पोखरा महानगरका मेयर निर्वाचित भएपछि धनराज आचार्यलाई फुर्सद छैन। उनको व्यस्तताले काठमाडौंबाट ५ दिन बस्नेगरी छोरी पोखरा आउँदासमेत भेट्न पाएनन्। बावुछोरी गफिन समय पुगेन।
‘बिहान ६ बजे हिँड्यो, बेलुका अबेर फर्केर सुत्यो,’ आचार्यले भने, ‘छोरी काठमाडौंबाट घर आएर ५ दिन बस्दासमेत भेट्न भ्याइन।’
मेयर आचार्य जस्तै उपमेयर मञ्जुदेवी गुरुङ पनि व्यस्त छिन्। उनले पनि निर्वाचित भएदेखि बिहानै उठेर निस्कने र बेलुका अबेर घर फर्कने गरेको बताइन्। महानगरको काम गर्दागर्दै घर र परिवारलाई समय दिन नसकेको उनीहरू दुबैको भनाइ छ।
वैशाख ३० गते भएको स्थानीय निर्वाचनबाट निर्वाचित भएपश्चात पोखराका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यले जेठ १२ गते कार्यभार सम्हालेका थिए। पोखराको जिरो किलोमिटरदेखि हलनचोकसम्म सडकको डिभाइडरमा फुल रोपेर उनीहरूले कार्यभार सम्हालेका थिए।
मेयर र उपमेयरले कार्यभार सम्हाल्दा रोपेको फुल सोही रात चोरी भएका थिए भने केही उखेलेर फालिएका थिए। मेयर धनराजको व्यक्तिगत खर्चमा फेरी फुल रोपिएको थियो। यस फुलरोपणलाई मेयर धनराजले उपलब्धीका पहिलो बुँदामा उल्लेख गरेका छन्।
कार्यभार सम्हालेको सय दिनका अवसरमा शनिबार पोखरामा पत्रकार भेटघाट गर्दै मेयर, उपमेयर लगायत जनप्रतिनिधिले सय दिनमा सयवटै काम गरेको दाबी पेश गरे। महानगरका मेयर धनराजले दिनरात खटिएर सय दिनमा यत्तिका उपलब्धी हासिल गरेको दाबी गरे।
उनले पेश गरेका उपलब्धीमा महानगरले नियमित प्रदान गर्ने कृषि तथा फलफुलका विरूवा वितरण, जनप्रतिनिधि तथा महानगरका महाशाखा प्रमुखलाई नेतृत्व विकास तालिम, वृक्षारोपण, विभिन्न क्लब, तथा संघ संस्थाले आयोजना गर्ने फुटबल प्रतियोगितादेखि अन्य सांस्कृतिक कार्यक्रमलाई आर्थिक सहायता दिएको विषय पनि मेयर धनराजले उपलब्धीमा समेटेका छन्।
‘हामीले सहयोग गरेर सफल भएका कार्यक्रमलाई पनि हामीले उपलब्धी मानेका छौं,’ उनले भने ।
महानगरका मेयर धनराजले निर्वाचित भएपछि केही सुधारका प्रयत्न पनि गरेका छन्। महानगरमा एकद्धार प्रणालीबाट सेवाग्राहीले सेवा पाउने व्यवस्था उनले मिलाएका छन्। जहाँ सेवाग्राहीले फाइल बुझाएपछि कोठाकोठा घुम्न पर्दैन, आवश्यक फाँटमा कर्मचारीले नै फाइल लैजाने र काम फत्ते गर्ने व्यवस्था उनले मिलाएका छन्।
यस्तै, उनले पोखराका ७२ रोपनी बढी सार्वजनिक जग्गा अनधिकृत रुपमा विभिन्न निजी कम्पनीले कब्जा गरेको उजागर गरेका छन्। त्यसको छानविन गरी सरकारी निजी कम्पनीलाई दिने अघिल्लो मेयरको निर्णय खारेज गरिदिएका छन्।
यस्तै, उल्लेख गर्न लायक उनले गरेका अर्को काम हो, पोखरा बसपार्कको स्तरोन्नती। वर्षामा हिलाम्मे भएर सवारी साधनसमेत जान नसक्ने बसपार्कमा उनले ग्राभेल बिच्छ्याएका छन्। बसपार्कको गुरुयोजना अनुसार कालोपत्र गर्ने र बसपार्क अतिक्रमण गरेर बसेका सुकुम्बासी हटाउने योजना बनाएका छन्।
