नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम उम्मेदवारका लागि तीन ठाउँबाट सिफारिस भएको छ।
उनको नाम रोल्पा र दाङका गरी तीन क्षेत्रबाट सिफारिस भएको छ।
रोल्पामा महरासहित वर्षमान पुन, ओनसरी घर्ती, जयपुर घर्तीलगायत ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस भएको छ।
यस्तै महराको नाम दाङको निर्वाचन क्षेत्र नम्बर १ र २ बाट पनि सिफारिस भएको छ। दाङ क्षेत्र नम्बर १ मा नारायणी शर्मा र लुमबहादुर कार्कीको नाम पनि उम्मेदवारमा सिफारिस भएको छ।
दाङकै निर्वाचन क्षेत्र नम्बर २ बाट पनि उनको नाम सिफारिस भएको छ। महरा २०७४ मा दाङ क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए। पछिल्लो समय महरा दाङको घोराहीस्थित घरमा बस्दै आएका छन्।
यो क्षेत्रबाट महरा, रेखा शर्मा खड्का र निर्मल आचार्यसहित तीन जनाको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिस भएको छ।
दाङ २ मा महरा उठे एमालेका शंकर पोखरेलसँग प्रतिस्पर्धा हुने!
दाङ क्षेत्र नम्बर २ मा माओवादीका महरा र नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिस्पर्धा हुने अनुमान भइरहेका छन्।
एमालेले महासचिव पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरिसकेको छ।
२०७४ मा महरा दाङ २ प्रतिनिधि सभामा उठ्दा पोखरेल प्रदेश सभा (क) मा उठेर निर्वाचित भएका थिए। त्यसबेला एमाले र माओवादी वामगठबन्धन बनाएर चुनावमा गएका थिए।
तर महराको नाम दाङ १ र रोल्पाबाट पनि सिफारिसमा परेको छ। महरा एमाले महासचिव पोखरेलसँग प्रतिस्पर्धामा उत्रन नचाहेकाले धेरै क्षेत्रबाट उम्मेदवारमा उनको नाम राखिएको हुन सक्ने एक नेता बताउँछन्।
महरालाई माओवादीका नेताहरूले रोल्पामा उठ्न सुझाव दिएका थिए। ‘रोल्पाबाहेक अन्यत्र नउठ्नुस्। समानुपातिकमा बस्नुस्’ भन्दै महरा निकटले उनलाई भन्ने गरेको स्रोतको दाबी छ।
गत वैशाखमा भएको स्थानीय चुनावमा गठबन्धनको मत शतप्रतिशत ट्रान्सफर नभएकोले पनि महरा दाङ २ मा उठ्न शशंकित छन्। दाङका १० मध्ये तुलसीपुर र घोराही उपमहानगरपालिकामा एमालेका उम्मेदवारले जितेका थिए।
महरा समानुपातिकतर्फ बसे यहाँ माओवादीकी रेखा शर्मा उम्मेदवार हुन सक्छिन्। माओवादीले पाँच दलीय सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने भएकोले यी क्षेत्रमा अन्य दलले पनि दाबी गर्न सक्छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी दाङ क्षेत्र नम्बर ३बाट उम्मेदवार सिफारिस भएका छन्।