चार वर्षअघिसम्मको कुरा हो। असार–साउनमा अशोक महतोका खेतमा धान र खरुणको बाला झुलेको हुन्थ्यो। उनलाई धान भित्र्याउन भ्याइनभ्याइ हुन्थ्यो।
गाउँमै खेतीपाती गरेर घरपरिवार राम्ररी चलेको थियो। अशोक अहिले खेती छोड्ने विचार गर्दै छन्। यसको मुख्य कारण हो सिँचाइ बन्द हुनु।
महोत्तरीको बर्दिबास नगरपलिका–६ स्थित कृष्णपुरमा उनको सावा एक बिघा अर्थात २५ कट्ठा खेत छ। यसमध्ये १० कट्ठामा बर्सेनि चैते धान रोप्छन्, बाँकीमा अरू बाली लगाउँछन्।
लागातार तीन वर्षदेखि सिँचाइ गर्न नपाउँदा बाला नलाग्दै धानको बोट सुक्ने गरेको छ। अरू बाली पनि सुक्छ।
उनको खेत सिँचाइका लागि रातु खोलाबाट कुलाको पानी आउँथ्यो। अहिले मापदण्ड विपरीत जथाभावी बालुवा निकालिएपछि सिँचाइका लागि पानीको बाटो खलबलिएको छ।
कुलामा पानी आउँदैन। सिँचाइ बन्द भएपछि उब्जनी ह्वात्तै घटेको छ।
बर्दिबास नगरपालिकाले गराएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवदेनले रातु खोलामा बढीमा २ दशमलव ९८ फिटसम्म मात्र खनेर बालुवा उत्खनन् गर्न दिन सिफारिस गरेको छ।
यस विपरीत तीन गुणा बढीसम्म खनेर बालुवा निकालिएको छ। अशोकका अनुसार खोलामा ९ फिटभन्दा बढी खनेर बालुवा निकाल्ने गरिएको छ। खोलामा ठूला उपकरणले बालुवा निकाल्ने गरेका छन्।
पानी लैजान बनाइएको कुलोमा पानी चढ्दैन। कुलाको मुहानभन्दा खोलो निकै गहिरो भएको छ।
‘खोलो मनपरी खनेपछि हामीलाई महादुःख परेको छ। खेतीपाती चौपट भएको छ। खोलो गहिरियो, कुलोमा पानी चढ्दैन,’अशोक भन्छन्।
अशोकका अनुसार खोलो गहिरो भएर पानी एकत्रित भएपछि पानीको चापले बाँधमा असर पर्न थालेको छ। स्थानीय कृषकहरूका अनुसार रातु खोलाबाट वडा नम्बर ६ मा एक हजार बिघाभन्दा बढी खेत सिँचाइ हुन्थ्यो।
वनजंगलबाट बगेर आएको पानीले मलिलो माटो पनि बगाएर ल्याउँथ्यो। त्यसले बाली सप्रिन्थ्यो। बालीमा रोग पनि कम लाग्थ्यो।
अशोकका अनुसार सिँचाइका क्रममा खोलाको पानीले पाँगो माटो ल्याउँदा प्रतिकट्ठा दुई क्विन्टलसम्म धान फल्थ्यो। आलस र तोरी पनि प्रशस्त फल्थ्यो। उनका अनुसार सिँचाइमा आउने मलिलो माटोले काउली र अरू तरकारी पनि राम्रो उब्जनी हुन्थ्यो। उखु पनि राम्रो सप्रिन्थ्यो।
‘तरकारी पनि फल्थ्यो। पाँचसात कट्ठा खेत हुने परिवारलाई खान पुग्थ्यो। केही किन्नु परेको थिएन,’ उनले भने, ‘अलिक बढी खेत हुनेले त अलिअलि बेच्थे पनि। अहिले सिँचाइ हुन छाड्यो। उत्पादन हुन पनि छोड्यो।’
यहाँका किसानले चैते धान रोप्नै छाडेका छन्। आफ्नै खेतमा फलेकोले खान पुग्ने किसानहरू किनेर खानु पर्ने अवस्थामा पुगेको अशोक बताउँछन्।
