उम्मेदवार आकांक्षीको नाम प्रस्ताव गर्दा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले लमजुङबाट प्रदेश सभा 'ख'बाट मात्र आफ्नो सिफारिस गरेका थिए।
उम्मेदवारको नाम सिफारिस गर्दा सर्वसम्मत बन्न खोजेका गुरूङलाई चुनौती दिँदै एमाले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले आफ्नो नाम पनि केन्द्रमा पठाए। प्रतिनिधिसभा उम्मेदवारका रूपमा जमिन्द्रमान घलेलाई प्राथमिकता दिएका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरण गर्दा भने जिल्लाबाट सिफारिस भएको भन्दा विपरित वितरण गरे।
गुरूङलाई संघीय सांसद उठ्न टिकट दिएर ओलीले संविधानसभा सदस्य बनिसकेका घलेलाई प्रदेश सांसदमा झारिदिए।
गण्डकीका पूर्व-मुख्यमन्त्रीसमेत रहेका गुरूङले लड्न चाहेको प्रदेश सांसदको क्षेत्र लमजुङ 'ख' मा जिल्ला अध्यक्ष अधिकारीलाई टिकट दिए। यसले गुरूङलाई रूष्ट बनाएको छ।
सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देव गुरूङले टिकट पाइसकेका छन्।
प्रतिनिधि सभामा एउटा मात्र क्षेत्र रहेको लमजुङका प्रदेश सांसदतर्फ २ वटै क्षेत्रमा कांग्रेसले टिकट पाएको छ।
प्रदेशमा लमजुङ 'क' बाट कांग्रेसका जिल्ला सभापति टकराज गुरूङ र 'ख' मा पूर्व-जिल्ला सभापति भेषबहादुर पौडेलले टिकट पाएका छन्।
टकराज यसअघि प्रतिनिधिसभा र भेषबहादुर बेंसीसहर नगरपालिकाको मेयरमा पराजित नेता हुन्।
लमजुङ 'ख' बाट चुनाव जितेर फेरि पनि मुख्यमन्त्री बन्ने दाउ हेरेका एमाले उपमहासचिव गुरूङले उक्त क्षेत्रमा चुनावी दौडधुपसमेत सुरू गरिसकेका थिए।
पार्टीका पालिकास्तरीय कमिटीको भेला र प्रशिक्षण गर्दै हिँडेका गुरूङलाई संघीय सांसदको टिकट दिएपछि चुनाव लड्ने कि नलड्नेबारे अझै छलफलमा जुट्दै छन्। उनी पोखराबाट आइतबार मात्र बेंसीसहर पुगेका छन्।
लमजुङ 'ख' बाट चुनाव लड्न आफूले पाउनुपर्ने भन्दै एमाले जिल्ला अध्यक्ष अधिकारीले यसअघि नै ओलीसँग भेटेर माग गरेका थिए।
केन्द्रीय सदस्य टुका हमाल, सचिव सुभाष पौडेललगायत नेता कार्यकर्ता लिएर बालकोट पुगेका अधिकारीले पञ्चायतकालदेखि सधैं गुरूङ मात्र उम्मेदवार हुँदा लमजुङका अन्य नेता कायर्कता पछाडि परेको बताएका थिए। आफ्नाविरूद्ध ओलीलाई भेट्न पुगेको भन्दै अधिकारीसँग गुरूङ आक्रोशित छन्।
यता, कास्कीको आन्तरिक राजनीतिमा पनि संगठन विभाग प्रमुख खगराज अधिकारीसँग जुंगाको लडाइँ लडिरहेका गुरूङलाई अध्यक्ष ओलीले अटेरी गरेपछि अप्ठ्यारो मोडमा पुगेका छन्।
लमजुङबाट प्रदेश सभा 'ख'मा सजिलै जित्ने आकलन गरेका गुरूङलाई प्रतिनिधि सभामा चुनाव लड्दा जीत सुनिश्चित छैन। त्यसैले पनि उनलाई प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार देव गुरूङसँग चुनाव लड्न आनाकानी गरेको एमाले लमजुङका एक नेताले बताए।
‘पदाधिकारी भएर गठबन्धनविरूद्ध चुनाव लड्न डराउनुहुँदैन,’ ती नेताले भने, ‘उपमहासचिव जीत सुनिश्चत खोज्दै हुनुहुन्छ, त्यही भएर असन्तुष्ट देखिनुहुन्छ।’
उपमहासचिव गुरूङलाई गत स्थानीय निर्वाचनमा पोखरा महानगरमा अन्तरघात गरेको आरोप संगठन विभाग प्रमुख खगराज पक्षले लगाउँदै आएको छ।
पोखराको उपमेयरमा मञ्जुदेवी गुरूङ विजयी भएपछि आयोजित कोणसभामा बोल्दै गर्दा गुरूङविरूद्ध खगराज पक्षका केही युवाले अन्तर्घाती मुर्दावाद भन्दै नाराबाजी गरेका थिए। जबकि, सोही सभामा खगराजले भाषण गर्दा कसैले विरोध जनाएका थिएनन्।
कास्कीमा खगराज पक्षका केन्द्रीय सदस्य कृष्ण थापा मेयर उम्मेदवार भएकाले गुरूङले असहयोग गरेको खगराज पक्षको आरोप छ।
पोखराको मेयर टिकट पाएका गुरूङ पक्षका नेता दीपक पौडेल सुन चोरीको भिडिओ भाइरल भएपछि अध्यक्ष ओलीले पौडेलको टिकट खोसेर थापालाई थमाएका थिए।
प्रदेश सांसदलाई मेयरको टिकट दिन नहुने भन्दै गुरूङले सार्वजनिक रूपमै बोलेका थिए भने उम्मेदवार सही नभएका कारण पोखराको मेयर हार्नुपरेको तर्क दिँदै आएका थिए।
यता, खगराजले पनि भावी मुख्यमन्त्रीको दाबीसहित आफूले प्रदेशमा टिकट पाउनुपर्ने अध्यक्ष ओलीसँग माग राखेका थिए। उपमहासचिव गुरूङ प्रदेशमा लड्ने हो भने आफू प्रतिनिधि सभामा लड्ने उनले बताएका थिए। तर पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको तर्क थियो।
निर्वाचन नलड्न पनि तयार रहेको भन्दै केही दिन अघि संवाददाताहरूसँग खगराजले भनेका थिए, ‘म जहाँ उठ्न पनि तयार छु, नउठ्न पनि तयार छु, पार्टीले उठ् भनेपछि उठ्दिनँ भन्न पाउँदिनँ।’