राजनीतिक दलभित्रका प्रतिस्पर्धीहरूबीच स्वार्थ बाझिँदाको असर विकास निर्माणमा कसरी देखापर्छ भन्ने एउटा दृष्टान्त बनेको छ विराटनगर महानगरको अलपत्र आकासे पुलको योजना।
जति बेला पनि व्यस्त रहने, अत्यधिक भिड हुने र सोही कारणले दुर्घटना पनि बढेको निष्कर्षपछि स्थानीयवासीले आकासे पुल बनाउन लामो समयदेखि महानगर गुहार्दै आएका थिए।
आकासे पुल बनाउने चरणमा महानगर प्रवेश गरेपछि आफ्नो घरअघि र जग्गाअघि बनाउन नदिन तिनै बासिन्दा अघि सरे। उनीहरूले नै महानगरपालिकाको विरोध सुरू गरे। अदालतमा मुद्दा हाले।
यस्तो विरोध सुरू गराउने भने दलका नेताहरू नै थिए।
विराटनगर महानगर हाँक्ने मेयरको पार्टी नेपाली कांग्रेसका नेताहरूको स्वार्थ बाझिएपछि महानगरमा आकासे पुल बनाउने योजना अलपत्र परेको हो।
अहिले उक्त योजनाको ‘च्याप्टर क्लोज’ हुने अवस्था आएको छ।
महानगरका मेयर नागेश कोइराला र पूर्वमेयर भीम पराजुलीबीचको राजनीतिक खटपटले आकासे पुल अब नबन्ने परिस्थिति सिर्जना भएको हो। पराजुली २०७४ सालमा कांग्रेसबाट निर्वाचित मेयर थिए।हालका मेयर कोइराला पनि कांग्रेसकै हुन्। कांग्रेसको चौधौँ महाधिवेशनपछि संस्थापन पक्षमा लागेका पराजुली र शेखर कोइराला पक्षका नागेशबीच बोलचालसमेत नहुने तहको तिक्तता छ।केही दिनअघि मेयर कोइरालाले जारी गरेको श्वेतपत्रमा पूर्ववर्ती मेयर पराजुलीले महानगरमा बेथितिको चाङ लगाएको आरोप लगाएका थिए।
महानगर कार्यपालिकाका धेरै जसो सदस्यहरू पराजुलीको पालामा सुरू भएको आकासे पुल बनाउने योजनाको विपक्षमा छन्। मेयर कोइराला त पुल आवश्यक नै नरहेको ठान्छन्।
कोइराला कसै गरी पनि योजना अघि नबढाउने पक्षमा छन्।
‘मेयरले योजना अघि नबढाउने भनेर धेरै पटक हामीसँग भन्नुभएको छ,’ कार्यपालिकाका एक सदस्यले सेतोपाटीसँग भने ‘पहिलो कारण, यहाँ आवश्यक छैन भन्ने उहाँको बुझाइ छ। अर्को, पराजुलीको योजना मैले किन अघि बढाउने भन्ने पनि छ।’
महानगरमा आकासे पुल निर्माणमा पहिलो अवरोध गर्ने व्यक्ति हालका मेयर कोइराला नै थिए।
गत वर्षको हिउँदमा विराटनगर महानगरले तीन वटा आकासे पुल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो। ठेक्का पनि लागेको थियो।
अति व्यस्त रहने बसपार्कअगाडिको पाञ्चाली मोड, बरगाछी चोक र कञ्चनबारी चोकमा आकासे पुल बनाउन अघि सरेको महानगरलाई स्थानीयबासीले अवरोध गरे।
सबैभन्दा सुरूमा अवरोध सिर्जना भयो, पाञ्चाली मोडमा। त्यसको अगुवाइ गरेका थिए हालका मेयर कोइरालाले।
गत फागुनमा महानगरका तत्कालीन मेयर पराजुली पाञ्चाली मोडको आकासे पुल शिलान्यासको तयारीमा थिए। त्यसका लागि खाल्डो खन्न सुरू मात्रै भएको थियो, कोइरालाले अवरोध सिर्जना गरे।
आफ्नो जग्गा अगाडि आकासे पुल बनाउन नदिने उनको अडान थियो।
‘मेरै खाली जग्गा अगाडि किन बनाउनु पर्ने?’ त्यसबेला कोइरालाले भनेका थिए ‘अरूको जग्गाअघि बनाउँदा पनि त हुन्थ्यो होला।’
उनै कोइराला आफू मेयर भएपछि उक्त योजना अघि नबढाउने पक्षमा देखिएका छन्। उनले आकासे पुलको विकल्प ट्राफिक लाइट हुन सक्ने ठानेका छन्।
‘सडकमा ट्राफिक लाइट जडान गरेर आकासे पुलको विकल्प खोज्ने विषयमा छलफल सुरू गरेका छौँ,’ कोइरालाले भने ‘यसबारे के गर्ने भन्ने निश्चयमा पुगिसकेका छैनौँ।’
मेयर कोइरालाले ‘विकल्पको खोजी सुरू गरेको’ भनेर सार्वजनिक अभिव्यक्ति दिएर महानगरका बैठकहरूमा आकासे पुल नबनाउने अडान राखेका छन्।
बहुसंख्यक जनप्रतिनिधि र सडक सुरक्षाको क्षेत्रमा काम गर्ने व्यक्तिहरू भने महानगरमा आकासे पुल अत्यावश्यक रहेको ठान्छन्।
‘विराटनगर ठूलो सहर हो। सडकमा सवारीसाधन थपिने क्रम बढ्दो छ,’ अवकाशप्राप्त प्रहरी अर्जुन श्रेष्ठ भन्छन्, ‘यहाँका चोकैपिच्छे आकासे पुल आवश्यक देखिन्छ।’
