गत शुक्रबार पार्टीको प्रशिक्षणलाई सम्बोधन गर्न सुर्खेत आएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशको सिट बाँडफाँट गर्दा माओवादीले धेरै पाउनुपर्ने संकेत गरे।
विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘कर्णाली प्रदेश माओवादीको अरूभन्दा बलियो आधार इलाका हो, हामीले अहिलेको निर्वाचनबाट अझ बलियो बनाएर यहाँ हाम्रो नेतृत्वमा सरकार बन्ने वातावरण बनाउँछौं।’
२०७४ को निर्वाचनमा एमालेसँग तालमेल गर्दा कर्णालीमा कम सिट लिनु माओवादीको कमजोरी भएको उनले बताए। गत निर्वाचनबाट कर्णाली प्रदेश सभामा माओवादीले दोस्रो स्थान पाएको थियो।
प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा पनि प्रचण्डले सिट बाँडफाँटमा कर्णालीमा माओवादीलाई न्यायोचित हुने गरी अगाडि बढ्ने गरी सिट संख्या धेरै लिने संकेत गरेका थिए।
‘कार्यकर्ताहरूले माओवादीको आधार इलाका भएकोले अरूको भन्दा धेरै पाउनुपर्छ भनेर उहाँलाई चिट लेखेर दिनुभएको थियो, अध्यक्षज्यूले पनि तपाईंहरूको भावनालाई सम्बोधन गर्नेगरी टुंग्याउँछौं भन्नुभएको हो,’ प्रशिक्षणमा सहभागी माओवादीका एक नेताले सेतोपाटीसँग भने।
प्रशिक्षणमार्फत् प्रचण्डले प्रदेशमा गुटबन्दी गर्ने शीर्ष नेताहरूलाई हप्काए। नेता, कार्यकर्ताहरूलाई द्वन्द्वका क्रममा सहिद तथा घाइते भएकाहरूका घरमै गएर माफी माग्ने चुनावी रणनीतिबारे पनि सुझाए।
प्रदेश र प्रनिधि सभा निर्वाचन २०७९ का लागि कर्णाली प्रदेशमा सिट बाँडफाँट गर्ने क्रममा माओवादी र कांग्रेसबीच मुख्य समस्या हुने देखिएको छ। यी दुबै दलले प्रदेशमा आ-आफ्नो बहुमतका लागि दाबी गरिरहेका छन्।
नेपाली कांग्रेसले कर्णाली स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएकाले त्यसकै आधारमा सिट संख्या पाउनुपर्ने दाबी गरेको छ। दलको प्रदेश कार्यसमितिले कर्णालीमा प्रदेशका २४ र प्रतिनिधि सभाका १२ सिटमध्ये आधा सिट कांग्रेसले लिएर बाँकी ५० प्रतिशत सिट सत्ता गठबन्धनमा भएका अरू दललाई बाँड्नुपर्ने धारणा व्यक्त गरेको छ।
‘यो प्रदेशमा स्थानीय तह निर्वाचनबाट कांग्रेस ठूलो दल बनेको छ, अब प्रदेशमा पनि हाम्रै नेतृत्वमा सरकार बन्नुपर्यो नि,’ नेपाली कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता दमन शाहीले भने, ‘अहिले हाम्रै नेतृत्वमा गठबन्धन भएको छ, कर्णालीको सन्दर्भमा आधा सिट कांग्रेसले लिएर बाँकी गठबन्धनका अरू दललाई बाँड्न दिनुपर्छ।’
यहीअनुसार केन्द्रमा राय लेखेर पठाइएको उनले बताए। सिफारिस भई आएका नामहरूलाई न्यायोचित ढंगबाट टुंगो लगाएर प्रदेशमा कांग्रेसको बहुमत आउने गरी सिट बाँडफाँटको टुंगो लगाउनु पर्ने राय लेखी पठाएको उनले बताए।
माओवादीको कर्णाली प्रदेश कमिटीले पनि यही राय लेखी पठाएको छ।
‘यो हाम्रो आधार इलाका भएकाले हाम्रै नेतृत्वमा सरकार बन्ने र माओवादीको बहुमत हुनेगरी सिट बाँडफाँटको कुरा टुंगिनुपर्छ, हामीले यो कुरा केन्द्रमा लेखेर पठाएका छौं,’ माओवादीकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले भनिन्।
कर्णालीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी तालमेलमा सहभागी छन्।
एकीकृत समाजवादीले प्रदेश र प्रतिनिधि सभामा गरी १० वटा सिट दाबी गरेको छ।
