कास्कीमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले बराबरी सिट पाएका छन्।
प्रतिनिधिसभामा ३ वटा क्षेत्र रहेको कस्कीबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले १-१ वटा सिट बाँडेका छन्।
प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमा भने कांग्रेस र माओवादीले बराबरी ३-३ वटा निर्वाचन क्षेत्र लिएका छन्। उता विपक्षी गठबन्धन गरेका एमाले भने एक्लै निर्वाचनमा होमिएको छ। देशका विभिन्न ठाउँमा राप्रपा, जसपा लगायतका दलसँग गठबन्धन गरेको एमालेले कास्कीमा भने अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छैन।
प्रतिनिधिसभातर्फ कास्की–१ मा गठबन्धनबाट नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले टिकट पाएका छन्। कांग्रेसको गत महाधिवेशनबाट सभापति निर्वाचित बराल सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा निकट छन्।
उक्त क्षेत्रबाट २०७४ को निर्वाचनमा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी निर्वाचित भएका थिए। यसपालि भने एमालेले उक्त क्षेत्रमा गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङलाई उठाएको छ। गुरुङ एमाले कास्कीका अध्यक्ष हुन्। सिक्लेसका पूर्व गाविस अध्यक्ष गुरुङ गण्डकीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट छन्।
सत्ता गठबन्धनको सहमतिअनुसार कास्की– २ मा नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले टिकट पाएका छन्। एमाले नेता रविन्द्र अधिकारीले निरन्तर जित्दै आएको उक्त क्षेत्रमा एमालेको विशेष पकड छ। अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचनमा उनका पत्नी विद्या भट्टराईले चुनाव जितेकी थिइन्। यसपालि पनि एमालेले बरालसँग भट्टराईलाई भिडाएको छ।
यस्तै प्रतिनिधिसभाकै कास्की–३ मा सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता रामजी बराल ‘जीवन’ले टिकट पाएका छन्। उनी गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत हुन्। उक्त क्षेत्रमा नेकपा एमालेले दामोदर पौडेल ‘बैरागी’लाई उठाएको छ। एमालेको गत अधिवेशनमा जिल्ला अध्यक्ष हारेका बैरागीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका हुन्।
यस्तै प्रदेश तर्फ कास्की– १ (क)मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपक कोइरालाले टिकट पाएका छन्। २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनका तर्फबाट कोइरालाले उक्त क्षेत्रबाट प्रदेश सांसद जितेका थिए। उक्त निर्वाचनमा एमाले नेता खगराज अधिकारीसँगै निर्वाचनमा होमिएका कोइरालाले यसपालि उनै खगराजको सामना गर्नुपर्ने भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री बन्ने उद्घोष गर्दै खगराजले उक्त क्षेत्रबाट प्रदेश सांसद उठेका छन्।
यस्तै, प्रदेशसभातर्फ कास्की– १ (ख)बाट गठबन्धनका तर्फबाट कांग्रेसका युवा नेता दीपक गुरुङ ‘माइला’ले टिकट पाएका छन्। कांग्रेस महामन्त्री गगन थापा निकट रहेका माइला महाधिवेशन प्रतिनिधि हुन्। उक्त क्षेत्रमा एमालेले युवा नेता बेदबहादुर गुरुङ ‘श्याम’लाई अघि सारेको छ। उनले २०७४ को निर्वाचनमा मादी गाउँपालिका अध्यक्ष जितेका थिए। उक्त क्षेत्रबाट यसअघि एमाले जिल्ला अध्यक्ष मनबहादुरले चुनाव जितेका थिए।
कास्की– २ (क)मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले टिकट पाएका छन्। पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष भइसकेका लामिछाने फेवाताल अध्ययन कार्यदलका संयोजक पनि थिए। लामिछानेविरूद्ध एमाले केन्द्रीय सदस्य भीम कार्कीले टिकट पाएका छन्। उक्त क्षेत्रबाट २०७४ को निर्वाचनमा एमाले केन्द्रीय सदस्य कृष्ण थापाले जितेका थिए।
गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा थापाले सांसद पदबाट राजीनामा दिएर पोखरा महानगरको मेयर उम्मेदवार बनेपनि पराजित भएका थिए। कास्की– २ (ख)मा गठबन्धनका तर्फबाट कांग्रेस नेता विन्दुकुमार थापाले टिकट पाएका छन्। कांग्रेस महासमिति सदस्य रहेका थापा गण्डकी प्रदेशका कानुन तथा संचार मन्त्री हुन्।
उनले यसअघिको निर्वाचन पनि उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। थापाविरुद्ध एमालेका तर्फबाट मिना गुरुङले टिकट पाएकी छिन्। यसअघि मिना गण्डकी प्रदेशका समानुपातिकबाट सांसद बनेकी थिइन्।
कास्की– ३ (क)मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता दुर्गादत्त भण्डारीले टिकट पाएका छन्। कास्कीको राजनीतिमा चर्चा बाहिर रहेका भण्डारी पार्टीका पुराना नेता रहेको माओवादी कार्यकर्ताहरू बताउँछन्। उनका विरुद्ध एमालेका तर्फबाट नेता गणेशमान गुरुङले टिकट पाएका छन्।
अशोक राईको नेतृत्वमा एमाले विभाजन भएका बेला राइसँगै अर्को पार्टी गठन गरेका गुरूङ जनता समाजवादी पार्टीमा पुगेका थिए। गत स्थानीय निर्वाचन अघि मात्र उनी एमालेमा फर्केका थिए।
कास्की– ३ (ख)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रकाश बरालले टिकट पाएका छन्। कांग्रेस गण्डकीका कार्यालय सचिव रहेका बराल प्रदेश सभापति शुक्रराज शर्मा निकट हुन्। उनका विरुद्ध एमालेका तर्फबाट केन्द्रीय राजिब पहारी उठेका छन्। २०७४ मा पनि पहारीले उक्त क्षेत्रबाट प्रदेश सांसद जितेका थिए।