महानगरले पोखराका विभिन्न भवनमा पार्किङका लागि बनाइएको अण्डरग्राउण्ड व्यवसाय हटाउन सूचना जारी गरेका छन्। यसको कार्यान्वयन हुन बाँकी छ। सूचना पनि महानगरको उपलब्धीमा समेटिएको छ।
सार्वजनिक जमिन अतिक्रमण गरेको बसेका केही सुकुम्बासी हटाए पनि मेयर धनराजले फेवाताल लगायत अन्य महत्वपूर्ण स्थानको अतिक्रमण हटाउन सकेका छैनन्। ग्रामिण क्षेत्रमा अतिक्रमण गरेर बसेका केही टहरा उनले हटाएका छन्।
सडक रिसोलिङ गर्ने तथा खाल्डा पुर्ने, बेरोजगार युवाको लगत संकलन थालनी, सुकुम्बासीलाई निस्सा वितरणको सुरूवात, भूमि वर्गीकरण लगायतका काम पनि उनको उपलब्धीमा छ। पोखराका बजार क्षेत्रमा निजी घर तथा व्यवसायिक भवनका शौचालय सार्वजनिक प्रयोग गर्न ३२ स्थानका ७३ वटा शौचालय सर्वसाधारणका लागि खुला गर्न सफल भएको पनि मेयर धनराजले बताएका छन्।
फेहोरमैला व्यवस्थापनका लागि धरानदेखि भारतको दिल्ली भ्रमण, विभिन्न देशका राजदुत तथा कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, विकास साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रमुख र प्रतिनिधीसँगको भेटघाट, सहयोग आदान प्रदानका विषयमा भएका छलफल र पोखरामा भएको ६ वटै महानगरका मेयर सम्मेलन पनि उनको उपलब्धीमा समेटिएका छन्।
लेकसाइडस्थित कोमागाने पार्कमा पोखरासँग भगिनी सम्बन्ध जोडिएका विभिन्न देशका १३ वटा सहरले थिपपार्क बनाउन सुरू गरेको पनि मेयर धनराजले बताएका छन्।
अपाङ्गता भएका व्यक्तिका लागि माइक्रोबस, एम्बुलेन्स खरिद लगायत पनि महानगरले उपलब्धीमा राखेको छ।
पोखरामा ५ वटा विद्युतीय साझा बस संचालन गर्न साझा यातायतसँग सम्झौता भएको र पोखराको यातायात गुरुयोजना बनाउन कोरियन सहयोग नियोग कोइकासँग सम्झौता भएको, पाखेराका २३ वटा चोकमा १ हजार ५०४ वटा सडक बत्ती राख्न उज्यालो पोखरा अभियान थालेको, विभिन्न सडकको अध्ययन तथा ठेक्का सम्झौता गरेको, बजेट निर्माण गरी पारित गरेको, करको दर घटाएर दायरा बढाएको पनि महानगरले सय दिने उपलब्धी ठानेको छ।
स्कुल स्तरीय नृत्य प्रतियोगिता, योग कार्यक्रम, शहिद सम्मान, पत्रकार भेटघाटसमेत उपलब्धीमा उल्लेख गरेका मेयर धनराजले चुनावअघि घोषणा पत्रमा ३ महिनामा गर्छु भनेका सबै काम गरेको दाबी गरे।
उनले घोषणा पत्रमा पदबहालीका दिन महानगरले दिने सिफारिस निशुल्क दिने, एक महिनाभित्र हेलो मेयर कार्यक्रम संचालन गर्ने, तीन महिनाभित्र घुम्ती अस्पताल, घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण, महानगर केन्द्रदेखि ग्रामिण क्षेत्रमा साँझ बससेवा संचालन गर्ने, सेवा क्षेत्रका व्यवहार विकास सम्बन्धी प्याकेज ल्याउने, करको दर घटाएर दायरा बढाउने, कार्यालयमा एकद्धार प्रणालीबाट सेवा दिने, अनुसन्धानका आधारमा विकास परियोजना संचालन गर्ने, प्राथमिकता तोकेर परिचय पत्र वितरण गर्ने उल्लेख गरेका थिए।
यी विषयका अधिकांश काम सम्पन्न भएको र केही काम बजेटमार्फत कार्यान्वयन हुने मेयर धनराजले बताए।