नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्दा क्षेत्रीय समितिबाटै ‘मोटो रकम’ उठाएको पाइएको छ।
कांग्रेस विधानले उम्मेदवार सिफारिस गर्दा पैसा लिने कल्पना गरेको छैन।
विधानविपरीत अधिकांश क्षेत्रीय समिति (प्रदेश सभा र प्रतिनिधि सभा) कार्यसमितिले उम्मेदवारको आवेदन लिँदा नै पैसा लिएका हुन्।
कांग्रेस विधानअनुसार क्रियाशील सदस्य र लाभका पदमा रहेका (सांसद) लगायतबाट मात्र पैसा लिन पाइन्छ। अन्य कुनै पनि बाहनामा पनि पैसा नउठाउन कांग्रेस केन्द्रीय कार्यालयले परिपत्र नै गरेको थियो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले भदौ १३ मा गरेको परिपत्रलाई अटेर गरी कांग्रेस क्षेत्रीय समितिहरूले उम्मेदवारका आकांक्षीका नाम संकलन गर्दा विभिन्न बाहनामा पैसा उठाएका हुन्।
उम्मेदवार सिफारिस गर्दा विधानविपरीत पैसा उठाएपछि केही जिल्लाहरूमा विरोध भएको छ।
उम्मेदवार सिफारिस गर्दा पैसा लिएकोबारे केन्द्रीय कार्यालय सानेपामा लिखित र मौखिक रूपमा उजुरी आएका छन्।
काठमाडौं क्षेत्र नम्बर ७ ले पनि उम्मेदवार सिफारिस गर्दा पैसा लिएको छ। पैसा नतिर्नेको नाम नै उम्मेवारका रूपमा सिफारिस नगरिएको भन्दै केन्द्रीय कार्यालयमा भदौ १८ मा उजुरी परेको छ।
उजुरी दिएकामध्ये एक, कांग्रेस काठमाडौं ७ का नेता प्रगतिमान रञ्जितले क्षेत्रीय समितिलाई पैसा नदिएकै कारण आफ्नो नाम उम्मेदवार सिफारिसमा नपरेको बताए।
‘उम्मेदवारका लागि आवेदन दिँदा र सिफारिस गर्दा पैसा नदिनू/नलिनू भन्ने केन्द्रीय कार्यालयको परिपत्र थियो। तर परिपत्रलाई रड्डीको टोकरीमा फालेर क्षेत्रीय समितिले विधानविपरीत पैसा लियो,’ उनले भने, ‘हामीले पैसा लिएकोमा विरोध गर्यौं। पैसा बुझाइसकेकाहरूको फिर्ता गर्नुपर्छ भन्यौं तर हाम्रो नाम नै सिफारिस गरिदिएनन्। त्यसपछि उजुरी दिएका हौं।’
काठमाडौं क्षेत्र नम्बर ७ ले कार्यसमिति बैठकबाट माइन्युट नै गरेर प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुन ५० हजार र समानुपातिकतर्फ ३५ हजार पैसा तिर्नुपर्ने निर्णय गरेको उनले बताए।
‘विधानविपरीत पैसा उठाउने क्षेत्रीय समितिलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘अनधिकृत रूपमा उठाइएको पैसा फिर्त गरिनुपर्छ।’
प्रदेश सभा क्षेत्रतर्फ प्रत्यक्षतर्फ उम्मेदवारका लागि आवेदन दिन ३५ हजार, समानुपातिकतर्फ २५ हजार लिएको उनले बताए।
चुनावका बेला टिकट बिक्री हुने आरोप पहिले सुनिए पनि यसपालि भने क्षेत्रीय समितिबाटै उम्मेदवार सिफारिसमै पैसा लिएर गलत गरिएको उनले बताए।
‘यो त पार्टीलाई व्यापारीकरण गर्ने काम भयो। मैले त नेताहरूलाई भेटेर पनि भनिदिएँ- व्यापार नै गर्ने हो भने पार्टीलाई उद्योग वाणिज्य महासंघमा नवीकरण गर्नुपर्यो निर्वाचन आयोगमा होइन। निर्वाचन आयोगमा पार्टी नवीकरण गर्ने भए त विधि विधानअनुसार चल्नुपर्यो।’