‘महँगो मोल तिलेर मल ल्याउँछौँ। मजदुरको खर्च बढेको छ। तेलको भाउ बढेर जोताइ पनि महँगो भयो,’ उनले भने, ‘उत्पादनभन्दा बढी खर्च हुन्छ। यसपालि धान फुट्नै सकेको छैन।’
‘नेता र ठेकेदारहरू खोला खनेर मोटाए। हामी किसानलाई चाहिँ दिन लाग्यो,’ उनले भने।
खेतमा काम गर्दै गरेका जितबहादुर बलाम्पाकीले खोलाबाट मनपरी बालुवा निकाल्न थालेपछि किसानमाथि बज्रपात परेको बताए।
‘नेता, ठेकेदार र पुलिसले खोला खनेर टन्नै पैसा कमाए। खोला गहिरो भयो। बाढीले बाँध थेग्न सकेन। बाँध भत्कियो,’ जितबहादुरले भने, ‘खेती गरेर गुजारा चलाउनेको बिजोग भयो।’
२०७० साल भदौ १७ गतेको मन्त्रिपरिषदले शिक्षण संस्था र घनाबस्तीबाट कम्तीमा दुई किलोमिटर दूरी कायम गरेर मात्र बालुवा उत्खनन गर्न पाउने निर्णय गरेको थियो।
रातु खोलामा उक्त मापदण्ड उल्लंघन भएको छ।
अशोक र जितबहादुरका अनुसार रातुखोला जथाभावी उत्खनन् हुँदा स्थानीयवासीले विरोध नगरेका होइनन् तर सुनुवाइ भएन। गत वर्ष ज्यान मार्ने धम्की आएपछि विरोध कम भएको अशोकले बताए।
उनका अनुसार करिब ४०–५० वटा टिपर र स्काभेटर लागेर बिहानैदेखि खोलो उधिन्दै बालुवा निकाल्दै थिए।
धेरै गहिरो खनेपछि स्थानीबासीहरूले विरोध गरे। दुई पक्षबीच ढुंगा हानाहान भयो। टिपर र स्काभेटर छाडेर चालकहरू भागे।
उसै दिन केही व्यक्तिहरू गाउँमा आएर धम्की दिए।
‘विरोध गर्नेको ज्यान रहँदैन, त्यही खोलामा गाडिदिन्छौँ, तिमीहरूलाई बचाउन को आउँदो रहेछ हेरौँ भनेर धम्क्याए,’ अशोकले भने।
यसपछि विरोधको स्वर कमजोर भयो। कृषकहरू डराए। प्रहरीलाई जति आग्रह गरे पनि वास्ता नगरेको केही किसानहरूको भनाइ छ।
वडा नम्बर ६ का वडाध्यक्ष पदम आले पनि ठेकेदारहरूले मापदण्ड विपरीत खोलो खनेर बालुवा निकाल्ने गरेको बताउँछन्। मिलेमतो गरेर बालुवा निकाल्ने भएकाले विरोधको सुनुवाइ नभएको उनको भनाइ छ।
‘मापदण्ड अनुसार खन्नुपर्ने थियो तर चरम लापरबाही भयो। हामीले व्यापक विरोध गरेका थियौँ। म एउटाले विरोध गरेर केही भएन,’ आलेले भने, ‘उनीहरू (ठेकेदार) ले बलमिच्याइँ गरेर खने। स्थानीयवासीले विरोध गरेर पनि भएन।’
आले दोहोर्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्। उनका अनुसार नगरपालिकाका इन्जिनियरहरूले खोला निरीक्षण गर्दा मापदण्ड बाहिर गएर धेरै गिटीबालुवा निकालेको पाइएको थियो।
ठकेदारले निर्धारित भन्दा १२ करोड रुपैयाँ बढीको गिटीबालुवा निकालेको ठहर भयो।
