रुस-युक्रेन युद्धमा युरोपेली युनियनका निर्णायक राष्ट्र जर्मनी र फ्रान्स शान्त छन्। युरोपेली कमिसनकी अध्यक्ष उर्सुला भोनडिर लेन भने आफूलाई युद्धकालीन नेताका रूपमा स्थापित गर्न अग्रसर छिन्।
द न्यूयोर्क टाइम्सका अनुसार बुधबार युरोपेली संसदलाई सम्बोधन गर्दै उनले रूस-युक्रेनको युद्ध तानाशाह र प्रजातन्त्रविरूद्धको लडाइँ रहेको बताइन्।
रूस-युक्रेन द्वन्द्वमा युरोपले युक्रेनलाई समर्थन गरेको छ। यो द्वन्द्वमा युरोपले युक्रेनलाई साथ दिएपछि रूसले युरोपमा ग्यास आपूर्तिको पाइपलाइन बन्द गर्यो। रूसको कदमका कारण युरोपले ऊर्जा संकटको असामान्य परिस्थिति बेहोर्नुपरेको छ।
उर्सुलाले भने युरोपेली संसदलाई सम्बोधन गर्दै जस्तोसुकै कठिन परिस्थिति सामना गरेर भए पनि युरोपले युक्रेनलाई समर्थन गर्ने उद्घोष गरिन्। यो युद्धमा भ्लादमिर पुटिनले पराजय बेहोर्ने र युरोपले जित्ने जिकिर उर्सुलाले गरेकी छिन्।
'म प्रष्ट पार्न चाहन्छु, युरोपमाथिको रूसी प्रतिबन्ध अझै रहन्छ। यो समयमा हामीले संयम देखाउने हो सम्झौता गर्ने होइन,' उनले भनेकी छन्।
उर्सुलाले सन् २०१९ को मध्यतिर युरोपियन कमिसनको अध्यक्षको कार्यभार सम्हालेकी थिइन्। युरोपियन युनियनको पितृसतात्मक र रूढीवादी संरचनामा पूर्व राष्ट्र प्रमुखहरू मात्रै युरोपियन कमिसनका अध्यक्ष हुन्थे। राष्ट्र प्रमुख नभइकन युरोपियन कमिसनको अध्यक्ष हुनु असामान्यझैं थियो। जर्मनीको रक्षामन्त्री भइसकेकी उर्सुला युरोपियन कमिसनको पहिलो महिला अध्यक्ष हुन्।
युरोपियन कमिसन युरोपेली युनियनका जनताको सहजताका लागि विज्ञहरूको सुझावमा नीति बनाउने संस्था हो। आयोगले प्रस्ताव गरेको विधेयक नै युरोपेली युनियनको कानुन बन्छ। नीति बनाउने संस्थाकी अध्यक्ष उर्सुलाले रूस-युक्रेन मामिलामा राखेको अडान र दिएको अभिव्यक्तिका कारण युद्धकालीन नेताको छवि बनाउँदैछिन्।
'आयोगका विगतका अध्यक्षहरू साँघुरो भूमिकामा सीमित थिए,' जर्मन मार्सल फन्डका प्रमुख इयान लेसरले उर्सुलाबारे भनेका छन्, 'उनले गरेको सम्बोधन आयोगको अध्यक्षको वास्तविक भूमिकाको प्रस्थानविन्दु हो। उनी यो पलको सदुपयोग गर्दैछिन्।'
उर्सुलालाई कुनै मुलुकको नेतृत्व गर्नु छैन। चुनाव उठ्न मतदाता रिझाउनुपर्ने बाध्यता छैन। ३२ हजार निजामती कर्मचारीको नेतृत्व गरिरहेकी उनी रूसको कदमविरूद्ध खरो रूपमा उभिएकी छिन्।
युरोपेली संसदमा उनी युक्रेनको झन्डासँग मिल्दोजुल्दो ज्याकेटमा झुल्किएकी थिइन्। एक घन्टाको सम्बोधनमा उनले युक्रेनको साहस, बलिदान र विजयको चर्चा गरिन्। संसदमा उनको उपस्थिति प्रतीकात्मक मात्रै रहेन। रूसविरूद्ध उनले प्रखर विरोधको अभिव्यक्ति पनि दिइन्।
'यो युद्ध रूसले युक्रेनविरुद्ध मात्रै छेडेको होइन। रूसले हाम्रा मान्यता, भविष्य, अर्थतन्त्र र ऊर्जाविरूद्ध पनि छेडेको छ,' उनले भनिन्।
रूसले युक्रेनमाथि गरेको आक्रमणलाई 'निरंकुशताले प्रजातन्त्रमाथि गरेको हमला' का रूपमा लिनुपर्ने उनले बताइन्।
'अहिले प्रजातन्त्रविरूद्ध निरंकुशता उत्रिएको हो,' उनले भनिन्, 'म विश्वासका साथ भन्छु, साहस र ऐक्यबद्धताका कारण पुटिन असफल हुनेछन् र युरोपको विजय हुनेछ।'
युरोपियन युनियनको निर्णयको केन्द्रविन्दुमा जर्मनी र फ्रान्स रहन्छन्। जर्मन चान्सलर ओलाफ स्वोल्ज गठबन्धन सम्हाल्नमै व्यस्त छन्। यता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों चुनावी चोटकै समीक्षामा केन्द्रित छन्। रूस-युक्रेन मामिलामा युरोपियन युनियनका प्रमुख निर्णयकर्ता शान्त छन्। यस्तो बेलामा उर्सुला प्रखर रूपमा अघि आएकी हुन्।
रूस-युक्रेन मामिलामा युरोपेली संसदमा दिएको पछिल्लो अभिव्यक्तिले थप चर्चामा आएकी उर्सुला विवादित पनि छिन्। कमिसनको अध्यक्षका रूपमा शक्तिलाई केन्द्रिकृत गरेको भन्दै उनको आलोचना भइरहेको छ।
कमिसनको सल्लाहकारका रूपमा काम गरेका पल एडामशनले भने, 'शक्तिलाई केन्द्रिकृत गरेर अरुलाई एक्ल्याएको कुरा लुकेको छैन।'
युरोपियन संसदका सदस्यहरूबाट पनि उनी उत्तिकै आलोचित छिन्। युरोपेली युनियनको निर्णय बिथोल्ने प्रयास गर्ने हंगेरीलाई सम्हाल्न नसकेको भन्दै उर्सुला आलोचित भएकी हुन्। रूसको सरकारी स्वामित्वमा रहेको ग्यास कम्पनीसँगको सम्झौतामा रद्द गर्ने विषयमा वरीयता मिचेर अघि बढेकोमा पनि उनी आलोचित भइन्। युनियनको निर्णय युरोपेली कमिसनले लिँदैन।
युक्रेनलाई समर्थन जनाएको भन्दै पोल्यान्डलाई पुरस्कृत गर्ने उनको निर्णयमा उपाध्यक्षहरू नै असहमत थिए। कमिसनमा चार कार्यकारी उपाध्यक्ष र चार उपाध्यक्ष रहन्छन्।
कमिसनको निर्णयलाई भएका सबै, २७ सदस्यले नै समर्थन गर्छन् भन्ने हुँदैन। उर्सुलाले हालै रूसलाई तेलमा प्रतिबन्ध लगाउने महत्वांकाक्षी योजना अघि बढाएकी थिइन्। तर त्यसमा उनले समर्थन प्राप्त गर्न सकिनन्।
उर्सुलाको नेतृत्वबारे युरोपियन संसदका सदस्य सोफीले भनेकी छिन्, 'उनको नेतृत्व नै अलग किसिमको छ। आफ्नो भूमिकालाई उनले दृढतापूर्वक अघि बढाइरहेकी छिन्। कमिसनको नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरण दिइरहेकी छिन्। तर सबै विषयमा आफैंलाई केन्द्रमा राख्दै छिन्।'
युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स माइकलसँगको चिसो सम्बन्धका कारण पनि उनी आलोचित हुने गरेकी छिन्। आलोचनाबीच आत्मविश्वासिलो रूपमा तार्किक बहस गर्ने शैलीका कारण उर्सुलाका प्रशंसक पनि उत्तिकै छन्।
उर्सुला कमिसनको अध्यक्षमा उठ्दा युरोपेली संसदकी सदस्य एलिस बाखुन्काले विपक्षमा मतदान गरेकी थिइन्। अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडलाई प्रहरीले मारेको घटनाप्रतिको छलफलमा उर्सुलाले उठाएका प्रश्न र तर्कका कारण भने एलिस उनको प्रशंसक भइन्।
'संवेदनशील विषयका बहसमा उनको आँखामै आक्रोश पैदा हुन्छ। कुनै पनि विषयमा बोल्नुपर्दा उनको तयारी गहन हुन्छ र अभिव्यक्ति निकै बुद्धिमानी सुनिन्छ। उनीसँग पाँच मिनेटभन्दा बढी कसैले पनि बहस गर्न सक्दैन।'
एलिस थप भन्छिन्, 'उनको आलोचना त हुने गरेको छ। तर उनको उत्तम कार्यकाल हामीले देख्नै बाँकी छ।'
(द न्यूयोर्क टाइम्समा मटिना स्टेभिस-ग्रिडनेफले लेखेको स्टोरी भावानुवाद)