देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटवाया राजापाक्षे दुई महिनापछि सामाजिक सञ्जालमा ट्विटरमा फर्किएका छन्।
आइतबार श्रीलंकाले पाकिस्तानलाई हराएर टी-२० एसिया कपको उपाधि जितेपछि राजापाक्षेले श्रीलंकाली टिमलाई बधाई दिएका छन्।
श्रीलंकाली क्रिकेट टिमको तस्बिर राख्दै उनले लेखेका छन्- दुबईमा भएको एसिया कप २०२२ को फाइनलमा पाकिस्तानविरूद्धको जितका लागि श्रीलंकाली क्रिकेट टिमलाई बधाई। श्रीलंकाली टिमले देखाएको सामुहिक कर्म र प्रतिवद्धता उल्लेखनीय छ।
गत जुलाई ८ पछि राजापाक्षेले पहिलो पटक ट्विट गरेका हुन्। त्यतिबेला राष्ट्रपति रहेका राजापाक्षेले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा शोक व्यक्त गरेका थिए।
अर्को दिन नै प्रदर्शनकारीहरू राष्ट्रपति निवासमा कब्जा गरेपछि राजापाक्षे भागेका थिए। सुरूमा अज्ञात स्थलमा बसेका राजापाक्षे पछि सैनिक जहाजमा माल्दिभ्स पुगेका थिए। माल्दिभ्सबाट उनी सिंगापुर गएका थिए। अहिले उनी थाइल्यान्डमा रहेको बताइन्छ।
श्रीलंकाका प्रदर्शनकारीहरू अहिलेको आर्थिक संकटका आउनुका पछाडि राजापाक्षे परिवारको शासन जिम्मेवार ठान्छन्।
आइतबार गोटवायाले ट्विट गरेपछि ट्विटर प्रयोगकर्ताले उनको मजाक उडाइरहेका छन्। ट्विटरमा गोटवायालाई झन्डै तीन लाख ८० हजार मानिसले पछ्याउँछन्।
प्रयोगकर्ताहरूले ‘सर, तपाईं यात्रा कस्तो भइरहेको छ?, राम्ररी बस्नुस्, खानुस् र सुत्नुस्’ भन्दै मजाक उडाएका छन्।
कतिले चाहिँ यो जितको अलिकति जस तपाईंलाई पनि चाहिने हो? भनेर सोधेका छन्। एक जना प्रयोगकर्ताले ‘धन्य भगवान् तपाईंले राष्ट्रपति छोड्नु भयो’ भन्दै व्यंग्य कसेका छन्।
अर्का एक जना प्रयोगकर्ताले लेखेका छन्- कम्तीमा एक जना राजापाक्षे यो देशका लागि काम लागे!
श्रीलंकाको राष्ट्रिय टिममा भानुका राजापाक्षे नामका ब्याट्सम्यान छन्। आइतबारको खेलमा पाकिस्तानविरूद्ध उनले महत्वपूर्ण भूमिका खेलेका थिए। सात ओभर ५ विकेट गुमाएर ५८ रन मात्र बनाएको श्रीलंकालाई सम्मानजनक स्कोरमा पुर्याउनले ४५ बलमा ६ चौका र ३ छक्कासहित नटआउट ७१ रनको पारि लेखेका थिए।
स्वतन्त्रतापछिको सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालीहरूलाई एसिया कपको उपाधिले खुसी हुने अवसर दिएको छ।