नेपाली कांग्रेसका पदाधिकारीसहित केन्द्रीय नेताहरूमाथि पार्टीका तल्ला समितिले गठन गरेका अनुशासन समितिले कारबाही गरेका छन्।
स्थानीय चुनावका बेला असहयोग गरेको भन्दै केन्द्रीय सहमहामन्त्री उमाकान्त चौधरीसहितलाई कारबाही गरिएका पत्र सार्वजनिक भएका छन्।
गत वैशाख ३० मा भएको स्थानीय चुनावमा पार्टी र आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको भन्दै केन्द्रीय नेताहरूमाथि अनुशासनको कारबाही गरिएको हो।
वैशाख र असारमा कारबाही गरे पनि ती पत्र यसअघि बाहिरिएका थिएनन्। जब प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि क्षेत्रीय समितिले इच्छुक उम्मेदवारको नाम आह्वान गर्यो त्यसैबेला देखि कारबाहीका पत्र बाहिरिएका हुन्।
यही अनुशासनको कारबाहीका पत्र देखाएर नेताहरूलाई क्षेत्रीय समितिले उम्मेदवार सिफारिससमेत गरेको थिएन।
गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्री जितेका उमाकान्त चौधरी पनि अनुशासनको कारबाहीमा परेका छन्।
खानेपानी मन्त्रीसमेत रहेका चौधरीमाथि कांग्रेस बारा जिल्ला कार्यसमितिको अनुशासन समितले कारबाही गरेको हो।
चौधरीलाई गत वैशाख २९ मै अनुशासनको कारबाही गरिएको पत्रमा उल्लेख छ।
‘कांग्रेस बाराको वैशाख २९ को निर्ययअनुसार सहमहामन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको अनुरोध छ,’ कांग्रेस अनुशासन समिति बाराका अध्यक्ष अरूणकुमार यादवले केन्द्रमा पठाएको पत्रमा उल्लेख छ।
उमाकान्तलाई कारबाही गरेको पत्र अनुशासन समितिले क्षेत्रीय समिति, जिल्ला, प्रदेश र केन्द्रमा पनि बोदार्थ पठाएर जानकारी गराएको छ।
यस्तै सर्लाही क्षेत्र नम्बर ४ बाट २०७४ मा प्रतिनिधि सभा सांसद जितेका अमरेशकुमार सिंहलाई पनि साउन ४ मै कारबाही गरेको पत्र बाहिरिएको थियो।
जिल्ला अनुशासन समिति सर्लाहीका संयोजक सरोज कुमारले स्थानीय चुनावमा अन्तर्घात गरेको पाइएकोले सिंहलाई अनुशासनको कारबाही गरेको उल्लेख गर्दै केन्द्रमा पत्र पठाएका छन्।
‘जिल्ला अनुशासन समितिको असार ३ को निर्णयअनुसार अमरेशकुमार सिंहलाई निलम्बन गरी निर्णयको प्रतिलिपी केन्द्रमा पठाइएको छ,’ सरोजकुमारले केन्द्रीय अनुशासन समितिमा पठाएको पत्रमा उल्लेख छ।
पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत कुनै कार्य गरे, विधान र नियमावलीविपरीत कार्य गरे, आचारसंहिता उल्लङ्घन गरे, पार्टीका उम्मेदवार वा समर्थन गरेका उम्मेदवारविरूद्ध अहसयोग गरे वा प्रत्यक्ष/अप्रत्यक्ष विरोध गरेमा अनुशासनको कारबाही गर्न सकिने विधानको व्यवस्था छ।
चौधरी र सिंहमाथि पार्टीका उम्मेदवार वा समर्थन गरेका उम्मेदवारको विरोध गरेकोमा अनुशासन कारबाही गरेको सम्बन्धित जिल्लाका अनुशासन समितिका दाबी छन्।
कांग्रेसले जिल्ला, प्रदेश र केन्द्रमा अनुशासन समिति रहने व्यवस्था गरेको छ।
अधिकांश जिल्ला र प्रदेशमा अनुशासन समिति गठन भए पनि केन्द्रमा संयोजक मात्रै चयन गरेर समितिलाई सभापति शेरबहादुर देउवाले पूर्णता दिएका छैनन्। जिल्लामा ३, प्रदेशमा ४ र केन्द्रमा ५ सदस्यीय अनुशासन समिति रहन्छन्।
के भन्छन् केन्द्रीय अनुशासन समिति संयोजक ढुंगाना?
कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले विभिन्न तहमा अनुशासन समिति गठन गर्ने र अनुशासन उल्लङ्घन गरेको पाइएमा कारबाही गर्न सक्ने विधानको व्यवस्था गरेको बताए।
जिल्ला अनुशासन समिति लगायतले गरेको अनुशासनको कारबाही केन्द्रमा आउने र आवश्यक छानबिनपछि केन्द्रीय अनुशासन समितिले निर्णय गरेमा मात्र अनुशासनको कारबाही लागु हुने पनि उनले जानकारी दिए।
‘जसले अनुशासन तोड्छ उसलाई कारबाही गर्न कांग्रेसका विभिन्न तहमा अनुशासन समिति छन्। त्यो अनुशासन समितिले कारबाही गर्न पाउँछन्,’ उनले भने, ‘पार्टीका तल्ला तहका अनुशासन समितिले कारबाही गरे पनि केन्द्रीय अनुशासन समितले छानबिन गरी अन्तिम निर्णय नलिएसम्म कारबाही कार्यान्वयन हुन्न।’
जिल्लाले कसैलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको भए पनि जबसम्म केन्द्रीय अनुशासन समितिले कारबाहीको निर्णय गर्दैन तबसम्म कारबाही नमानिने उनले बताए।
उनले स्थानीय चुनावमा अन्तर्घात गरेकोमा ५० वटा जति उजुरी प्राप्त भएको बताए। ‘कुनै पत्रमा एक जनालाई त कुनैमा चार/पाँच जनालाई कारबाही गरेको उल्लेख गरिएका पत्र प्राप्त भएका छन्,’ उनले भने, ‘छानबिन गर्न अहिले म मात्रै अनुशासन समितिमा छु। सभापतिले अन्य सदस्य मनोनीत गरिसक्नुभएको छैन।’
महाधिवेशन भएको छ महिनाभित्र अनुशासनलगायत समितिलाई सभापति शेरबहादुर देउवाले पूर्णता दिनुपर्ने भए पनि संयोजक मात्रै तोकिएको अवस्था छ। गत साउन २ मा सकिएको केन्द्रीय समिति बैठकले सदस्यता व्यवस्थापन, अनुशासन र लेखा समिति संयोजक मात्रै तोकेको थियो।
गोविन्दराज जोशीसहितलाई यसअघि गरिएको थियो कारबाही:
कांग्रेसले २०७४ को चुनावमा अन्तर्घात गरेको आरोपमा गोविन्दराज जोशीसहित नेताहरूमाथि अनुशासनको कारबाही गरेको थियो। जोशीलाई कारबाही गर्दा केन्द्रीय अनुशासन समितिको सदस्यमा उमाकान्त चौधरी पनि थिए। अहिले उनै चौधरीमाथि अनुशासनको कारबाही जिल्लाले गरेको छ।
भीष्मराज आङ्देम्बे त्यसबेला अनुशासन समिति संयोजक थिए। तनहुँका गोविन्दराज जोशी, नेपालगञ्जका महेन्द्र मल्ल, कैलालीका पुष्कर ओझा, डडेल्धुराका रामबहादुर विष्टलाई अनुशासनको कारबाही गर्ने तयारीपछि चौधरीले सदस्य पदबाट त्यसबेला राजीनामा दिएका थिए।
कांग्रेस अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने गर्छ। कारबाहीमा परेका जोशी, ओझालगायतलाई कांग्रेसमा फिर्ता ल्याउन जिल्ला तहबाट बेलाबखतमा माग भए पनि केन्द्रीय समितिमा यो विषय छलफलको एजेन्डा बनेको छैन।
जोशीमाथि तनहुँ १ मा रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको र कैलाली ५ मा आरजु राणा देउवालाई हराउन ओझाले भूमिका खेलेको आरोपसहित अनुशासनको कारबाही गरिएको थियो।