मधेस केन्द्रित दलका प्रमुख नेताहरूले आगामी मंसिरमा हुने चुनाव लड्न आ-आफ्नो क्षेत्र लगभग टुंगो लगाएका छन्।
सत्तारूढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेसँग तालमेलको प्रयास गरिरहेको लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) ले केन्द्रीय स्तरमा सिट बाँडफाँटको टुंगो नलाग्दै आफ्ना दलका शीर्ष नेताहरू लड्ने क्षेत्र टुंग्याएका हुन्।
पटक-पटक जुट र फुटबाट गुज्रिएका यी पार्टीका नेताहरू बारम्बार निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन्।
यसपालि पनि सुरक्षित क्षेत्रको खोजीमा जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका विभिन्न जिल्लाका ८, लोसपा अध्यक्ष महन्थ ठाकुर ४ र वरिष्ठ नेता राजेन्द्र महतो ८ वटा प्रतिनिधि सभा क्षेत्रबाट सिफारिस भएका थिए।
गत स्थानीय तहको निर्वाचन, संगाठनिक एवं जातीय समीकरणको हिसाब गर्दै यी नेताहरूले आफ्ना लागि चुनाव जित्न सहज हुने क्षेत्र रोजेको स्रोतहरूले बताएका छन्।
२०७४ मा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका अध्यक्ष यादव फेरि पनि यही क्षेत्रबाट उम्मेदवार हुने निश्चित भइसकेको जसपाका सप्तरी अध्यक्ष केदार यादवले बताए।
उनका अनुसार अध्यक्ष यादवको निर्देशनअनुसार टोलटोलमा गोष्ठी, छलफलजस्ता चुनावी कार्यक्रमहरू गरिँदैछ।
‘अध्यक्षज्यू आफू गठबन्धनमा बाँडफाँट टुंगो लगाउन व्यस्त हुनुहुन्छ तर यहाँका स्थानीय नेता- कार्यकर्ता चुनावी तयारीमा खटिइसकेका छन्,’ उनले भने।
२०७४ को चुनावमा यादव २१ हजार ६२० मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याएका थिए। राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले भने ९ हजार ४५८ मत ल्याए। त्यसबेला तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच चुनावी गठबन्धन भएको थियो।
नेपाली कांग्रेसले आफ्ना उम्मेदवार सकलदेव सुतिहारलाई पछि हटाएर यादवलाई नै समर्थन गरेको थियो।
०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा यादवले दुई स्थानबाट चुनाव जितेका थिए। पहिलो संविधान सभामा मोरङ-५ र सुनसरी-५ बाट उनी विजयी भएका थिए।
दोस्रो संविधान सभाको निर्वाचनमा पनि उनी तिनै दुई स्थानबाट चुनावमा उठेका थिए तर मोरङमा पराजित भएका उनी सुनसरीमा विजयी भए।
पटक-पटक निर्वाचन क्षेत्र परिवर्तन गरेका लोसपा अध्यक्ष ठाकुर पनि फेरि महोत्तरी-३ बाटै चुनाव लड्ने लोसपा नेता परमेश्वर साहले जानकारी दिए। उनका अनुसार ठाकुरको क्षेत्रमा पनि चुनावी तयारीका लागि नेता-कार्यकर्ता खटिएका छन्।
२०७४ सालको निर्वाचनमा संघीय समाजवादीसँगको गठबन्धनमा तत्कालीन राजपाबाट चुनाव लडेका उनी प्रतिस्पर्धी वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवारभन्दा तेब्बर बढी मत पाएर विजयी भएका थिए। त्यतिबेला कांग्रेसले पनि ठाकुरलाई समर्थन गरेको थियो। उसले बजरंग नेपालीको उम्मेदवारी फिर्ता गर्न लगाएको थियो।
ठाकुरले २७ हजार पाँच मत ल्याउँदा एमालेका विजय चौधरीले ८ हजार ९७७ मत पाएका थिए। सर्लाहीबाट निरन्तर चुनाव हार्न थालेपछि उनी अघिल्लो पटक महोत्तरीबाट चुनाव लडेका थिए। अघिल्लो पटक कांग्रेसले सघाएका ठाकुरलाई यसपालि एमालेले सघाउने उनी निकटस्थ नेताहरूको विश्वास छ।
‘सम्भवतः एमालेसँग हाम्रो गठबन्धन नै हुन्छ। नभए पनि त्यहाँ एमालेबाट चुनाव लड्ने हेभी वेट नेता छैनन्। उम्मेदवार बन्न दाबी गर्ने रामदयाल मण्डलजी समानुपातिकतर्फ जानुभयो। त्यस हिसाबले ठाकुरजीको जित निश्चित देखिन्छ,’ लोसपाका एक नेताले भने।