उम्मेदवार सिफारिस गर्दा क्षेत्रीय समितिले पैसा उठाएकोबारे भदौ १८ मा बागमती प्रदेश पार्टी समिति र केन्द्रमा पनि पत्र पठाइएको उनले बताए। रञ्जित, विजय माली र मनोज रानाले क्षेत्रीय समितिले पैसा लिएको भन्दै पार्टीमा उजुरी दिएका हुन्।
बागलुङमा पनि उम्मेदवार सिफारिस गर्दा चर्को शुल्क लिएकोमा विरोध भएको छ।
जिल्ला कार्यसमिति बागलुङले पार्टी कार्यालय भवन बनाउन भन्दै उम्मेदवार सिफारिसको मौका छोपेर पैसा उठाएको थियो।
‘१४ आना जग्गा किनेका छौं त्यहाँ बिपी स्मृति भवन बनाउने तयारी छ। भवन बनाउनकै लागि सक्नेहरूबाट पैसा आह्वान गरिएको हो,’ जिल्ला सचिव हरिहर शर्माले भने, ‘पैसा तिर्न नसक्ने तर पार्टीमा लामो समयदेखि योगदान दिँदै आएकालाई सम्बन्धित तहको सिफारिसअनुसार पैसाविना नै उम्मेदवार सिफारिस पनि गरिएको छ।’
उनले प्रतिनिधि सभातर्फ उम्मेदवार हुन ६० हजार जति सहयोग गरिदिन आग्रह गरिएको बताए। प्रतिनिधि सभातर्फ उम्मेदवार हुन आवेदन दिनेले ७५ हजारसम्म पैसा तिरेका छन्।
‘पार्टी कार्यालयका लागि १४ आना जग्गा किन्दा २ करोड ५ लाख लागेको थियो। सबै पैसा तिरिसकिएको पनि छैन। बिपी स्मृति भवन बनाउन पनि पैसा संकलन गर्दैछौं,’ उनले भने, ‘उम्मेदवार हुनका लागि टिकट ल्याउन १ करोड खर्च गर्न सक्छन्। भवन बनाउन सहयोग गरूँन् भन्ने हो।’
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उम्मेदवारी आवेदन लिँदा र सिफारिस गर्दा पैसा लिन नमिल्ने बताए।
‘हामीले परिपत्र गरेर पैसा लिन मिल्दैन नलिनुस् भनेका हौं। पैसा लिइरहेको भन्ने मौखिक उजुरी आएका छन्। यसबारे पार्टीले विधि विधानअनुसार कारबाही गर्छ,’ उनले भने।
‘उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नु वा उठाउनु विधानविपरीत कार्य हुने भएकोले त्यस्तो नगर्न निर्देशानुसार अनुरोध गरिएको छ,’ पौडेलले परिपत्र गर्दै भनेका थिए। तर यो परिपत्र अधिकांश क्षेत्रीय समितिले मानेनन्।
अधिकांश क्षेत्रीय कार्यसमितिले उम्मेदवार सिफारिस गर्दा विधानअनुसार तीन जनाको नाम मात्रै सिफारिस गर्नुपर्नेमा आवेदन दिएका सबैका नाम सिफारिस गरेका छन्।
कांग्रेसमा प्रदेश, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले उम्मेदवारको नाम जिल्लालाई, जिल्लाले रायसहित प्रदेश कार्यसमितिलाई र प्रदेशले पनि रायसहित केन्द्रीय कार्यसमितिलाई नामावली पठाउनुपर्ने व्यवस्था छ।
केन्द्रीय संसदीय समितिमार्फत उम्मेदवार टुंगो गरी केन्द्रीय कार्यसमितिबाट पारित गर्नुपर्ने विधानको व्यवस्था छ। संसदीय समितिमा उम्मेदवार छनौट गर्दा सहमति नभए बहुमतबाट गर्ने व्यवस्था छ। तर सभापति शेरबहादुर देउवाले संसदीय समितिलाई पूर्णता दिन सकेका छैनन्। पदाधिकारीबाहेक संसदीय समितिमा नेता रामचन्द्र पौडेल मात्रै छन्।