विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
राप्रपा र मिश्र पक्षधर समूहबीच आज एकता घोषणा सभा भएको थियो।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माला लगाएर मिश्रलाई पार्टीमा स्वागत गरेका हुन्।
यसअघि लिङ्देन र मिश्रबीच एकता घोषणा पत्रमा हस्ताक्षर भएको थियो। उनीहरूले एकता घोषणा पत्र हस्ताक्षर गरी एकअर्कालाई हस्तान्तरण गरेका थिए।
राप्रपाले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाएको छ। राप्रपामा वरिष्ठ उपाध्यक्ष पद विधानअनुसार छैन। अब विधान संशोधन गरी यो पद सिर्जना गर्नुपर्ने हुन्छ। राप्रपामा ८ उपाध्यक्ष रहने व्यवस्था रहेकोमा अहिले ६ उपाध्यक्ष छन्।
मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिए पनि वरीयताबारे भने खुलाइएको छैन।
देशमा राष्ट्रवादी शक्तिको खाँचो रहेकोले आफूहरूले एकता गरेको उनीहरूले बताएका छन्।
समान विचार बोकेका व्यक्ति र समूहलाई राप्रपामा आउन पनि उनीहरूले अपिल गरेका छन्।
मिश्रसँगै राप्रपामा विवेकशील साझाका केही नेताहरू गएका छन्। उनीहरूलाई १० दिनभित्र पार्टीका केन्द्रीय समिति, केन्द्रीय कार्यसम्पादन समिति र प्रदेश समितिहरूमा समायोजन गरिने सहमति भएको छ।
यसका लागि राप्रपा र मिश्र समूहका २/२ जना रहेको एक समिति पनि गठन गरिएको छ।
तस्बिरहरू: