आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचनका लागि राजनीतिक दलहरुले संघ र प्रदेशका उम्मेदवार टुंग्याएर मनोनयन दर्ताको अन्तिम तयारीमा जुटेका छन्।
आसन्न निर्वाचनमा कसैसँग गठबन्धन नगरी निर्वाचनमा जाने भन्दै आएको नेकपा एमालेले जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेको छ । देशको सबैभन्दा ठूलो पार्टी एमाले नेतृत्वको गठबन्धनसँग सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश १ मा प्रतिस्पर्धा गर्ने भएको छ ।
यद्यपि सत्ता गठबन्धन दलको तर्फबाट केही निर्वाचन क्षेत्रमा तालमेलको टुंगो लागिसकेको छैन । यस्तै एमाले–जसपा–राप्रपा गठबन्धनको भने उम्मेद्वारको टुंगो लागिसकेको बताइएको छ ।
तेह्रथुममा सत्ता गठबन्धन दलको तर्फबाट सीता गुरुङ (काँग्रेस) प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने भएकी छन् भने विपक्षी गठबन्धनबाट विजय सुब्बा (एमाले) उम्मेदवार बन्ने भएका छन् ।
यस्तै पाँचथरमा सत्ता गठबन्धनबाट काँग्रेसका भीष्मराज आङ्देम्बे र विपक्षी गठबन्धनबाट एमालेका बसन्त नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै धनकुटामा कांग्रेसबाट सुनिल थापासँग एमालेका राजेन्द्र राईले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ। यता संखुवासभामा काँग्रेसले दीपक खड्कालाई उम्मेदवार बनाउँदा एमालेले निवर्तमान सांसद राजेन्द्र गौतमलाई नै टिकट दिने निर्णय गरेको छ ।
ओखलढुंगामा भने काँग्रेसले रामहरि खतिवडालाई टिकट दिएको छ । एमालेले भने निवर्तमान सांसद यज्ञराज सुनुवारलाई उम्मेदवार बनाउने भएको छ । यता, खोटाङमा एमालेका नेता विशाल भट्टराई र माओवादी नेता रामकुमार राईबीच प्रतिस्पर्धा हुने देखिएको छ । सोलुखुम्बुबाट गठबन्धन दलबाट नेपाली काँग्रेसका बलबहादुर केसीले विपक्षी गठबन्धनबाट एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
सोलुखुम्बुको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको भएपनि काँग्रेस भित्रको अन्तरविरोध समाधान गर्न माओवादीले छोडेको हो। अब माओवादीले सोलुखुम्बुका दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने छ भने बदलामा मोरङ क्षेत्र नम्बर ६ (ख) पनि लिने छ ।
यस्तै ताप्लेजुङमा एमालेबाट योगेश भट्टराई र गठबन्धनबाट माओवादीका नेता खिलप्रसाद बुढाथोकी (पराग) ले प्रतिस्पर्धा गर्ने भएका छन् । इलामको क्षेत्र नम्बर १ मा नेकपा (एस) का झलनाथ खनालले विपक्षी गठबन्धनका एमाले नेता महेश बस्नेतसँग प्रतिस्पर्धा गर्नेछन्।
इलामको २ नम्बर क्षेत्रमा विपवक्षी गठबन्धनबाट एमाले नेता सुवासचन्द्र नेम्वाङले प्रतिस्पर्धा गर्नेछन् । उनीसँग सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले उम्मेदवारी दिनेछ।
यस्तै झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेल, झापा २ मा एमालेका देवराज घिमिरे र माओवादी केन्द्रबाट अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार रानाले टिकट पाएका छन्।
एमाले परित्याग गरेका रानाले आईतबार नेकपा (माओवादी केन्द्र) को हँसिया हथौडा चुनाव चिन्ह लिएर मनोनयन दर्ता गर्ने भएका हुन्।
यस्तै झापा ३ मा काँग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन, झापा ४ काँग्रेसका देउमान थेबे र एमालेका एलपी साँवाबीच प्रतिस्पर्धा हुने भएको छ।
झापा ५ मा विपक्षी गठबन्धनका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेसका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन् ।
यता प्रदेशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको मोरङमा पनि गठबन्धन दल काँग्रेसले केही ठाउँमा उम्मेदवार फाइनल गरेको छैन। हालसम्म प्राप्त जानकारी अनुसार मोरङको निर्वाचन क्षेत्र १ मा काँग्रेसबाट डिकबहादुर लिम्बू र एमालेबाट घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ।
क्षेत्र नम्बर २ मा भने एमालेबाट ऋषिकेश पोखरेलले काँग्रेसका सुजता कोइरालासँग प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै मोरङ ३ मा काँग्रेसबाट एकल प्रस्ताव भएका सुनिल शर्माले एमालेका भानुभक्त ढकालसँग प्रतिस्पर्धा गर्नेछन्। यद्यपि शर्माको टिकट निश्चित भइसकेको छैन। सो क्षेत्रमा राप्रपाले रेखा थापालाई उम्मेदवार बनाउने भएको छ।
मोरङ ४ मा माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग एमाले नेता विनोद ढकालले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मोरङ ५ मा माओवादी नेता शिवकुमार मण्डल र जसपाका नेता राजकुमार यादवबीच प्रतिस्पर्धा हुने भएको छ। मोरङको क्षेत्र नम्बर ६ मा कांग्रेस नेता शेखर कोइराला र एमाले नेता लालबाबु पण्डिताबीच प्रतिस्पर्धा हुनेछ।
यता ४ निर्वाचन क्षेत्र रहेको सुनसरीको १ नम्बर क्षेत्रमा जसपाबाट अशोककुमार राई र माओवादी केन्द्रका मुक्साहाङ मेन्वाङ्बोबीच प्रतिस्पर्धा हुने भएको छ।
यस्तै सुनसरीको २ नम्बर क्षेत्रमा काँग्रेसले उम्मेदवार टुंग्याएको छैन भने एमालेले नेता भीम आचार्यलाई टिकट दिएको छ।
सुनसरीको ३ नम्बर क्षेत्रमा भने काँग्रेसले पुनः विजयकुमार गच्छदारलाई उम्मेदवार बनाउँदा एमालेले भगवती चौधरीलाई टिकट दिएको छ।
सुनसरी ४ मा भने काँग्रेसका ज्ञानेन्द्र कार्कीको टिकट सुनिश्चित हुँदा एमालेका जगदिशप्रसाद कुसियैतले पनि टिकट पाएका छन्।
यता, उदयपुरको निर्वाचन क्षेत्र १ मा काँग्रेसका नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच प्रतिस्पर्धा हुने पक्का हुँदा उदयपुर २ मा भने नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा र एमालेका ज्ञानेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ।
यस्तै भोजपुरमा एमाले नेता तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईसँग माओवादी नेता सुदन किराँतीबीच प्रतिस्पर्धा हुने भएको छ।