मंसिर ४ मा हुने संसदीय निर्वाचनमा सिट कसरी बाँड्ने भन्नेबारे सत्तारूढ गठबन्धनभित्र गलफती परिरहेका बेला नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला लगातार एउटै कुरा दोहोर्याइरहेका छन्।
कांग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई चुनौती दिएका कोइराला पछिल्लो समय चुनाव केन्द्रित भाषण गरिरहेका छन्। ती हरेक भाषणमा उनी एउटा कुरा कहीँ पनि छुटाउँदैनन्- कांग्रेसले १०० सिटमा उम्मेदवारी दिनुपर्छ।
प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १०० मा कांग्रेसका उम्मेदवार नभए विद्रोह हुने कोइरालाको चेतावनी छ। कोइरालाले १०० सिटको अडान दोहोर्याइरहनुका पछाडि दुई कारण छन्।
पहिलो, प्रत्यक्षमा १०० सिटमा उम्मेदवारी नदिने हो भने कांग्रेसले आगामी प्रतिनिधि सभामा एकल बहुमत ल्याउन सक्दैन। अहिलेको गठबन्धनबारे सुरूदेखि नै सशंकित कोइराला चुनावपछि कांग्रेस एक्लै सरकार बनाउन सक्ने हैसियतमा हुनुपर्ने तर्क गर्छन्। व्यवहारिक रूपमा भने त्यो सम्भव देखिँदैन।
कांग्रेसको केन्द्रीय समितिले नै पाँच दलीय गठबन्धनसँग मिलेर मंसिर ४ को चुनावमा जाने निर्णय गरिसकेको छ। गठबन्धनसँग मिलेर जाँदा कांग्रेसले १०० सिट राख्ने र अरू ४ दलले ६५ सिट बाँड्ने कुरा उनीहरूलाई मान्य छैन।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमै कांग्रेस ८० क्षेत्र हाराहारीमा सहमतिमा आउने बताइरहेका छन्। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले त्योभन्दा पनि घटेर कांग्रेसलाई ७० सिट दिनुपर्ने बताइरहेका छन्।
२०७४ मा कांग्रेसले प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेकोले त्यसको तेब्बर दिँदा पनि कांग्रेसले अड्को थापिरहेकाले सिट बाँडफाँटमा सहमति हुन नसकेको नेपालले बताएका थिए।
बाहिर नेता तथा कार्यकर्तामा एकअर्कालाई आक्षेप लगाए पनि सत्ता गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटबारे सौहार्दपूर्ण तरिकाले बालुवाटारमा दिनहुँजसो छलफल गरिरहेका छन्।
आफ्ना अडानबाट दलहरू पछि नहट्दा कसले कति सिट पाउने यकिन भइसकेको छैन। आइतबार चार घन्टा बालुवाटारमा शीर्ष नेता छलफलमा जुटेका थिए, तर सहमति हुन सकेन। सोमबार बिहान फेरि बैठक छ।
शीर्ष नेता बालुवाटारमा सिट बाँडफाँटबारे छलफलमा जुटिरहेका बेला आइतबार मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै शेखरले १०० सिट कांग्रेसले नपाए विद्रोह हुन सक्ने दोहोर्याए।
शेखरले बाहिर नेता कार्यकर्ताका भेटमा १०० सिट पाउनु पर्ने बताइरहेका छन् भने कार्यदलमा रहेका उनी पक्षीय महामन्त्री गगन थापाले १०० सिट पाउनु पर्ने प्रस्ताव कांग्रेसबाट राखेका थिए।
सुरूमा १०० सिट दाबी गरेको कांग्रेस सत्ता साझेदार अरू दललाई मिलाएर लैजान केही सिट घटेर पनि जान सकिनेमा पुगेका छन्। माओवादीले सुरूमा ६० सिट दाबी गरेको थियो। एकीकृत समाजवादीले ४० र जसपाले ३२ सिट दाबी गरे भने राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गर्यो। तर यो सिटबाट दलहरू सबै पछि हटेर नयाँ सहमतिमा पुग्न गृहकार्य गर्दैछन्।