श्रेष्ठले लामो समय नेपाल प्रहरीको ट्राफिक सेवामा काम गरेर आवकाश प्राप्त गरेका हुन्।
पूर्वमेयर पराजुली पनि आकासे पुल जनताकै माग भएको बताउँछन्।
‘महानगरका चोकहरू हरेक दिन व्यस्त र साँघुरा बन्दैछन्, सवारीसाधन थपिने क्रम जारी छ, यसले दुर्घटना बढायो भनेर लामो अध्ययनपछि महानगर आकासे पुल बनाउने निर्णयमा पुगेको थियो,’ पराजुलीले भने ‘पुल बनाउन माग गर्नेहरू नै आफ्नो जग्गा र घरअघि चाहिँ नबनोस् भन्ने चाहँदा रहेछन्।’
सडक सुरक्षा क्षेत्रमा काम गर्नेका विज्ञहरू र स्थानीयबासीसँगको छलफलपछि महानगर आकासे पुल बनाउने निर्णयमा पुगेको उनको भनाइ छ।
‘आकासे पुल आवश्यक छ,’ उनले भने, ‘महानगरका मेयर नागेशजीले योजना अघि बढाउनुहुन्छ भन्नेमा म विश्वस्त छु।’
उनले यस्तो विश्वास व्यक्त गरे पनि मेयर कोइराला भने प्रष्ट रूपमा विपक्षमा छन्।
हालका मेयर कोइरालाकै अगुवाइमा पाञ्चाली मोडमा अवरोध भएपछि महानगरले कञ्चनबारीमा काम सुरू गरेको थियो। त्यहाँ पनि कांग्रेसका प्रदेश सांसद चुमनारायण तवदार र उनको परिवारले अवरोध सिर्जना गरे।
कञ्चनबारीमा जग खनेपछि काम रोकियो। महानगरविरुद्ध अदालतमा मुद्दा प¥यो। अदालतले महानगरलाई काम अघि बढाउन अल्पकालीन आदेश दिएको तत्कालीन मेयर पराजुली बताउँछन्। कांग्रेस सांसदहरू नै विरोधमा लागेपछि त्यहाँ पनि काम अघि बढेन।
बाटोमा भइरहने सवारीजाम र दुर्घटना न्यूनीकरण गर्न उपयोगी हुने निष्कर्षसहित आकासे पुल निर्माणको योजना त्यागेर महानगर ट्राफिक लाइट जडान गर्ने तयारीमा लागेको छ।
आकासे पुल नबनाउनु गलत हुने पूर्वमेयर पराजुलीको भनाइ छ।
‘ट्राफिक लाइट अहिले पनि छ तर जाम र दुर्घटना घटेको छ र ?’ प्रश्न गर्दै उनले भने, ‘आकासे पुल मात्रै भरपर्दो र सुरक्षित उपाय हो। यसको विकल्प खोज्नु राम्रो हुँदैन।’
तीन वटा आकासे पुल निर्माण गर्न दुई वर्षअघि नै ठेक्का सम्झौता भए पनि अवरोधका कारण एक ठाउँको पनि काम अघि बढेन।
दुई वटा पुल बनाउने ठेक्का पाएको कम्पनी कला बिल्डर्सका सञ्चालक सञ्जय यादव नगरपालिकाले ‘साइड क्लियर’ नगरेका कारण पुल बनाउन नसेकको बताउँछन्।
दुई वटा आकासे पुल बनाउन कला बिल्डर्ससँग महानगरले २ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
ठेक्का सम्झौता भएपछि एक करोड २५ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरेर राखेको यादवले बताए।
उनले भने, ‘ठेक्का सम्झौतापछि हामीले दुई वटा पुलका लागि चाहिने फलामका सामग्री तयारी अवस्थामा राख्यौँ। त्यसमा कम्पनीले एक करोड २५ लाख रुपैयाँ खर्च गरेको छ।’
पहिले विराटनगरमा आकासे पुलको आवश्यकता छैन भनेर अवरोधको नेतृत्व गरेकै कारण अहिले योजना अघि नबढाएको आरोप कोइरालामाथि छ।
कोइराला यस्तो आरोप अस्वीकार गर्छन्। आफ्नो बचाउका लागि उनले मुद्दाको सहरा लिएका छन्।
‘पुलको विषयमा अदालतमा मुद्दा परेको छ, महानगरले निर्णय पर्खिरहेको छ,’ उनले भने ‘अब कति दिन पर्खने भन्ने पनि छ। यसको विकल्प खोज्ने विषयमा पनि छलफल सुरू भएको छ।’
उनले भनेको विकल्प ट्राफिक लाइट नै हो।
एउटा आकासे पुलको ठेक्का पाएको आरके बिल्डर्सका सञ्चालक रमेश कार्की पनि मुद्दाका कारण काम गर्न नसकेको बताउँछन्।
‘मुद्दाले गर्दा पुलको काम अघि बढ्ने सम्भावना कम हुँदै गएको छ,’ कार्कीले भने ‘महानगर पनि पुल बनाउने कामबाट पछाडि हट्ने खोजेको जस्तो सुनिँदैछ, के हुन्छ थाहा छैन।’
उनले मुद्दा टुंगोमा पुगेर महानगरका पक्षमा फैसला भए चाँडै पुल निर्माण गर्ने बताए।
पूर्वाग्रहका आधारमा मात्रै आकासे पुल निर्माणको योजना रद्द गर्ने गल्ती महानगरले गर्न नसक्ने पूर्व मेयर पराजुलीको विश्वास छ। रद्द भयो भने त्यसको मूल्यांकन जनताले गर्ने उनले बताए।