२०७० सालको निर्वाचनमा सर्लाही-६ बाट उठेका ठाकुर कांग्रेसका अमरेशकुमार सिंहसँग पराजित भएका थिए। उनी तेस्रो भएका थिए।
२०६४ सालमा ठाकुर तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार शिवपुजन रायसँग पराजित भएका थिए। ठाकुर दोहोरिने तयारी गरेको महोत्तरी-३ बाट २०६४ यता दोहोरिएर कुनै उम्मेदवार एवं दल जितेको इतिहास छैन। यहाँबाट पहिलो संविधान सभामा सदस्य निर्वाचनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट एमाले उम्मेदवार रामदयाल मण्डललाई हराउँदै गणेश नेपाली विजयी भएका थिए। दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन तमलोपाका उम्मेदवार रामशंकर मिश्रलाई नेता मण्डलले हराए।
२०७४ मा फेरि एमालेका चौधरीलाई हराउँदै ठाकुर विजयी भए।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो भने यसपालि धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ छोड्ने मनस्थितिमा पुगेका छन्। २०७४ सालको निर्वाचनमा कांग्रेसका विमलेन्द्र निधिलाई यहाँबाट दुई हजार ९०३ मतले पराजित गरेका उनी फेरि गृह जिल्ला सर्लाहीबाट उठ्ने तयारीमा छन्। महतोले ३० हजार ७४२ मत ल्याउँदा निधिले २७ हजार ८२८ मत पाएका थिए। तत्कालीन राजपाबाट उठेका उनी फोरम समेतको गठबन्धनको उम्मेदवार थिए।
‘निधिलाई हराउन जसरी अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा रघुवीर र जुलीजीले उहाँलाई सपोर्ट गर्नुभएको थियो त्यसरी नै यसपालि उहाँले जुलीजीलाई सघाउने सहमति भएको छ,’ महतोनिकट एक नेताले भने, ‘उहाँको राजनीतिक करियर पनि यहाँबाट धेरै लामो देखिन्न। त्यसैले फेरि गृहजिल्लाबाटै चुनाव लड्ने निष्कर्षमा पुग्नुभएको हो।’
महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ पुगेर नेता कार्यकर्ताहरूसँग भेटघाट एवं छलफल पनि गरेका छन्। कार्यकर्तालाई उनी यहीँबाट चुनाव लड्नेसमेत बताइसकेका छन्। जसपाबाट विभाजित भएपछि महतो निकटस्थ धेरै नेता-कार्यकर्ता लोसपामा नफर्किएका कारण कमजोर स्थिति देखेर पनि महतो यहाँबाट उम्मेदवारी नदिने निष्कर्षमा पुगेका हुन्।
सर्लाहीमा निरन्तर चुनाव हार्न थालेपछि महतो अघिल्लो निर्वाचनका बेला धनुषा आएका थिए। तत्कालीन नेपाल सद्भावना पार्टीबाट उठेका उनी २०४८ र ०५१ सालको निर्वाचनमा कांग्रेसकी मीना पाण्डेसँग पराजित भएका थिए।
२०५६ सालको निर्वाचनमा पाण्डे र सुर्यबहादुर थापालाई हराउँदै महतो विजयी भएका थिए। २०६४ सालको पहिलो संविधान सभाको चुनावमा पनि विजयी भएका उनी २०७० सालमा भएको दोस्रा संविधान सभाको चुनावमातत्कालीन तराई-मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग पराजित भए।
२०७४ सालको निर्वाचन बहिष्कार गरेका जनमत पार्टीका अध्यक्ष सिके राउत पनि उपेन्द्र यादव उठ्न लागेको सप्तरी-२ बाटै उम्मेदवार बन्ने तयारीमा छन्। जनमत पार्टीका नेता विपी साहका अनुसार राउत करिब एक महिनाअघि देखि नै चुनावी तयारीमा जुटिसकेका छन्।
‘हाम्रा नीति, सिद्धान्त, योजनाबारे घर-घरमा कार्यकर्तालाई बुझाउने, प्रोजेक्टरमार्फत् देखाउने लगायतका प्रचार प्रसारसँग सम्बन्धित क्रियाकलाप भइरहेको छ,’ नेता साहले भने।
जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरसँग सहकार्य एवं गठबन्धनका लागि राउतले प्रयास गरे पनि उनीहरूले नमानेकाले कोहीसँग गठबन्धन नगरी जनमत पार्टी एक्लै चुनाव लड्ने उनको भनाइ छ। लोसपासँग ठाउँ-ठाउँमा चुनावी तालमेल हुने सम्भावना रहेको नेता साहले बताए।