तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले भोलिदेखि डोजर लिएर दाङ विमानस्थल विस्तारका लागि जाने बताएकी छिन्।
उनले डोजरसहित गएर धावनमार्ग धमाधम विस्तार गर्ने बताएकी हुन्।
'तुलसीपुरमा कसको सबभन्दा नयाँ डोजर छ भनेर म आजै पत्ता लगाइसक्छु,' सेतोपाटीसँग कुरा गर्दै चौधरीले भनिन्, 'म भोलिदेखि टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि त्यहीँ डोजर लिएर जानेछु।'
तुलसीपुर वडा नं. १२ मा अवस्थित छ टरिगाउँ विमानस्थल आसपास रूखहरू छन् जुन तरुण सामुदायिक वनले हुर्काएका हुन्।
'मनलाग्दी रूपमा त्यसरी गएर धमाधम रूख काट्न वा धावनमार्ग विस्तार गर्न पाइन्छ' भन्ने प्रश्नमा उपमेयर चौधरीले भनिन्, 'मैले राम्रो उद्देश्यले काम गर्ने हो। त्यसको परिणाम के आउँछ भनेर रोकिन्नँ।'
हाल टरिगाउँ विमानस्थलको धावनमार्ग ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे भएको छ। यसकारण यहाँ साना विमान मात्रै अवतरण हुँदै आएका छन्।
केही समय यहाँ दैनिक दुइटा उडान भएको थियो। हाल भने हप्तामा तीन दिन नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले उडान भर्दै आएको छ। घाटामा सञ्चालित विमानस्थलमध्ये यो पनि एक हो।
एउटा इञ्जिनको सानो विमानले उडान भर्ने हुँदा सुरक्षा जोखिम हुने डरले अधिकांश मानिस दाङबाट यात्रा गर्न चाहँदैनन्। दाङ, सल्यान र रोल्पाका ९० प्रतिशत बासिन्दा हवाइ सेवा लिन नेपालगन्ज वा भैरहवा विमानस्थल पुग्छन्। दाङ विमानस्थलमा सानो विमान मात्र भएकाले भाडादर पनि नेपालगन्ज वा भैरहवाभन्दा महँगो भएकाले यात्रुको रोजाइमा कम पर्ने गरेको छ।
टरिगाउँ विमानस्थलमा पहिलो पटक २०११ सालमा विमान अवतरण भएको थियो। २०१७ सालदेखि नियमित सेवा दिन सुरू गरेको इतिहास छ।
बुधबार टरिगाउँ विमानस्थल व्यवस्थापनबारे तुलसीपुर उपमहानगरको सभाहलमा बृहत छलफल आयोजना गरिएको थियो। छलफलले उपमेयर चौधरीको संयोजकत्वमा दाङ विमानस्थल सहयोग समिति गठन गरेको थियो।
समितिका सल्लाहकारहरूमा पूर्व मयेरहरू घनश्याम पाण्डे, ढुण्डिराज लामिछाने, शंकरप्रसाद आचार्य, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, राजनीतिक दल लगायतलाई राखिएको छ। त्यस्तै सदस्यहरूमा जिल्लाका सबै पालिका प्रमुखहरू, सल्यान, रोल्पा, रुकुम जिल्ला समन्वय समितिका प्रमुख, यातायात महासंघ लगायत संघसंस्थालाई राखिएको छ।
उपमेयर चौधरीले विमानस्थल विस्तारको जिम्मा आफूलाई दिए ६ महिनामै विस्तार गरेर देखाइदिने भनेर सार्वजनिक रूपमै भन्दै आएकी थिइन्। यही विषयमा मेयर टीकाराम खड्का र उपमेयर चौधरीबीच मनमुटाव पनि भएको थियो।
अघिल्लो महिना उपमेयर चौधरीले विमानस्थलबारे छलफल गर्न भन्दै आफ्नो नामबाट आह्वान गरेको सार्वजनिक सूचना सोही दिन मेयर खड्काको अवरोधका कारण दोस्रो सूचनामार्फत् कार्यक्रम स्थगित भएको अवगत गराइएको थियो। त्यसबाट असन्तुष्ट उपमेयर चौधरीले तुलसीपुर उद्योग वाणिज्य संघको कार्यक्रममा उपस्थित भएका बेला मेयर खड्कालाई आफूमाथि आशंका नगर्न भनेकी थिइन्।
'के तपाईं र म एउटै पार्टीबाट जितेका होइनौं र,' उनले मेयरलाई भनेकी थिइन्, 'मैले राम्रो काम गरे जस तपाईंले लिनुहुन्छ नि, कि हैन?'
उपमेयर चौधरीकै चाहनाबमोजिम उपमहानगरले बुधबार छलफल आयोजना गरेको र समितिको संयोजक उनलाई तोकिएको स्रोतले बताएको छ।
टरिगाउँ विमानस्थलको विकासबारे जनप्रतिनिधिहरूले भाषण गर्दै आएको लामो समय भइसक्यो। बुधबारको कार्यक्रममै कतिपयले निर्वाचनको मिति घोषणा भइसकेको समयमा सदाझैं अब पनि विमानस्थललाई भोट माग्ने माध्यम नबनाउन आग्रह गरेका थिए।
'नगरको प्राथमिकता विमानस्थलको विकास र विस्तार होइन,' कार्यक्रममा तुलसीपुरका पूर्व मेयर ढुण्डिराज लामिछानेले भने, 'नगरको प्राथमिकता कृषि, शिक्षा र फोहोर व्यवस्थापन हुनुपर्छ।'
घोराही उपमहानगरका मेयर नरूलाल चौधरीले तुलसीपुर तथा टरिगाउँमा मात्रै नभनी दाङको जुन ठाउँमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सम्भव छ, त्यहीँ बनाउन जिल्लाबासी एक मतका साथ अगाडि बढ्नु पर्ने बताएका थिए।
नेकपा एमालेका नेतासमेत रहेका उनले भने, 'केन्द्रमा दबाब सिर्जना नगर्दासम्म स्थानीय पालिकाको पहलमा मात्रै विमानस्थल विस्तारको काम सम्भव हुँदैन।'
तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेले विमानस्थल बनाउनुपर्ने निकायले आवश्यक चासो नदिएकाले बन्न नसकेको बताए। असक्षम नेतृत्वका कारण विमानस्थल बन्न नसकेको भन्दै आगामी निर्वाचनमा केन्द्रमा दबाब सिर्जना गर्न सक्ने नेतृत्व चुन्न उनले आग्रह गरेका थिए।