नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्री हुँदा थालनी गरेको सहर केन्द्रित बासिन्दालाई स्वास्थ्य सेवा दिने एक योजनाले ६ वर्षपछि गति लिएको छ।
२०७३ मा स्वास्थ्य मन्त्रालयले ‘सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन निर्देशिका’ बनाएको थियो। त्यही वर्ष चैतमा स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ स्थानमा यस्ता केन्द्र सञ्चालन गर्ने सम्झौता भएको थियो। तर काम अघि बढेन। स्वास्थ्य मन्त्री हुँदा थापाले वडा तहमा यो केन्द्र सञ्चालन गर्न बजेट पनि बिनियोजन गरे तर ‘फ्रिज’ भयो।
२०७४ को स्थानीय चुनावबाट नेकपा एमालेका नेता विद्यासुन्दर शाक्य काठमाडौं महानगरको मेयर निर्वाचित भए। उनले पनि स्वास्थ्य मन्त्रालयसँग महानगरले गरेको सहरी स्वास्थ्य प्रवर्द्धन योजनालाई प्राथमिकता साथ अगाडि बढाएनन्।
अहिले भने त्यो कामले बिस्तारै गति लिन लागेको छ।
कोरोना महामारीका बेला काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आइसोलेसन केन्द्र खुल्यो। त्यही आइसोलेसन केन्द्रलाई नै गत चैत १ गतेदेखि सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रुपमा सञ्चालनमा ल्याइएको छ। ज्ञानेश्वरमा रहेको सो केन्द्रको व्यवस्थापन काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाको कार्यालयबाट भइरहेको छ।
सांसद थापाले आफू स्वास्थ्य मन्त्री हुँदा थालनी गरेका योजनाबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग केही समयअघि कुराकानी गरेका थिए।
‘उहाँ (बालेन) सँगको भेटमा मैले वडा नम्बर ३० मा सञ्चालन भइरहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका बारेमा कुराकानी गरेको थिएँ। हाम्रो सुरूको सोचअनुसार किन अरू वडामा यस्ता केन्द्रहरू चल्न सकेन भन्नेबारे पनि कुराकानी भयो,’ थापाले भने, ‘उहाँले यो विषयलाई सकारात्मक लिनुभयो। हाम्रो पनि यस्तै सोचाइ छ, सवै वडामा यस्तै काम गर्नुपर्छ भन्ने छ भन्नुहुन्थ्यो।
काठमाडौं महानगरका स्वास्थ्य विभाग निर्देशक बलराम त्रिपाठीले महानगरबाट अनुमति लिई ज्ञानेश्वरमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरिएको बताए।
‘महानगरकै स्वीकृतिमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन भएको हो। त्यहाँ महानगरबाट दुई जना कर्मचारी पनि छन्,’ उनले भने, ‘महानगरका ३२ वटै वडामै एमडिजिपीसहित नर्स राख्ने निर्णय हालै महानगरले पनि गरिसकेको छ।’
भदौ १२ मा काठमाडौं महानगरको कार्यालिका बैठकले हरेक वडामा एमडिजिपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरी पारित गरेको थियो। हरेक वडामा जनरल फिजिसियन डाक्टर राखेर स्वास्थ्यसम्बन्धी सल्लाह र उपचार दिन सकिने महानगरको भनाइ छ।
‘ज्ञानेश्वरमा चलिरहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रकै मोडलमा महानगरले ३२ वटै वडामा नर्स र डाक्टर राख्ने निर्णय गरेको छ,’ त्रिपाठीले भने, ‘महानगरबासीलाई सेवा दिन डाक्टरसहित सबै वडामा करिबकरिब सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रकै मोडलमा सेवा दिन्छौं।’
जनताका घरदैलोमै डाक्टरसहित सेवा सुविधा पुर्याउँदा थप प्रभावकारी हुने विश्वास महानगरको छ। अझै केन्द्रले जस्तो घरदैलोमै सेवा दिन सके अझै प्रभावकारी हुने उनी बताउँछन्।
आफूहरूले कुराकानी गरेको केही समयपछि काठमाडौं महानगरले ३२ वटै वडामा ‘एमडिजिपी’ र नर्स राख्ने निर्णय पनि गरेकोले खुसी लागेको कांग्रेस महामन्त्री थापा बताए।
‘महानगरको अहिलेको नेतृत्वले सहरी स्वास्थ्यको आवश्यकता के छ भने बुझेको र त्यसलाई प्राथमिकतामा राखेको हुनाले अब देशैभरका स्थानीय सरकारले पनि यसलाई अझै सही ढंगबाट अघि बढाउँछन् भन्ने मलाई अपेक्षा छ,’ थापाले भने।
ज्ञानेश्वरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका अनुभवले पनि महानगरलाई फाइदा हुने उनले बताए।
‘ज्ञानेश्वरमा सञ्चालित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र एउटा क्लिनिक मात्र होइन, यसका अनुभवबाट नागरिकलाई कसरी स्वस्थ बनाउने भन्नेजस्ता कुरा पनि समेटिन्छ,’ उनले भने।
सहरी क्षेत्रमा जनसंख्या बढ्दै गइरहे पनि सार्वजनिक स्वास्थ्य संरचनाको अवस्था कमजोर छ। सार्वजनिक र निजी अस्पताल खुले पनि उपचार महँगो छ।
‘नागरिकको उपचारमा लाग्ने खर्च थेग्न सक्ने बनाउन र स्वास्थ्य बीमा सफल बनाउन पनि सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वडा तहमा सञ्चालन गर्नुपर्छ,’ थापाले भने।
कस्तो छ ज्ञानेश्वरको स्वास्थ्य प्रवर्द्धन केन्द्र?
ज्ञानेश्वरमा मासिक डेढ लाख भाडा तिर्ने गरी एक घर लिएर गत चैत १ देखि सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा छ।
काठमाडौं महानगर वडा नम्बर ३० को समन्वय र सांसद थापाको कार्यालयबाट व्यवस्थापन हेर्ने गरी यो केन्द्रले यहाँका बासिन्दा (स्थायी र अस्थायी) लाई स्वास्थ्य सेवा दिइरहेको छ।
गत साउन १ देखि केन्द्रले विशेषज्ञ सेवा पनि सुरू गरेको थियो। सातामा छ दिन भिन्नभिन्नै रोगका विशेषज्ञ डाक्टरले केन्द्रबाट सेवा दिँदै आएका छन्।
‘बाल, छाला रोग, महिला तथा प्रसूतिसँग सम्बन्धित विशेषज्ञबाट सेवा दिइरहेका छौं। नेपाल मेडिकल संघसँग समन्वय गरी डाक्टरले छ दिन सेवा दिनुहुन्छ,’ केन्द्रको व्यवस्थापनलगायत हेर्दै आएका थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले भने, ‘यो केन्द्रबाट दिनमा २५/३० जनाले नियमितजस्तो सेवा लिइरहनुभएको छ, शुल्क पनि लाग्दैन।’
निजी अस्पताल गएमा नागरिकले विशेषज्ञ सेवाका लागि पाँच सय/हजार शुल्क टिकटमै तिर्नुपर्ने उनी बताउँछन्। साथै केन्द्रमा न्यून शुल्कमा ल्याब सेवा, फिजिओथेरापी, बजारमाभन्दा २० देखि ३० प्रतिशत छुटमा औषधि पनि पाइने व्यवस्था मिलाइएको पौडेलले बताए।
केन्द्रमा एक एमडिजिपी डाक्टरको नेतृत्वमा १४ जना स्वास्थ्यकर्मी छन्। यीमध्ये तीन जना कम्युनिटी नर्स पनि छन्।
अशक्तलाई घरमै सेवा:
केन्द्रमा परीक्षणका लागि आउन नसक्ने वडा नम्बर ३० भित्रका बासिन्दालाई यो केन्द्रबाट घरमै गएर स्वास्थ्यकर्मीले परीक्षण र 'फलोअप'समेत गर्छन्।
‘अहिले वडामा रहेका सहरी स्वास्थ्य केन्द्रमा खोप लगाउन पाइन्छ तर सामान्य परीक्षण र उपचार पाइन्न,’ पौडेल भन्छन्, ‘वडा नम्बर ३० मा ३२ हजार स्थायी बासिन्दा छन्, १ लाख अस्थायी बासिन्दा छन्। सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले यहाँका नागरिकलाई सेवा दिएर उपचार खर्च केही न केही घटाइरहेको छ।’
यो केन्द्रको उद्देश्य नागरिकलाई सकेसम्म रोग लाग्न नदिने, परीक्षण गरिराख्ने र घरनजिकै सेवा र औषधि उपलब्ध गराउने हो। स्वास्थ्य केन्द्रमा सरकारबाट उपलब्ध हुने नि:शुल्क औषधि सबै पाइन्छ।
साथै नागरिकको ‘हेल्थ प्रोफाइल’ बनाउने काम पनि सुरू गरिएको छ।
‘असक्तलाई घरमै स्वास्थ्य सेवा दिइन्छ। अपांगता भएका र दीर्घ रोगीले घरमै उपचार र फलोअप सेवा पनि पाउँछन्,’ उनले भने, ‘औषधि पनि घरमै पुर्याउने व्यवस्था छ।’
वडा नम्बर ३० मा दुई हजार पाँच सय घरमा पुगेर अहिलेसम्म १० हजार जनाको 'हेल्थ प्रोफाइल' तयार पारिएको उनले बताए। 'हेल्थ प्रोपाइल'मा बिरामीलाई कुन रोग लागेको छ, औषधि कुन सेवन गरिरहेको छ भन्नेजस्ता विवरण उल्लेख गरिएको हुन्छ।
केन्द्रले टोल-टोल र सरकारी र निजी विद्यालय र भोजनालयमा पुगेर सरसफाइ लगायतका विषयमा पनि प्रशिक्षण र जानकारी दिने गरेको छ।
विद्यालय स्वास्थ्य सेवाअन्तर्गत वडा नम्बर ३० का ११ विद्यालयमा अभिमुखीकरण कार्यक्रम पनि भइसकेको छ।
‘अहिलेसम्म १५०० विद्यार्थीलाई सरसफाइ, पौष्टिक आहारालगायत बारेमा अभिमुखीकरण दिइएको छ,’ उनले भने, ‘विद्यालयमा शौचालय सरसफाइका अवस्था पनि केन्द्रबाट निरीक्षण हुन्छ।’
वडा नम्बर ३० का एक सय ४६ भोजनालय निरीक्षण तथा अनुमन र भोजनालय सञ्चालकलाई अभिमुखीकरण पनि दिइएको छ। भोजनालयमा गुणस्तरीय खाना-खाजा छ कि छैन, सरसफाइका अवस्था कस्ता छन् भन्ने केन्द्रले अनुगमन गर्छ।
‘हामीले जनस्वास्थ्य निरीक्षकमार्फत् भोजनालयको अनुगमन गर्ने गरिएको छ। काठमाडौं महानगरले पनि हालै 'फुड इन्स्पेक्टर' राख्ने निर्णय गरेको छ, यो राम्रो हो,’ पौडेलले भने, ‘पहिले यस्ता संरचना थिएनन्। घरनजिकै सेवा, डाक्टरसँग परामर्श र परीक्षण गर्न पाउँदा बासिन्दा पनि खुसी छन्।’
केन्द्रमा भर्ना गरेर उपचार भने गरिँदैन। ‘माइनर’ शल्यक्रिया भने हुने पौडेल बताउँछन्।
केन्द्रमा आँखा, दाँतलगायत परीक्षण तथा उपचार सेवा पनि थप गर्ने तयारी छ।
‘काठमाडौं महानगरमा स्रोतको कमी छैन, यस्ता केन्द्र आवश्यकता भएका ठाउँमा खोल्दा नागरिकले घर नजिकैबाट सेवा पाउँछन्,’ उनले भने, ‘यति अस्पताल भवन बनायौं भन्ने अवधारणा बदलेर अब यति नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिन सकियो भनेर स्थानीय सरकारले भन्न सक्नुपर्छ।’
पौडेलले पनि महामन्त्री थापालेजस्तै काठमाडौं महानगरको अहिलेको नेतृत्वबाट आफूहरूले जनताको स्वास्थ्यका लागि काम गर्ने आशा राखेको बताए।
‘स्थानीय सरकार प्रमुखले हामीले यति बाटो बनायौं भनेर जसरी गर्वसाथ भन्छन् त्यसरी नै नागरिकका स्वास्थ्यमा लगानी गर्ने हो भने केही वर्षमै स्थानीय सरकार प्रमुखले हाम्रा नागरिक स्वस्थ छन् भन्न पाउँछन्, त्यो खुसीको क्षण हुनेछ,’ उनले भने।
सहरी क्षेत्रका गरिब र नागरिकलाई परीक्षण र उपचारमा पहुँच पुर्याउन वडा तहमै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरिनुपर्ने उनले बताए।
केन्द्रले व्यायमशाला पनि सञ्चालन गर्ने तयारी गर्दैछ।
‘व्यक्तिको स्वास्थ्यलाई आवश्यक पर्ने एकीकृत सेवा स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट दिन सकिन्छ। यसरी वडा तहमा परीक्षण गर्न सकियो भने सामान्य परीक्षणका लागि सरकारी अस्पतालमा बिरामीको चाप घट्छ। जनताले पनि सुख पाउँछन्,’ उनले भने।
सबै तस्बिरहरू: सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ज्ञानेश्वर।