष केपी शर्मा ओली निकट नेता गुरू बराल पनि यहाँबाट उम्मेदवार हुन सक्ने सम्भावना एमाले नेताहरू औंल्याउँछन्।
‘२०७४ को चुनावमा पण्डितको जुन क्रेज थियो, त्यो अहिले छैन,’ एमालेका एक नेताले भने, ‘त्यसैले अहिले यसै भन्न सकिने अवस्था छैन।’