भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसका नेता राहुल गान्धी बिहीबार बिहान भारतको सबैभन्दा दक्षिणी भूमि कन्याकुमारीमा थिए। तमिलनाडुको कन्याकुमारीबाट उनी आजै कश्मिरसम्मको ३ हजार ५ सय ७० किलोमिटर लामो पैदल यात्रामा निस्किएका छन्।
सन् २०२४ को आम निर्वाचनलाई लक्षित गर्दै भारतलाई एकतावद्ध बनाउने नारा सहित कंग्रेसले राहुलको नेतृत्वमा ‘भारत जोडो यात्रा’ सुरू गरेको हो।
पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले पाँच महिनाभित्र मुलुकका १२ प्रदेशमा पुग्ने कंग्रेसको लक्ष्य छ।
यो लङमार्चबारे गान्धीले भनेका छन्, ‘भारतीय झन्डा कुनै विशेष समुदायको होइन, यो झन्डामुनि सबै अटाउनुपर्छ। तिरंगामुनि सबैलाई एकतावद्ध गर्नका निम्ति अभियान सुरू भएको छ।’
सत्तारूढ भारतीय जनता पार्टीका कारण बढ्दै गएको धार्मिक विभाजन, बेरोजगारी, महंगी र लोकतान्त्रिक संस्थाहरूको गिर्दो साखलाई ट्रयाकमा फर्काउन आफ्नो अभियान रहेको गान्धीको भनाइ छ।
लङमार्चको अभिप्राय भारतीय समाज विभाजन विरूद्धको आवाज र स्वयं पार्टीलाई पनि सशक्त बनाउनु रहेको कंग्रेस नेताहरूको भनाइ छ। त्यसबाहेक सत्तारूढ भारतीय जनता पार्टीका नीति र गतिविधिको भण्डाफोरमा पनि लङमार्च केन्द्रित छ।
कन्याकुमारी-कश्मिर यात्राबारे कंग्रेस नेता शशि थरूर भन्छन्, ‘भारत संविधानअनुसार चल्नुपर्छ भन्दै संवैधानिक अधिकारका अस्तित्व रक्षाका निम्ति हाम्रो अभियान हो। भारतलाई एकतावद्ध बनाउन कंग्रेस सक्षम छ भन्ने सन्देश हामीले दिन चाहेका छौं। यो अभियानमा हामी सत्तारूढ भाजापाका संविधान विपरीतका गतिविधिबारे जनतालाई जानकारी दिनेछौं।’
सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र बनेको भारतमा कंग्रेसले दशकौं राज गरेको थियो। सन् २०१४ यता भाजपाको सशक्त उदय भएसँगै कंग्रेस निकै कमजोर बनेको छ। लोकसभाका चुनावमा लगातार दुई पटक हार व्यहोरेको कंग्रेसले यो अवधिमा भएका ४५ वटा विधान सभा चुनावमध्ये ४० वटामा पराजय व्यहोरेको छ।
स्रोत-साधनले धनी भाजापालाई पन्छाएर विगतको साख फर्काउने चुनौती कंग्रेससामु छ। यो चुनौतीलाई चिर्नका निम्ति यात्रा सुरू गरिएको कंग्रेसका नेता जयराम रमेश बताउँछन्।
‘पार्टीको झन्डा बोकेर थकित रहेका कार्यकर्तामाझ उत्साह भर्न र धुमिलिएको नेताहरूको छविलाई बलियो बनाउने उद्देश्य अभियानको छ,’ उनले भने।
भाजपा हिन्दुत्वको नारामा राजनीति गर्ने दल हो। संविधानअनुसार भारत धर्मनिरपेक्ष रहेको भन्दै भाजपाको हिन्दुत्वको नारालाई कंग्रेसले चुनौती दिन खोजिरहेको छ। भाजपाको राजनीतिले भारतमा विभाजनलाई बढाइरहेको कंग्रेसको आरोप छ। विभाजनको राजनीतिका कारण आफूले बुवा गुमाउनुपरेको भन्दै राहुल गान्धीले ट्वीट गरेका छन्, ‘घृणा र विभाजनको राजनीतिका कारण मैले बुवा गुमाउनुपर्यो यही कारणले मुलुकले पनि दु:खद नियति व्यहोर्न नपरोस्।’
राहुलका पिता तत्कालीन भारतीय प्रधानमन्त्री राजिब गान्धीको सन् १९९१ मा तमिलनाडुमा आत्मघाती हमलामा हत्या भएको थियो। कन्याकुमारी-कश्मिर यात्रामा निस्कनु अघिल्लो दिन राहुल बुवाको स्मारक रहेको ठाउँमा पनि पुगेका थिए।
