दक्षिण युरोपेली मुलुक इटालीको आमनिर्वाचनमा उग्र दक्षिणपन्थीहरूले बहुमत ल्याउने देखिएको छ।
समाचार संस्था एपीका अनुसार आइतबार भएको आमनिर्वाचनका प्रारम्भिक नतिजाहरूले दक्षिणपन्थी दलहरूको गठबन्धनले बहुमत ल्याउने देखाएका हुन्।
दक्षिणपन्थीहरूले बहुमत ल्याए ४५ वर्षीया जर्जा मेलोनी नयाँ प्रधानमन्त्री बन्ने छन्। उनी प्रधानमन्त्री बनिन् भने उनी इटालीमा उक्त पदमा पुग्ने पहिलो महिला हुनेछन्।
उनी नेतृत्वको ब्रदर्स अफ इटाली पार्टी झन्डै २६ प्रतिशत मतसहित संसदको सबैभन्दा ठूलो पार्टी बन्ने देखिएको छ।
दोस्रो विश्वयुद्धपछि पहिलो पटक इटालीमा उग्र दक्षिणपन्थीहरूको सरकार बन्ने भएको हो।
मेलोनी १५ वर्षको उमेरमा राजनीतिमा लागेकी थिइन्। रोममा जन्मिएकी मेलोनीलाई एक्ली आमाले हुर्काएकी हुन्।
२१ वर्षको उमेरमा पहिलो पटक स्थानीय चुनाव जितेकी मेलोनी ३१ वर्षमै इटालीकी मन्त्री भएकी थिइन्।
सन् २००८ मा उनी सिल्भिओ बुर्लोस्कोनीको सरकारमा युवा मन्त्री बनेकी थिइन्।