सर्वोच्च अदालत प्रवेशद्वारमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च फर्किने खबरपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसदको महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबराले आफू सर्वोच्चको नियमित जिम्मेवारीमा फर्कने भनेर खबर पठाएसँगै उनलाई रोक्न लागिएको हो।
तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले तयारी गरेका छन्, उनीहरूलाई सहयोग गर्न सरकार पनि तत्पर देखिएको छ ।
उनी सर्वोच्च प्रवेश गर्न खोज्दा तनावकोस्थिति हुनसक्ने कुरालाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। सर्वोच्च तथा बारको परिसर र सडकमा उच्च सुरक्षा अपनाइएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीको सुरक्षाकाबीच कानुन व्यवसायीहरू सर्वोच्च परिसरमा उपस्थित छन्। नेपाल बार एसोसिएसनले त जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने आधिकारिक निर्णय नै गरेको छ।