राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन्।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक गत मंगरबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।
राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार नागरिकता विधेयक पारित गर्नुपर्ने भए पनि गैरसंवैधानिक कदम चालेको भन्दै विरोध भइरहेको छ।
यसैक्रममा बिहीबार बिहान नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतले संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्।
उनीहरूले नागरिकताविहीन भएकाहरूलाई नागरिकता प्रमाण पत्र दिन सरकारले विधेयक ल्याए पनि राष्ट्रपतिबाट रोक्ने काम हुँदा नागरिकताविहीन हुनेहरूका समस्या दिनप्रतिदिन झन् बढ्दै गइरहेको बताएका थिए।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा सत्ता गठबन्धनले पनि बुधबार वक्तव्य निकाल्दै राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको बताएको थियो।
तस्बिरहरू: