सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बालुवाटारस्थित सरकारी निवास परिसरबाट सुरक्षाकर्मी हटाएको छ।
आइतबार सर्वोच्च अदालत फर्कने तयारी गरेका राणालाई प्रहरीले निवास बाहिर निस्कन रोकेको थियो।
बालुवाटारस्थित निवासमा आउजाउ गर्नेको प्रहरीले रेकर्ड राख्दै चेकजाँच गरेको थियो। राणाले आफूलाई सरकारले नै निवास बाहिर जान नदिएको बताएका थिए।
राणाको निवासमा प्रहरी तैनाथबारे राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई ध्यानाकर्षण गराएको थियो।
सरकारले आइतबार नै राणाको निवासबाट केही सुरक्षाकर्मी हटाएको थियो। मंगलबार बिहान राणा निवासको बाहिर सुरक्षाकर्मी तैनाथ भएका थिएनन्।
महाभियोग दर्ता भएपछि फागुन १ गतेदेखि निलम्बनमा रहेका राणाले प्रतिनिधि सभाको कार्यकाल सकिएको र त्योसँगै आफ्नो महाभियोगको प्रस्ताव पनि निष्क्रिय भएको दाबी गर्दै आएका छन्।
राणाले आफ्नो महाभियोग निष्क्रिय भएको दाबी गरेपनि कानून मन्त्री गोविन्द बन्दीले राणाले निलम्बन फुकुवा भएको र महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र ल्याउनुपर्ने बताउँदै आएका छन्। अन्यथा उनी सर्वोच्च फर्कन नमिल्ने उनको दाबी छ।
आइतबार सर्वोच्च अदालत आउन नसकेका राणा मंगलबार सर्वोच्च अदालत आउन सक्ने भन्दै सर्वोच्च परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
सर्वोच्च अदालतको मुलगेटमा आज पनि बाक्लो सुरक्षा उपस्थिति रहेको छ। राणालाई अदालत प्रवेश गर्न दिनुपर्ने माग राख्दै केही व्यक्ति वा समूहले प्रदर्शन गर्ने पूर्वसूचना पाएपछि प्रहरी परिचालन भएको स्रोतको दाबी छ।
सेतोपाटीले राणासँग टेलिफोन सम्पर्कको प्रयास गरे पनि उनी सम्पर्कमा आएनन्।
तस्बिरहरू: