कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अदालत प्रवेश पाउनका लागि संघीय संसदबाट महाभियोग निष्क्रिय भएको पत्र लिएर आउनुपर्ने बताएका छन्।
सेतोपाटीसँगको कुराकानीमा मन्त्री बन्दीले 'निलम्बन फुकुवा भएको र महाभियोग निष्क्रिय भएको पत्र' राणाले ल्याउनुपर्ने बताए।
'उहाँ निलम्बित प्रधानन्यायाधीश हो। उहाँको विरुद्ध महाभियोग लागेको छ। संसदले गठन गरेको महाभियोग समितिले उहाँमाथि महाभियोग लाग्ने आधारसहित प्रतिवेदन दिएको छ', उनले भने, 'प्रतिनिधि सभामा महाभियोग प्रस्ताव मर्दैन, अन्य प्रस्ताव जस्तो होइन। यो अर्को प्रतिनिधि सभाको बैठकमा पनि पेश हुन्छ भनेर समितिले लेखेर दिइसक्यो। अब त्यो प्रतिवेदन संसदको प्रतिवेदन हो। कि त्यो प्रतिवेदनलाई संसदको बहुमतले अस्वीकृत गर्नुपर्यो, यो प्रतिवेदन मिलेन भनेर। या त सर्वोच्च अदाललते त्यो प्रतिवेदन बदर गर्नुपर्यो।'
बन्दीले प्रतिनिधि सभाको प्रतिवेदन कायम रहँदासम्म राणा सर्वोच्च फर्कन नमिल्ने बताए।
'संसदमा निलम्बन भयो भनेपछि उहाँको झण्डा र कारकेड खोसिएको हो। त्यो निलम्बन फुकुवा भयो। झण्डा र कारकेड देउ भनेर संसदले लेख्नुपर्ला नि। त्यो नलेखिकन उहाँ हाजिर हुन/जान पाउने कुरा भएन। त्यो फुकुवाको चिठ्ठी लिएर आउनुभयो भने उहाँ सर्वोच्चमा पस्नुहुन्छ। चिठी लिएर आउनु भएन भने पस्नुहुन्न', उनले भने, 'त्यो चिठी लिएर आउनुभयो भने उहाँलाई सर्वोच्च अदालतले स्वागत गर्न कुनै आपत्ति छैन। उहाँको महाभियोग निष्क्रिय भएको र निलम्बन फुकुवा भएको पत्र उहाँले संघीय संसदबाट लिएर आउनुपर्यो। त्यो नल्याउँदासम्म भएन।'
बन्दीले सर्वोच्च अदालतले यसअघि नै राष्ट्रिय महत्वको विषयमा संसदको प्रतिवेदन निष्क्रिय नहुने ब्याख्या गरेको समेत बताए।
'सर्वोच्च अदाललले गिरिजाप्रसाद कोइरालाविरुद्ध हरि नेपालले हालेको रिट निवेदनमा राष्ट्रिय महत्वको प्रस्ताव निष्क्रिय हुन नसक्ने भनेको छ। अहिले गरिएको तर्क संसद सकिएपछि महाभियोग सकियो भन्ने छ। त्यतिबेला गिरिजाबाबुले संसद विघटन गर्नुभयो। त्यसविरुद्ध हरि नेपालले मुद्दा हाल्नुभयो संसदमा। त्यसमा बहस गर्दा के भनियो भने- विघटन हुदाँ धमिजा काण्डको प्रतिवेदन त मर्नेभयो। त्यसैले पनि प्रतिनिधि सभा जिवित हुनुपर्छ भनेर भनियो', उनलेले नजिर उल्लेख गर्दै भने, 'सर्वोच्च अदालतले ४९ नम्बर प्रकरणमा के बोलिदियो भने- राष्ट्रिय महत्वको प्रस्ताव अर्को संसदमा ट्रान्सफर भएर जान्छ। यो मर्दैन भनियो।'
उनले विभिन्न मुलुकहरुमा पनि महाभियोगको प्रस्ताव जिवित रहने गरेको बताए।
'अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति पदबाट हटेपछि पनि सिनेटले उनीविरुद्धको महाभियोग प्रस्ताव अभियोग भएको भन्दै विचार गर्यो', उनले भने, 'भारतमा पनि न्यायाधीशको महाभियोग अर्कोमा सरको छ। यो सबै कुरा गर्दा उहाँको फर्कने कुरा सम्भव छैन। उहाँले सबैभन्दा राम्रो कुरा डेरा छाडेर आफ्नो घरमा गएको राम्रो।'