नेपाली कांग्रेसका सभापतिसहित पदाधिकारीहरू प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन्।
पार्टीले समानुपातिकतर्फ उम्मेदवारको सूची बनाउने छलफल गरेका बेला पदाधिकारीहरूले समानुपातिकमा बस्न रूची देखाएका छैनन्। उनीहरूको जोड प्रत्यक्षतर्फ चुनाव लड्ने छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्दैछन्। उनी डडेल्धुरा पार्टीका समितिबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका थिए।
उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरूङ पनि प्रत्यक्षतर्फ नै चुनाव लड्ने तयारीमा छन्। सुर्खेत क्षेत्र नम्बर १ मा चुनाव लड्न उनको नाम सर्वसम्मत रूपमा सिफारिस भएको थियो।
अर्का उपसभापति धनराज गुरूङ स्याङ्जा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि प्रत्यक्षतर्फ चुनाव लड्दैछन्। थापाको नाम देशका विभिन्न क्षेत्रबाट सिफारिस भए पनि उनी काठमाडौं ४ मै उम्मेदवार बन्ने भएका छन्।
अर्का महामन्त्री शर्मा झापा क्षेत्र नम्बर १ मा उठ्ने तयारीमा छन्। उनले झापा १ नपाए अन्यत्र चुनाव नलड्ने बताइरहेका छन्। शर्माको नाम झापा १ बाट कांग्रेसले सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
कांग्रेसमा ८ जना सहमहामन्त्री छन्। सबै सहमहामन्त्रीहरू प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन्।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना मकवानपुरबाट चुनाव लड्ने तयारीमा छिन्। मकवानपुर क्षेत्र नम्बर २ मा चुनाव लड्न उनी इच्छुक भए पनि नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा पनि गठबन्धनमै रहेकोले उनलाई त्यहाँ छाडेर डिनालाई मकवानपुर १ मा उम्मेदवार बनाउने तयारी रहेको कांग्रेसका एक नेताले बताए।
सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट उम्मेदवार सिफारिस भएका छन्। पाण्डेसहित यो क्षेत्रबाट महान्यायाधीवक्ता खम्मबहादुर खाती, मानबहादुर रावल, कविराज पण्डित, जनकराज गिरी, शेरबहादुर खाती र अंगराज तिमिल्सेना पनि उम्मेदवार सिफारिस भएका छन्।
अर्का सहमहामन्त्री जीवन परियार कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन्। कास्की १ मा उनको नाम सर्वसम्मत सिफारिस भएको छैन। जिल्ला सभापति किशोरदत्त बराल, यज्ञबहादुर थापा, गुरू बराललगायत पनि यो क्षेत्रमा चुनाव लड्न इच्छुक छन्।
सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन्। तर यहाँ उम्मेदवार सिफारिसमा विवाद भएको थियो।
अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस भएका छन्। उनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्दा यहाँ पनि विवाद भएको थियो।
बारा कांग्रेसमा उमाकान्त र फरमुल्लाह समूहबीच गुटको विवाद छ। यसो हुँदा उम्मेदवार सिफारिस गर्ने काम पनि विवादित बनेको थियो।
अर्का सहमहामन्त्री किशोरसिंह राठौर बर्दियाबाट चुनाव लड्ने तयारीमा छन्। आफू सकेसम्म बर्दिया क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनले बताए। तर पार्टी र गठबन्धनभित्र सहमति हुन नसके उनी बाँके क्षेत्र नम्बर ३ मा पनि चुनाव लड्न सकिने बताउँछन्।
उनले पार्टीका पदाधिकारीहरू प्रत्यक्षतर्फ नै चुनाव लड्ने तयारीमा रहेको बताए। ‘पदाधिकारी त प्रत्यक्ष चुनाव लड्नुपर्यो नि नभए के राजनीति गर्नु?,’ उनले भने।