शेखरले कांग्रेसले १०० सिट पाउनैपर्छ भन्नुको अर्को कारण पार्टीभित्र हुने सम्भावित विद्रोह हो।
मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि कांग्रेसको क्षेत्रीय समिति, जिल्ला र प्रदेशबाट उम्मेदवार सिफारिसमा परेकाहरूको लामो सूची केन्द्रमा आउने क्रम जारी छ।
१६५ प्रतिनिधि सभा क्षेत्र र ३३० प्रदेश सभा क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ उठ्न इच्छुकका नाम संकलन गरी केन्द्रमा पठाइएका थिए।
यसपालि कांग्रेसमा उम्मेदवार हुन इच्छुकका संख्या धेरै छ। विधानले क्षेत्रीय समितिलाई बढीमा ३ जना उम्मेदवारको नाम सिफारिस गर्न भने पनि आवेदन दिएका सबैका नाम जिल्ला, प्रदेश हुँदै केन्द्रमा पठाइएका छन्।
ठूलो संख्यामा उम्मेदवार हुन इच्छुकबाट आवेदन परेकोले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रमा कांग्रेस एक्लैले उम्मेदवारी दिँदा पनि आकांक्षी व्यवस्थापन गर्न मुस्किल छ। तर कांग्रेसले अन्य चार दलसँग गठबन्धन गरी जाने निर्णय गरेकाले सबै क्षेत्रमा आफ्ना मात्रै उम्मेदवार उठाउन पाउने छैन।
२०७४ मा नेकपा एमाले र माओवादी मिलेर वाम गठबन्धन भएको थियो। वाम गठबन्धनका उम्मेदवार हराएर त्यसबेला संघ र प्रदेशमा जितेका ठाउँ यसपालि पनि कांग्रेसले अन्य दललाई नछाड्ने भएको छ।
‘वाम गठबन्धनलाई कांग्रेस एक्लैले हराएका क्षेत्र यसपालि हामीले गठबन्धनका नाममा अर्का दललाई छाड्न सक्दैनौं। यो कुरा मैले शेरबहादुरजी र प्रचण्डजीलाई पनि भनिसकेको छु,’ शेखर भन्छन्, ‘कांग्रेस बलियो भएका प्रतिनिधि सभा र प्रदेश सभा अन्य दललाई छाड्दा स्वत: ती क्षेत्रमा विद्रोही उम्मेदवार उठ्न सक्छन्, कांग्रेसबाटै उठ्न सक्छन्।’
गत वैशाखमा भएको स्थानीय चुनावमा कांग्रेसले टिकट नपाएका र केही ठाउँमै पार्टी भित्रकै आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकाहरू जितेका थिए। यसपालि पनि कांग्रेसले १०० भन्दा कम सिटमा उम्मेदवारी दिँदा बागी उम्मेदवार बढ्न सक्ने कोइरालाको भनाइ छ।
उनले पार्टीभित्र पनि न्यायोचित ढंगले टिकट वितरण हुनुपर्ने पनि बताइरहेका छन्। कांग्रेसमा केन्द्रीय संसदीय बोर्डले उम्मेदवारलाई टिकट दिन्छ। यो समितिमा पदाधिकारी र रामचन्द्र पौडेल मात्र छन् भने समितिले पूर्णता पाएको छैन।
कोइरालाले टिकट वितरणमा गुट झल्कन नहुने बताइरहेका छन्। आइतबार मोरङमा बोल्दै उनले भने, ‘टिकट वितरणमा शेखरको गुटको पर्नुपर्यो भन्नुहोला, गुटको राजनीति महाधिवेशनमा हुँदा भयो त, देउवा र शेखर गुट। आमचुनावमा गुटको राजनीति गर्ने होइन।’
उनले एक क्षेत्रमा पार्टीबाट एक जनाले मात्रै टिकट पाउने र धेरै आकांक्षी टिकटबाट बञ्चित हुनु पर्ने बताए।
‘कोही एक जनाले टिकट पाउँछ, धेरै जना इच्छुकहरू नपर्न सक्छन्। चित्त दुखाउने काम पनि छैन। यो कुरा तपाईंहरूले बिल्कुल बुझिदिनुपर्ने अवस्था छ,’ कोइरालाले भने, ‘मैले त १०० सिट लिनुपर्छ भनिरहेको छु, कांग्रेसलाई कति सिट पर्छ अहिले भन्न सक्ने अवस्था छैन।’
उनले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका नेताहरू धेरै सिट लिने गरी सत्ता गठबन्धनका बैठकमा लडिरहेको कोइरालाले बताएका थिए।
पार्टीभित्र उम्मेदवार बन्नेको संख्या बढेकोप्रति टिप्पणी गर्दै कोइरालाले केही क्षेत्रीय समितिमा आवेदन खुला गर्दा ‘मारपिट’ को अवस्था देखिएको बताए।
‘क्षेत्रीय समितिले नै टिकट वितरण गर्नेजस्तो गरी मारपिट भइरहेका छन्। कुन क्षेत्र कसले पाउने निश्चित छैन, आफैंभित्र मारपिट चलेको छ,’ उनले भने।
कोइरालाले आफ्नो पक्षका रहेका नेताहरूले टिकट पाउने सुनिश्चितताबारे भने मुख खोलेका छैनन्।
तर कोइराला निकट नेताहरूले गत महाधिवेशनमा ४० प्रतिशत मत आएकोले सोहीअनुसार न्यायोचित हिसाबले पार्टीले टिकट वितरण गर्नुपर्ने बताइरहेका छन्।
कोइरालाले १०० सिटमा उम्मेदवारी दिनुपर्ने विषय नेता तथा कार्यकर्ताहरूसँग दोहोर्याइरहेका छन्। गत भदौ ११ मा उनले मोरङको सुन्दरहरैंचामा बोल्दै कांग्रेसले १०० सिट लिनुपर्ने बताएका थिए।
‘परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानु परेको हो। कांग्रेस कमजोर छैन, १०० सिट त लिनुपर्छ,’ उनले भनेका थिए।
भदौ २३ मा जनकपुरधाममा प्रेस युनियनले गरेको कार्यक्रममा पनि कोइरालाले १०० सिट पाउनु पर्ने दोहोर्याएका थिए। सिद्धान्त नै नमिल्ने विचित्र दलसँग गठबन्धन गर्नु परेको उनले बताएका थिए। कोइरालाले १०० सिटको अडान कांग्रेसकै केन्द्रीय समितिको निर्णयअनुसार एकल बहुमत र पाँच वर्ष स्थिर सरकारका लागि उठान गरिरहेको नेता, कार्यकर्तासँग बताउँछन्।
कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले पनि न्यायोचित हिसाबले सत्ता गठबन्धनले कांग्रेसलाई सिट छाड्नुपर्ने बताए।
‘पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भइरहेका छन्। छलफलमा बसेपछि जसले पनि धेरै सिट दाबी गर्छ नै, दुई/चार दिनभित्र सिट बाँडफाँट टुंगिन्छ,’ सभापति देउवानिकट उनले भने, ‘कांग्रेस पुरानो पार्टी हो, सत्ता गठबन्धनका दलले पनि यसमा विचार पुर्याएर कांग्रेसलाई धेरै सिट दिनुहोला।’
उनले गठबन्धन गरेर जाने पार्टीमा सहमतिसाथ निर्णय भएकोले सिट बाँडफाँटलाई लिएर भने पार्टीभित्र ‘विद्रोह’ नहुने बताए।
‘विद्रोही उठ्ने अखबारका कुरा हुन्। शेखरजीले पनि किन बोल्नुभयो, उहाँले नै भन्नुहोला’ उनले भने, ‘शेखरजी, म र पार्टीले नै निर्णय गरेर हामी तालमेलमा जाने भनेको हो। यसको जिम्मेवारी सभापति देउवालाई दिएको हो। सहयात्री दललाई चित्त बुझाएर हाम्रो सभापति अघि बढ्नुहोला।’
उनले अहिले नै कांग्रेसलाई यति सिट चाहिन्छ भन्न नहुने बताए।
‘यति सिट हुनैपर्छ भन्ने बाध्य छैन,’ उनले भने, ‘कांग्रेसले १६५ क्षेत्रमै उम्मेदवार उठाए पनि असन्तुष्टि रहन्छ। एक क्षेत्रमा एक जना उम्मेदवार हुन्छ, उम्मेदवार सिफारिस त धेरै जनाको हुने गर्छ।’
विगतका चुनावका बेला पनि पार्टीका निर्णय चित्त नबुझेर केहीले स्वतन्त्र उम्मेदवारी दिने गरेको भन्दै उनले यो ठूलो विषय नहुने बताए।