‘हामीले कर्णालीका हरेक जिल्लामा हाम्रो उपस्थिति हुनेगरी सिट बाँडफाँटको दाबी गरेका छौं, प्रतिनिधि सभामा नभएका जिल्लामा प्रदेश र प्रदेश नपाएको जिल्लामा प्रतिनिधि सभामा उपस्थितिका लागि हाम्रो माग हो,’ समाजवादीका कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य मोहन बडुवालले भने।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले कर्णालीका ७९ मध्ये ३२ पालिकामा जितेको छ। नेकपा माओवादी केन्द्रले २३ पालिका जितेको छ भने नेकपा एकीकृत समाजवादीले ४ पालिकामा नेतृत्व लिएको छ।
नेकपा एमालेले १५ पालिकामा नेतृत्व लिएको छ।
स्थानीय तह निर्वाचनबाट कर्णालीका पाँच वटा पालिकामा स्वतन्त्र उम्मेदवारले नेतृत्व लिएका छन्।
हुम्लाको चंखेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सन्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्रमुख/अध्यक्षमा निर्वाचित भएका थिए।
गत निर्वाचनमा यस्तो थियो भागबण्डा
२०७४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरिएको थियो। त्यसबेला दुईवटा मात्र दल मिलेर चुनाव लड्दै गर्दा कर्णालीको भागबण्डामा बढी सिट एमालेले लिएको थियो।
कर्णालीमा प्रतिनिधि सभातर्फ १२ निर्वाचन क्षेत्र छन्। जसमा माओवादी र एमालेले आधा-आधा भाग गरेका थिए।
दुइटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका सुर्खेत र दैलेख र एउटा निर्वाचन क्षेत्र रहेका डोल्पा र मुगुमा एमालेले भाग पाएको थियो। बाँकी निर्वाचन क्षेत्र रहेका कालीकोट, सल्यान, जुम्ला, जाजरकोट, हुम्ला र रूकुम पश्चिममा माओवादीले प्रतिनिधि सभा भाग पाएको थियो।
प्रतिनिधि सभामा एमालेले आफूले भाग पाएका पूरै ६ वटा सदस्य जित्दा माओवादीलाई भने एक सिट घाटा लाग्यो।
२०७४ को सिट बाँडफाँटको काम टुंग्याउँदा हुम्लामा भाग पाएको माओवादीले प्रतिनिधि सभाको टिकट छिमी दोर्जे लामालाई दियो। माओवादीबाटै बलियो दाबेदार रहेका छक्कबहादुर लामाले आफूले पार्टीबाट टिकट नपाएपछि कलम चुनाव चिन्ह लिएर स्वतन्त्र लडे। अन्तः छक्कबहादुरले नै चुनाव जिते। पछि उनै लामा सांसद भएपछि एमालेले प्रवेश गरे।
जसले गर्दा प्रतिनिधि सभाको भागबण्डामा ६ सिट पाएको माओवादीले निर्वाचनको नतिजापछि भने पाँच सिटमै खुम्चिनुपर्यो।
कर्णालीमा २४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये २०७४ को भागबण्डामा एमालेले १४ र माओवादीले १० सिट भाग पाएका थिए। दैलेखमा ३, मुगु, सल्यान र सुर्खेतमा २/२, हुम्ला, जाजरकोट, जुम्ला, डोल्पा र कालीकोटमा एकेक सिट एमालेले पाएको थियो। सुर्खेतमा २, रुकुम पश्चिममा २, कालीकोट, डोल्पा, जुम्ला, जाजरकोट, हुम्ला र दैलेखमा एकेक सिट माओवादीले भाग पाएको थियो।
२०७४ को निर्वाचनमा प्रतिनिधि सभामा जस्तै प्रदेशमा पनि माओवादीले भाग पाएकामध्ये एउटा गुमाउनुपर्यो। एमालेले भने भाग परेका १४ वटै सिट जित्यो।
हुम्ला (ख) मा नेपाली काँग्रेसका जीवनबहादुर शाहीको बलियो प्रभावका कारण माओवादीले एमालेसँगको एकता गरी भाग पाएको प्रदेश सभा गुमाउनुर्यो।
त्यसबेला कांग्रेसले २४ मध्ये एउटा मात्र प्रदेश सभामा प्रत्यक्ष जितेको थियो। एउटा सिट जितेकी उनै शाही राजनीतिक अवस्था परिवर्तनपछि अहिले कर्णालीका मुख्यमन्त्री छन्।