सहमहामन्त्री भीष्मराज आङदेम्बे पाँचथरबाट चुनाव लड्ने तयारीमा छन्। उनको नाम सर्वसम्मत रूपमा सिफारिससमेत कांग्रेस क्षेत्रीय समितिले गरेको छ।
अर्का सहमहामन्त्री महेन्द्र यादव धनुषा क्षेत्र नम्बर ४ बाट उम्मेदवार हुने तयारीमा छन्। पार्टीको क्षेत्रीय समितिले महेन्द्रसहित जिल्ला सभापति योगेन्द्र पंजियारको नाम उम्मेदवारमा सिफारिस गरेको छ।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महत काठमाडौं क्षेत्र नम्बर ५, नुवाकोट क्षेत्र नम्बर १ र २ सहित विभिन्न क्षेत्रबाट सिफारिसमा परेका छन्। तर उनी यसपालि नुवाकोट १ मा उठ्ने तयारीमा छन्।
यसबाहेक शीर्ष तहमा रहेका नेतामध्ये रामचन्द्र पौडेल तनहुँ १ बाट उम्मेदवार सिफारिस भएका छन्। यही क्षेत्रबाट शंकर भण्डारीको नाम पनि उम्मेदवार सिफारिस भएको छ।
झापा ३ मा नेता कृष्णप्रसाद सिटौला उठ्ने तयारीमा छन्। गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण भने रूपन्देहीमा चुनाव लड्दैछन्। उनी रूपन्देही २ र ३ नम्बर क्षेत्रबाट उम्मेदवार सिफारिसमा परेका छन्।
सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएका छन्।
पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं १, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी नुवाकोट २ मा चुनाव लड्न इच्छुक छन्। नुवाकोटबाट केसी र सोलुखुम्बुबाट नेता बलबहादुर केसीको नाम पनि समानुपातिकतर्फ राखेकोमा क्षेत्रीय समितिप्रति उनीहरूले असन्तुष्टि जनाएका छन्।
धनुषाबाट पूर्वउपसभापति विमलेन्द्र निधिको नाम समानुपातिकमा सिफारिस परेको छ। निधिले आफू जुनसुकै क्षेत्रमा चुनाव लड्न चाहेको बताइरहेका थिए तर उनको नाम समानुपातिकतर्फ क्षेत्रले सिफारिस गरेको हो।
नेता शेखर कोइराला मोरङ ६ मा सर्वसम्मत उम्मेदवार हुन सकेनन्। नेताहरू डिला संग्रौला, रमेशजंग रायमाझी, शिवकुमार बस्नेतको नाम पनि यो क्षेत्रबाट उम्मेदवार सिफारिस भएको छ।
मोरङ क्षेत्र नम्बर २ बाट सुजाता कोइरालाको नाम उम्मेदवारमा सिफारिस भएको छ तर उनी पनि सर्वसम्मत हुन सकेनन्। यो क्षेत्रबाट नेता मीनेन्द्र रिजालको नाम पनि सिफारिसमा परेको छ।
कांग्रेस पदाधिकारीहरू र शीर्ष नेताले प्रत्यक्षमा उठ्ने इच्छा राखे पनि गठबन्धनमा क्षेत्र भागबन्डा गर्दा कहाँ कसलाई पर्ने निश्चित छैन। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलीय गठबन्धन तालमेल गरेर जाने कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गरेको थियो।
समानुपातिक उम्मेदवार सूची बनाउन आज छलफल:
कांग्रेसले समानुपातिक उम्मेदवारको सूची तयार गर्न आज छलफल गर्ने भएको छ। आज दिउँसो १ बजे बालुवाटारमा पदाधिकारी र शीर्ष नेताबीच समानुपातिक उम्मेदवार सूची बनाउन अनौपचारिक रूपमा छलफल गरिने एक नेताले जानकारी दिए।
यसअघि बसेको संसदीय बोर्ड बैठकले समानुपातिक उम्मेदवार चयन गर्न मापदण्ड बनाएको थियो। २०७४ सालमा समानुपातिक तर्फ सांसद भएकालाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने कांग्रेसले निर्णय गरेको छ।
साथै गत वैशाखमा भएको स्थानीय चुनावमा उम्मेदवार भएकालाई पनि समानुपातिक उम्मेदवार नबनाउने निर्णय भएको छ भने पार्टीको भोट बढ्ने गरी 'लोकप्रिय' व्यक्तिलाई समानुपातिक उम्मेदवारमा समेट्ने तयारी कांग्रेसको छ।