इन्जिनियरको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि बुझाइएको थियो। बढी गिटीबालुवा निकालेको रकम नगरपालिकालाई तिर्न नमानेपछि बर्दिवास नगरपालिकाले ठेकेदारविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको थियो। मुद्दा अहिले पनि विचाराधीन छ।
वडाध्यक्ष आलेका अनुसार मापदण्ड विपरीत खोलो खन्दा वडा नम्बर ६ र ७ मा गत वर्ष कम्तीमा डेढ सय विघा खेत बाढीले बगायो।
हालै नगरपालिकाले रातु खोला उत्खननका लागि ठेक्का लगाएको छ। मिलेमतो गरेर ठेकेदारले खोलामा वितण्डा मच्चाउने भय किसानहरूमा छ।
मनहरिपुरकी कृषक चमेलियादेवीले पनि आफ्नो खेतमा कुलाको पानी आउन छाडेको बताइन्।
उनले भनिन्, ‘ठेकदार र नेताहरू मोटाए। हाम्रो खेतमा पानी आउन छोड्यो। पेट पाल्न छोरो विदेश गयो तर एजेन्टले ठग्यो। काम राम्रो नपाएपछि ६ महिनामै फर्क्यो।’
चमेलियादेवीले बालुवा निकाल्न खोला फेरि ठेक्का लागेको कुरा आफूले सुनेको बताइन्। उनका अनुसार बाँध भत्किने डर पनि बढेको छ।
बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्री क्रसर व्यवसायी हुन्। केही जनप्रतिनिधिलाई मेयर नै ठेकेदारहरूसँग मिलेको शंका छ।
वडाध्यक्ष आलेले भने, ‘अहिलेका मेयर खोला खन्न विज्ञ हुनुहुन्छ। गिटी बालुवा कसरी चोर्ने उहाँलाई राम्ररी थाहा छ । उहाँसँग केही पनि ठोस योजना छैन।’
स्थानीयवासी लालदास महतोका अनुसार गाउँमा कम्तीमा एक जना विदेश नगएको घर विरलै छ। सिँचाइ हुन छाडेपछि विदेश जानेको संख्या बढेको उनले बताए।
‘ठेकेदारले मनपरी खोला खनिदिए। सिँचाइ बन्द भयो। भगवान भरोसे खेती चलेको छ। यसपालि वर्षा भएन,’ लालदास भन्छन्, ‘यसरी नै खोला खन्ने हो भने दुई वर्षभित्र पुराना बाँध सबै भत्किन्छन्। खोलो बाँधभन्दा तल गइसकेको छ।’
ठेकेदारले बाँधको दुवैतिर ८० फिट छोडेर खनेका भए पनि १५ फिटसम्म गहिरो खनेको लालदासको भनाइ छ।
खेतमा जमिनमुनिको पानीको सतह पनि तल सर्दै गएको कृषकहरूको बताउँछन्। १० वर्षमा पानीको सतह १५ फिटमुनि पुगेको छ। खानेपानीको पनि अभाव छ।
‘रतौली युवा क्लब’ ले केही संघसंस्थासँग सहकार्य गरेर १० वर्षअघि कृष्णपुरमा एक दर्जन इनार खनाएको थियो।लालदासका अनुसार त्यति वेला २४ कोठीमा पानी भेटिएको थियो। कोठी भनेको इनारमा राख्ने सिमेन्टको रिङ हो। यसको उचाइ तीन फिट हुन्छ।
लालदासले एक वर्षअघि इनार खनाउँदा २९ कोठीमा मात्रै पानी भेटियो। यति गहिरो इनार वैशाखमा सुकेको उनले बताए।
बर्दिवासमा रातुखोला उत्खननमा पूर्वमेयर विदुर कार्की जिम्मेवार रहेको किसानहरूको आरोप छ। कार्की नेकपा एकीकृत माओवादीको उम्मेदवारका रूपमा विजयी भएका थिए।