महाअभियोग छानबिन समितिमा बुधबारबाट बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोधिएका प्रश्नलाई 'अर्थ न बर्थको' भनेर टिप्पणी गरेपछि बिहीबार तीन महिला सांसदले उनलाई निकै बेर सम्झाए।
बयानको सुरूदेखि महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको जिकिर गरिरहेका राणाले बिहीबार 'यसमाथि छलफल गर्नुको औचित्य नभएको' टिप्पणी गरेका थिए।
सांसदहरूले सोधेको पाँचौं प्रश्नको जवाफ दिने क्रममा राणाले भनेका थिए, 'मैले देशको एउटा न्यायाधीशको हैसियतले कमसेकम सिंगो न्यायपालिकालाई के आधार र के कारणबाट भताभुंग पारेको हुँला? यस्तो अमुक प्रश्न राखेर अभियोग लगाउनुलाई के अर्थमा लिनु? यो अर्थ न बर्थको निरर्थक प्रश्न हो।'
यस्तो टिप्पणीपछि उनलाई सम्झाउने सांसदहरूमा माओवादीका रेखा शर्मा र यशोधा सुवेदी गुरूङ र नेकपा एकीकृत समाजवादीकी कल्याणी खड्का हुन्।
राणाले एक घन्टा लगाएर पाँचौं प्रश्नको जवाफ दिएपछि छैठौं प्रश्न सोधिएको थियो, जुन राणाले शक्ति पृथकीकरणको सिद्धान्त र शक्ति सन्तुलन बिगारेको भन्ने आरोपमाथि केन्द्रित थियो।
यसको जवाफमा राणाले समितिका पाँच जना सांसदले महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेकाले उनीहरू नै बसेर प्रश्न सोध्ने र उनीहरूले नै निर्णय गर्न नमिल्ने बताएका छन्।
'प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राज्यका अंगहरूको सन्तुलन कायम गर्न कहाँ सकेन? यो ठाउँमा गएर यसरी अधिकार दुरूपयोग गर्यो भन्ने कहीँ छैन। यो महाअभियोग पूर्वाग्रही ढंगबाट आएको छ,' उनले भने, 'यो समितिमा पाँच जना सदस्य त मलाई अभियोग लगाउने नै हुनुहुन्छ। यसलाई मैले फेरि पनि भनिरहनुपरेन। मैले न्यायिक मूल्य र मान्यताको विषयमा प्रश्न गर्दा माननीयज्यूहरूलाई चित्त दुख्ला। तर हाम्रो न्यायिक प्रणालीमा स्वच्छ सुनुवाइ हुन जसले आरोप लगाउँछ, उही न्यायाधीश हुँदैन। योभन्दा बढी मैले माननीयज्यूहरूलाई भनिनँ।'
आफूमाथि लागेका अभियोगको कुनै तथ्यगत आधार नभएर सैद्धान्तिक कुरा मात्र उठाइएको उनले बताएका थिए।
राणाले पटकपटक महाअभियोग प्रस्ताव र छानबिन समितिमाथि नै प्रश्न उठाएको भन्दै माओवादी सांसद रेखा शर्माले आपत्ति जनाएकी थिइन्।
'हिजोदेखि उहाँले पटकपटक धेरै प्रश्न उठाउनुभएको छ। आज त आरोप लगाउने सांसदहरू नै समितिमा भएपछि के हुन्छ भन्नुभयो। हामी यहाँ संविधान र नियमावलीअनुसार छौं। प्रस्ताव बेठिक छ भन्ने कुरा आउँदा आउँदै अब समिति नै बेठिक छ भन्ने कुरा ल्याउनुभयो। यसमा म गम्भीर असहमति राख्न चाहन्छु,' शर्माले भनिन्, 'बारको विषय संसदमा पेस गरियो भन्ने जुन कुरा आयो, त्यसमा मैले अपमान फिल गरेँ।'
नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले पनि राणाले आफूहरूका प्रश्नलाई औचित्यपूर्ण छैन भनेर टिप्पणी गर्नु ठिक नभएको बताइन्।
'आज पाँच नम्बरको प्रश्न गर्दा यो स्पष्ट छैन, बुझिएको छैन, औचित्य छैन, अर्थ न बर्थको छ भनेको अवस्थामा त हामीले सोच्नुपर्यो,' उनले भनिन्, 'यहाँले हामीलाई संविधान पढाउनुभयो, कानुन पढाउनुभयो, घरि नियमावली पढेर सुनाउनुहुन्छ, घरि बार भनेको यो हो, न्यायालय यस्तो हुन्छ भन्नुहुन्छ। तपाईंले महाअभियोगको अर्थै छैन भन्नेतिर बहस गर्ने हो कि जवाफ दिने हो?'
उनले अगाडि भनिन्, 'तपाईंले हामीसँग प्रमाण माग्नुभयो। इतिहासमा चार महिनासम्म सर्वोच्चको आँगनमै नाराबाजी भयो, न्यायालय अवरूद्ध भयो, त्योभन्दा ठूलो प्रमाण के चाहिन्छ?'
खड्काले यति भनेपछि राणाले आफूविरूद्ध लागेका आरोप खण्डन गर्न पाउने स्पष्टीकरण दिए।
उनले आफू आरोप लागेर छानबिन समितिमा आएकाले त्यसमा संवैधानिक र कानुनी नियमावलीको आधार देखाएको जिकिर गरे।
खड्कापछि बोलेकी माओवादी सांसद यशोधा सुवेदी गुरूङले भने उनलाई सुरूमा सैद्धान्तिक प्रश्न भएकाले त्यसकै जवाफ दिन भनिन्।
'यहाँमाथि महाअभियोग लाग्दा जति पनि आरोप छन् र जे जति उजुरी आएका छन्, ती सबैलाई ध्यानमा राखेर गम्भीर हुन आग्रह गर्छु,' उनले भनिन्, 'दोस्रो कुरा, हाम्रो सहभागितालाई लिएर जुन प्रश्न उठाउनुभयो, त्यसबारे जवाफ दिनुपर्ने त होइन, तै पनि म भन्छु, हामी आफ्नो जिम्मेवारीप्रति सजग छौं। तपाईंबारे निर्णय गरेपछि हामी जनताको अदालतमा उभिनुपर्छ। त्यति बेला खरो उभिन सकौं भन्नेमा हामी सजग भइहाल्छौं।'
उनले राणालाई सोध्न अझै धेरै प्रश्न बाँकी भएको पनि बताइन्।
'यहाँलाई अहिले सोधिएका प्रश्न सैद्धान्तिक छन्। पछि पछि जाँदा व्यावहारिक प्रश्नहरू पनि आउँछन्। तर यहाँलाई सोधिएका र सोधिने प्रश्न हचुवाका छैनन् है। यो कुरा बुझिराख्नु होला। यहाँलाई आर्थिक रूपमा पनि गम्भीर चार्ज लागेका छन्। विभिन्न मुद्दामा सेटिङ गरेको उजुरी छ। कतिपय घुस खाएका विषयमा फोन संलग्नताका कुरा पनि छन्। अदालतभित्रकै भवन निर्माणमा यहाँले गरेको चलखेलको कुरा छ। त्यसैले कुरा गम्भीर छन्,' उनले राणालाई सम्झाइन्, 'त्यसैले गम्भीर भएर आफ्नो जवाफ दिनुहोस् है।'
यी पनि हेर्नुहोस्: