प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाअभियोग समितिमा बोल्दै गजेन्द्र हमालबारे प्रधानमन्त्री शेरबहादुरले नै जवाफ दिने बताएका छन्।
समिति सदस्य एवं एमाले सांसद कृष्णभक्त पोखरेलले गठबन्धन सरकारले पोहोरसाल मन्त्री बनाएका गजेन्द्र हमाललाई राजीनामा दिन लगाएको भनेर किन भन्नुभएको भन्दै प्रश्न गरेका थिए।
‘गजेन्द्र हमालले किन राजीनामा गर्नुपरेको हो तपाईंले प्रष्ट पारिदिनु,’ उनले भने।
त्यसपछि राणाले गजेन्द्र हमाल आफ्नो जेठान भएको र उनको नियुक्तिलाई लिएर आफू विवादमा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेको राणाले बताए।
‘यो कुरा जबरजस्त छ। गजेन्द्रजी मेरो जेठान हो। पहिलो श्रीमतीको दाइ हो। ४१ साल पछि पहिलो श्रीमतीको मृत्यु भएपछि उहाँ नेपालगञ्ज म काठमाडौं बस्ने। हाम्रो आउने जाने छैन,’ राणाले भने, ‘पत्रिकामा गजेन्द्रजीलाई मन्त्रीपरिषदमा समावेस गर्ने कुरा आयो। त्यसपछि बारका पदाधिकारी मसँग भेट्न आएका थिए। अनि मैले नियुक्ति गर्ने पदाधिकारीलाई भनेकै हो- मेरो नाता भएकाले मलाई जोडेर यो विषय विवादमा आयो। उहाँलाई मन्त्री नबनाइदिए जुडिसरीलाई सहयोग हुन्थ्यो।‘
त्यसपछि शेरबहादुर देउवाले आफूलाई चिन्ता नलिन सम्झाएको पनि राणाले भने।
‘उहाँले भनेको शब्द के हो भने- गजेन्द्रजी पुरानो कार्यकर्ता हो, जिल्ला सभापति पनि हो। दु:ख पाएको पदाधिकारी हो। कांग्रेसले बनाएकाले यसमा तपाईंको सरोकार छैन। नेपाली कांग्रेसको भएकाले हामीले बनाएको हो। यसमा तपाईंले चिन्ता लिनुपर्ने छैन भनेर प्रधानमन्त्रीले भन्नुभयो। जस्तो जवाफ थियो मैले सम्मानीत समितिमा राखिसकेँ,’ उनले भने, ‘ मन्त्री हुनुभयो। मन्त्री भएपछि उहाँ (गजेन्द्र) जीले राजीनामा दिनुभयो। यो विषयमा त प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ। मैले यहाँ भन्दा सक्दिनँ।‘
त्यसपछि एमाले नेता विष्णु पौडेलले सोधे, ‘गजेन्द्रको नियुक्तिका सम्बन्धमा सरकारलाई अप्ठेरो पर्छ कि भनेर, जोगाउन खोज्नु भएर सबैकुरा भन्नुभएको छैन भन्नेपनि छ नी?’
जवाफमा चोलेन्द्र शमशेरले भने, ‘कतिपय विषयवस्तु सत्यअसत्य हुँदो रहेछ, हुन्छ। प्रधानन्यायाधीश भएपछि पदको गरिमासँग जोडिने रहेछ। त्यसले गर्दा गजेन्द्रजीको विषयमा गठबन्धनका सबै नेताहरू बोलिसक्नुभएको छ। प्रधानन्यायाधीशको भूमिका छैन भनेर। यसलाई मैले त्यतिमै सिमित राखेँ।
गएको दसैंअघि चोलेन्द्रशमशेरले मन्त्रिपरिषदमा भाग मागेको कुरा बाहिरिएको थियो। प्रधानन्यायाधीश देउवाले गजेन्द्र हमाललाई नियुक्ति गर्न भनेको खबर बाहिरिएपछि विवाद भएको थियो। नभन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योगमन्त्री बनाएका थिए। हमालले भने नियुक्तिको दुईदिन नपुग्दै राजीनामा दिएका थिए। त्यसपछि न्यायालयभित्र र बाहिर राणाको चर्को विरोध भएको थियो।
दसैंपछि उनले मन्त्री भाग मागेको विषयलाई लिएर सर्वोच्चका न्यायाधीशहरूले एकमहिनासम्म इजलास बहिष्कार गरेका थिए। पछि न्यायाधीशहरू प्रधानन्यायाधीशको मुद्दाको पेशी तोक्ने अधिकार नहुने नियमावली बनाएपछि इजलास फर्किएका थिए।
नेपालबारले त तीनमहिनासम्म सर्वोच्चको गेट अघि चोलेन्द्रविरूद्ध प्रदर्शन समेत गरेको थिए। उक्त आन्दोलन चोलेन्द्रलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि बल्न सकिएको थियो।
महाअभियोग सिफारिस समितिमा पुरक बयान दिने क्रममामा चोलेन्द्रशमशेरले यसबारे जवाफ दिएका हुन्।
शनिबार समितिका सदस्य सांसदहरूले विभिन्न पुरक प्रश्न गरेका थिए।
सुरूमा सांसद कृष्णभक्त पोखरेलले क्यासिनो सम्बन्धी मुद्दामा राणाले गरेको आदेशले राज्यलाई घाटा भएकोबारे प्रष्ट्याउन भनेका थिए।
चोलेन्द्रशमशेरले भने त्यस्तो आरोप झुटो भएको बताएका छन्। यस्तो झुटो कुरा वकिलहरूले फैलाएको उनको उल्टो आरोप छ।
सरकारले २०७० सालमा क्यासिनो सम्बन्धी कार्यविधि ल्याएको थियो। उक्त कार्यविधिले पुरानो वक्यौता कर तिर्ने क्यासिनोलाई मात्र नवीकरण गर्ने व्यवस्था गरेको थियो।
उक्त व्यवस्था विरूद्ध क्यासिनोहरू सर्वोच्च अदालत गएका थिए।
समितिमा चोलेन्द्रविरूद्ध बयान दिन आएका वरिष्ठ अधिवक्ता शम्भू थापाले क्यासिनोले दिएको रिटमा चोलेन्द्र शमशेरले अन्तरिम आदेश दिएपछि क्यासिनोहरू कर नतिरि सञ्चालन भएको आरोप लगाएका थिए।
शनिबारको समितिमा भने सांसद पोखरेलले थापाको आरोपबारे प्रष्ट पार्न चोलेन्द्रलाई भनेको थियो।
‘पैसा दिएर मात्र क्यासिनो रिन्यू गर्नुपर्ने सरकारले नीति ल्यायो। पुरानो क्यासिनोसँग मिलेमतो गरेर उनीहरूले पछि पैसा दिएपनि हुन्छ भनेर आदेश गर्नुभयो भन्ने छ। क्यासिनोबाट उठ्नुपर्ने करोडौं राजस्व उठेको छैन। यहाँको आदेशको कारणले क्यासिनोलाई फाइदा र राज्यलाई घाटा भयो भन्ने आएको छ। यसमा के हो?,’ सासंद पोखरेलले सोधे।
त्यसको उत्तरमा चोलेन्द्रशमशेरले भने, ‘यसमा उहाँहरूले प्रमाण त दिनुभएन। मैले भनेकैछु भ्रम फैलाउन ठालु वकिलहरू बडो सजग छन्। ठालु वकिलले गर्दा न्यायालय आज यो स्थितिमा गएको हो। मैले यीनलाई तरह लगाएको मेरै विरूद्धमा आए,’ चोलेन्द्र शमशेरले भने।
उनले क्यासिनोका मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेको र अहिलेसम्म फैसला नभएको पनि बताए।
‘आदेशपनि त्यस्तो भएकै छैन। मेरो कारणबाट कर नउठेको होइन। खाली सञ्चालन गर्ने विषयमा सरकारले रोक्ने दृष्टीकोणकबाट नेपालमा क्यासिनो सम्बन्धी ऐन नै छैन। जुवा ऐन अन्तर्गत क्यासिनो चलेको थियो। त्यसपछि अदालतले ऐन बनाएर गर भन्दा सरकारले पर्यटन ऐन अन्तर्गत नियमावली ल्यायो,’ उनले भनेका छन्, ‘राजस्व त तिरिरहेको भनेर पत्रपत्रिकामा आएको थियो।’
उनल् क्यासिनो दुई तरिकाले चलिरहेको पनि बताए।
‘एउटा धेरै होटलले नै चलाइरहेका छन्। अर्को उसले ठेक्कामा दिएर चलेको रहेछ। यसमा विवाद भएको छ र यसमा अहिलेसम्म फैसला भएको छैन। यसमा मेरो कुनैपनि कारणले एउटा पनि क्यासिनोबाट कर असुल उपर हुनलाई रोकेको भन्ने कुरा छँदै छैन,’ उनले प्रष्ट्याए।
एभरेष्ट क्यासिनोलाई आफूले आफै कर तिर्न आदेश गरेको पनि चोलेन्द्रशमशेरले बताए।
‘मेरो नाममा भएपनि ठेक्का दिएको र सम्झौता बमोजिम कर पनि उसैले तिर्नुपर्छ भनेर एभरेष्ट क्यासिनो आएको थियो। मैले जसको नामको क्यासिनो छ उसैले कर तिर्नुपर्छ भनेर आदेश गरेको छु,’ उनले भने।
पोखरेलले चोलेन्द्रका भाई प्रभू शमशेर विचौलिया भएर पैसा असुल्ने गरेको सुनिएको भन्दै त्यसबारे प्रष्ट पार्न चोलेन्द्रलाई भनेका थिए। चोलेन्द्रले भने आफ्नो र भाई प्रभुको २०५९ सालमै अंशबण्डा भएकाले उनको कुनै व्यवहार थाहा नभएको बताएका छन्। प्रमाण भए कानुन अनुसार आफूलाई र भाइलाई पनि कारबाही गर्न पनि उनले भनेका छन्।