भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ।
यस वर्षको फेब्रुअरीमा सुरू भएको युक्रेन संकटपछि मोदी र पुटिनबीचको यो पहिलो भेटवार्ता हो। यद्यपि यी दुईबीच धेरै फोन वार्ता भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीचको भेटमा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा, आतंकवाद र युक्रेनको वर्तमान अवस्थाका बारेमा छलफल भएको बताए।
छलफलमा मोदीले रूसी राष्ट्रपति पुटिनलाई यो युद्ध लड्ने युग नभएको बताएका थिए।
सांघाई को-अपरेसनमा सहभागी हुन पुगेका दुई नेताबीचको छलफलमा प्रजातन्त्र, संवाद र कूटनीतिको महत्त्वलाई जोड दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई यो युद्धको युग नभएको बताएका थिए।
युद्धको शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिँदै मोदीले भने, ‘आजको युग युद्धको हैन, हामीले लोकतन्त्र, कूटनीति र संवादलाई मान्नुपर्छ। जसको माध्यमबाट मात्र विश्वलाई शान्तिको बाटोमा लैजान सकिन्छ।’
उनले वार्ता र कुटनीति प्रवर्द्धन गर्न युद्धको अन्त्य गरी शत्रुता चाँडो हटाउन आग्रहसमेत गरे।
युक्रेनको मुद्दालाई वार्ताको माध्यमबाट समाधान खोजिनुपर्ने आफ्नो अडान रहेको मोदीले स्पष्ट पारेका छन्। युक्रेनमा रूसले गरेको आक्रमणमा भारतले कहिल्यै आलोचना गरेको छैन।
रूस र युक्रेनबीच विगत साढे सात महिनादेखि युद्ध चलिरहेको छ। यस युद्धमा हालसम्म १० हजारभन्दा बढी सैनिक मारिएका छन्। यसले रूस र पश्चिमाबीच शीतयुद्धपछिकै सबैभन्दा खराब टकराव निम्त्याएको छ। जसका कारण आर्थिक क्षेत्रमा पनि विश्वसामू धेरै समस्याहरु खडा भएका छन् ।
विकासोन्मुख देशहरूले खाद्यान्न, इन्धन र मलको अभाव सामना गरिरहेको भन्दै केही ठूला समस्यालाई सम्बोधन गर्न पुटिनलाई मोदीले आग्रहसमेत गरेका थिए।
दुई नेताहरूले भारत-रूस सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक कुराकानीसमेत गरेका थिए।
मोदीले रूस र भारतबीचको दशकौं लामो मित्रताको बारेमा कुरा गर्दै भने, ‘हामी धेरै दशकदेखि सँगै रहेका साथी हौं। व्यक्तिगत रूपमा हाम्रो यात्रा पनि एकै समयमा सुरू भएको हो। तपाईँको यात्रा २००१ मा सुरू भएको थियो जब तपाईँ सत्तामा आउनुभयो।
म त्यतिबेला प्रदेशको मुख्यमन्त्रीको हैसियतमा काम गरिरहेको थिएँ। आज २२ वर्ष भइसक्यो र हामी यस क्षेत्रका लागि निरन्तर काम गरिरहेका छौँ। आगामी दिनमा यी दुईको सम्बन्ध अझै मजबुत हुँदै जाओस्।’