युक्रेनका चार प्रान्तले रूसमा गाभिनका निम्ति जनमत संग्रह सुरू गरेका छन्। रूस नियन्त्रित लुहास्नक र दोनतेस्कसहित दक्षिणी क्षेत्रका खेरसन र ज्याफोरिजामा जनमतसंग्रह भइरहेको रोयटर्सले जनाएको छ। सेप्टेम्बर २७ सम्म त्यस क्षेत्रका बासिन्दाले आफ्नो मत जाहेर गर्न पाउनेछन्।
जनमत संग्रहमा विद्युतीय मतदान भने हुनेछैन। रूसको समाचार संस्था तासले भनेको छ, ‘छोटो समय सीमामा जनमतसंग्रह हुँदैछ। त्यसमा विद्युतीय मतदान नभएर मतपत्रमै मत जाहेर गर्ने निर्णय भएको छ।’
मत संकलनका निम्ति अधिकारीहरू तीन दिनसम्म मतदाताको घरदैलोमै जाने र अन्तिम दिनमा मतदान केन्द्रको व्यवस्था गरिने भएको छ। जनमत संग्रहको नतिजा रूसको पक्षमै आउने निश्चित भएको भन्दै युक्रेन र उसका समर्थक राष्ट्रले परिणाम स्वीकार नगर्ने बताएका छन्।
सन् २०१४ मा क्रिमियालाई रूसमा गाभ्ने विषयमा पनि जनमतसंग्रह भएको थियो। त्यसमा ९७ प्रतिशतले रूसमा गाभिने पक्षमा मत जाहेर गरेका थिए। अन्तर्राष्ट्रिय समुदायले भने त्यस जनमतसंग्रहलाई मान्यता दिएको छैन।
हाल हुन लागेको जनमत संग्रहलाई पनि मान्यता दिन नसकिने संयुक्त राष्ट्रसंघसहित पश्चिमा शक्ति राष्ट्रको भनाइ छ। युद्धका कारण त्रसित क्षेत्रमा हुने जनमतसंग्रहलाई कानुनी मान्यता दिन नसकिने उनीहरुको भनाइ छ।