'प्रदीप गिरिमा जस्तो अलौकिक र विलक्षण प्रतिभा जीवनमा कहिल्यै भेटेकी थिइनँ र अब कहिल्यै भेट्ने पनि छैन,' भक्कानिँदै गिरिप्रति उनकी धर्मपत्नी भारती सिलवाल गिरिले श्रद्धाका शब्दहरू प्रस्तुत गरिरहँदा राष्ट्रियसभा गृहको हल एकाएक स्तब्ध बन्यो।
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथिका अवसरमा बिहीबार काठमाडौंमा आयोजित शोकसभामा भारतीले पतिका बारेमा श्रद्धाञ्जली प्रस्तुत गर्नेक्रममा उनको प्रस्तुति र भावप्रति सभा एकाग्र बनेको थियो।
सुरूमा सहज ढंगले आफ्ना कुरा राखेकी भारतीले गिरिका बारेमा कुरा जति अघि बढाउँदै गइन्, उत्ति नै आँसु र अवरूद्ध गलाले हलमा उपस्थित सबैलाई भावुक बनायो।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टी पदाधिकारीको ध्यान सिलवालको भावुक प्रस्तुतितर्फ केन्द्रित भयो। जसले उनीहरूलाई पनि निकै भावुक बनाएको देखिन्थ्यो।
कांग्रेस केन्द्रीय कार्यसमिति एवं जिल्ला कार्यसमिति काठमाडौंले संयुक्त रूपमा आयोजना गरेको शोकसभामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेतासहित पार्टीका पदाधिकारी तथा हलभित्र खचाखच कांग्रेस नेता कार्यकर्ता एवं शुभेच्छुकको भीड केही क्षण शोकमय बन्यो।
'प्रदीपमा विशाल हृदय थियो, उहाँले भेद्भावरहित सबैलाई समान माया गर्नुहुन्थ्यो। गल्ती गर्नेलाई दोस्रोपटक मौका दिनुपर्छ भन्ने उहाँको भावना हुन्थ्यो। त्यसलै उहाँको महाप्रस्थानको अन्तिम यात्रामा जनसागर उर्लियो,' भारतीले भनिन्।
प्रदीपमा प्रजातान्त्रिक विचारप्रति दूरदर्शी दृष्टिकोण रहेको उनको भनाइ थियो। स्वतन्त्रता, समानता, स्वाधीनता र अन्तरविविधितालाई एकताबद्ध गरेर लैजानुपर्छ भन्ने भावना पनि उनमा रहेको उनले बताइन्।
राजनीतिक कठिनाइका बेला प्रधानमन्त्री एवं पार्टी सभापतिसँग गिरि सँगै उभिए। आगामी निर्वाचनमा गिरिको प्रजातान्त्रिक समाजवादको विचारलाई जनतामा लगेर विश्वास जित्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विचार सो कार्यक्रमका वक्ताले व्यक्त गरे।
सभापति देउवाले प्रदीप गिरिको निधनले सिंगो पार्टी पंक्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताए। गिरिका विचार र उनका कृतिलाई अध्ययन र अनुशरण गर्नसकेको खण्डमा समाजवादी आन्दोलनलाई ठूलो सहयोग पुग्ने विश्वास देउवाले व्यक्त गरे।
प्रजातान्त्रिक समाजवादका बौद्धिक र प्रखर व्यक्तित्व गिरि कसैलाई पनि नबिजाउने, मनमा लागेको देखेको कुरा स्पष्ट राख्नसक्ने वक्ता भएको कांग्रेस वरिष्ठ नेता पौडेलले स्मरण गरे।
गिरिको यही भदौ ४ गते निधन भएको थियो।
मित्रलाल र पुण्यप्रभाका छाेरा गिरिको २००४ असोज २४ गते सिरहाको बस्तीपुरमा जन्म भएको थियो। उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए।
उनी समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरूसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका नेता मानिन्छन्। उनी राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदुर एवं विपन्न परिवारलाई विकासको केन्द्रबिन्दुमा राख्थे।
नेता गिरि नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय वनारसबाट कांग्रेस पार्टीमा आबद्ध भई पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै पञ्चायतविरूद्ध संघर्षरत रहे। सबै किसिमका निरंकुशताविरूद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरि लोकतान्त्रिक आन्दोलनमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निर्वाह गर्ने क्रममा पटकपटक जेल र निर्वासनमा रहे।
उनी कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय थिए। नेता गिरिको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिंगो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको कांग्रेसको ठहर छ।
(रासस)