बेलायतीकी महारानी एलिजावेथको बिहीबार निधन भएको छ। ७० वर्षसम्म बेलायतको राजगद्दी सम्हालेकी एलिजावेथ ९६ वर्षकी थिइन्।
उनको निधनपछि बेलायतमा अब उनका छोरा राजकुमार चार्ल्स तृतीय राजा हुनेछन्। द गार्डियनका अनुसारका ७३ वर्षीय चार्ल्स तीन वर्षको हुँदादेखि नै बेलायती राजगद्दीका उत्तराधिकारी बनेका थिए। बेलायती राजगद्दीका लागि योग्य भएको ७० वर्षपछि उनी राजा बन्दै छन्।
उनको राज्याभिषेक कहिले हुन्छ भन्ने टुंगो छैन। राजकाजसम्बन्धी बेलायती राजपरिवारलाई राय-सल्लाह दिने प्रिभी काउन्सिलको बैठक बसेर चार्ल्सको राज्याभिषेकबारे निर्णय गर्नेछ। सबै प्रक्रिया पुर्याएर चार्ल्सको राज्याभिषेक हुन केही महिना लाग्न सक्ने गार्डियनले उल्लेख गरेको छ।
चार्ल्सपछि उनका जेठा छोरा राजकुमार विलियम राजगद्दीको उत्तराधिकारीमा पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा विलियमका छोरा जर्ज छन्। तेस्रो नम्बरमा विलियमकी छोरी सार्लोट र कान्छा छोरा लुइस छन्।
चार्ल्सका अर्का छोरा राजकुमार ह्यारी उत्तराधिकारीको पाँचौं नम्बरमा छन्। अमेरिकी अभिनेत्री मार्केल मेघनसँग विवाह गरेका ह्यारी केही समयअघि बेलायती राजपरिवार त्यागेर अमेरिका गएका थिए। अहिले उनी उतै बसिरहेका छन्। हजुरआमा एलिजावेथ बिरामी परेपछि उनी बेलायतका आएका थिए। ह्यारीका छोरा आर्ची र छोरी लिलिबेट राजगद्दीको उत्तराधिकारीको छैठौं र सातौं नम्बरमा छन्।
त्यसपछि राजगद्दीमा महारानी विलियमका माइला छोरा राजकुमार एन्ड्रुका परिवारको पालो आउने छ। एन्ड्रु उत्तराधिकारीको आठौं नम्बरमा छन् भने नवौं नम्बरमा उनकी जेठी छोरी बियट्रिस छन्। १० औं नम्बरमा उनकी छोरी सियन्ना छन्। ११ औं नम्बरमा एन्ड्रुकी अर्की छोरी युजेनी छन्। १२ औं नम्बरमा युजेनीका छोरा अगस्टको पालो आउनेछ।
त्यसपछि एलिजावेथका कान्छा छोरा राजकुमार एडवार्डका परिवारको पालो आउनेछ। एडवार्ड १३ औं नम्बरमा छन् भने उनका छोरा जेम्स १४ औं र छोरी लुइस १५ औं नम्बरमा छन्।
त्यसपछि १६ औं नम्बरमा एलिजावेथकी कान्छी छोरी राजकुमारी एनको पालो छ। १७ औं नम्बरमा एनका छोरा पिटर, त्यसपछि पिटरकी छोरी साभाना १८ औं नम्बमा छन्। १९ औं नम्बरमा उनकी अर्की छोरी इस्ला छन्।
राजकुमारी एनकी अर्की छोरी जरा टिन्डल २० औं नम्बरमा छन्। उनका दुई छोरी र एक छोरा २३ औं नम्बरसम्म छन्।