भाजपाको विभाजनको राजनीतिविरूद्ध सदनमा बोल्न खोज्दा बोल्न नदिने, संवैधानिक संस्थामा उजुरी गर्दा सुनुवाइ नहुने भएपछि सडकमै उत्रिनुपरेको कंग्रेस नेताहरूको भनाइ छ।
कंग्रेसका महामन्त्री जयराम रमेशले भनेका छन्, ‘भाजापाबारे सदनमा बोल्न खोज्दा माइक काटिन्छ। अदालत, निर्वाचन आयोगसहित सबै संवैधानिक संस्था उसैको कब्जामा छ। हाम्रा लागि सबै ढोका बन्द भएपछि सडकमा आएका छौं।’
मार्चमा सहभागी टोलीले दैनिक २२ किलोमिटरको दूरी पार गर्नेछ। कंग्रेसले आफ्नो अभियानलाई भारतलाई एकतावद्ध बनाउने अभियान भने पनि भाजपाले भने पार्टीमा परिवारको वर्चश्व स्थापना अभियानको गर्ने अभिप्राय रहेको आरोप लगाएको छ।
‘कंग्रेसको यो अभियान विशुद्ध रूपमा पार्टीमा गान्धी परिवारको वर्चश्व कायमै राख्नु हो। उनीहरूको राजनीतिक शाख तल झर्दै गएपछि यो अभियानमा लागेका हुन्,’ भाजपाका नेता रविशंकर प्रसादले भने, ‘राहुललाई कति पटक अघि सार्ने र कति पटक जनतामाझ चिनाउने हो?’
भाजपाले यस्तो आरोप लगाए पनि कंग्रेस प्रमुख सोनिया गान्धीले यो अभियान निकै ऐतिहासिक अवसर रहेको बताएकी छन्।
‘गौरवशाली इतिहास बोकेको हाम्रो पार्टीका निम्ति यो अभियान निकै ऐतिहासिक छ। यसले कंग्रेसलाई मात्रै होइन समग्र मुलुकलाई पुनर्जागरण गर्नेमा म विश्वस्त छु,’ उनले भनेकी छन्।
भारतमा बेलाबखत हुने गरेको लङमार्चले मिश्रित नतिजा दिएको इतिहास छ। सन् १९८३ मा विपक्षी दलका नेता चन्द्रशेखरले ४ हजार किलोमिटर पदयात्रा गरेका थिए। ५६ वर्षका उनलाई भारतमा धावक नेताका रूपमा पनि चिनिन्थ्यो। त्यो यात्रा उनका निम्ति फलदायी भने भएन। १९८४ को आम निर्वाचनमा कंग्रेसले नै बहुमत ल्यायो।
सन् १९९० मा भाजपा नेता लालकृष्ण आडबाणीले पनि मिनी ट्रकलाई रथको आकार दिएर १० हजार किलोमिटर लामो यात्रामा निस्किने योजना बनाएका थिए। सोमनाथ मन्दिरदेखि अयोध्यासम्म पुग्ने उनको योजना थियो। यसको उद्देश्य बाबरी मस्जिद हटाएर अयोध्यामा राम मन्दिर निर्माणमा समर्थन जुटाउनु थियो। अभियान सुरू गरेको एक महिनामै उनी गिरफ्तार भए। राजनीतिक प्रतिद्वन्द्वी लालुप्रसाद यादवले उनको गिरफ्तारी गराएका थिए। मानवता बचाउनका निम्ति आडबाणीको गिरफ्तारी गराएको यादवको भनाइ थियो।
भारतमा लङमार्चको सुरूवात भने महात्मा गान्धीले गरेका हुन्। सन् १९३०मा बेलायती उपनिवेशविरूद्ध गुजरातदेखि उनले ३ सय ८० किलोमिटरको यात्रा गरेका थिए। ६१ वर्षका गान्धीले यो दूरी हिँडेरै पार गरेका थिए।
राहुलले अहिले सुरू गरेको अभियान कत्तिको फलदायी हुन्छ नेताहरूले भन्न सकेका छैनन्।
यस विषयमा कंग्रेस नेता थरूर भन्छन्, ‘लङमार्चको उपलब्धिको हिसाब-किताब हुँदै जाला तर सबै अटाउने भारतको पुनर्जागरणको अभियान कंग्रेसले छोड्ने छैन। लङमार्चपछि पनि त्यो जारी रहनेछ।’
(बिबिसी, टाइम्स अफ इन्डियासहित विभिन्न सञ्चारमाध्यमका विवरणमा आधारित रहेर शिशिर ढकालले तयार पारेको सामग्री।)