सुर्खेतमा वर्षातका बीच प्रदेश र प्रतिनिधि सभाको सदस्यका लागि टिकट पाएका नेताहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन्।
टिकट पाएका उम्मेदवारहरूले अन्य नेता तथा कार्यकर्तासहित आफ्ना प्रस्तावक, समर्थक लिएर मनोनयन दर्ता गराएका हुन्।
वीरेन्द्रनगरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुर्खेतको प्रदेश २ (क) को प्रदेश सभा सदस्यका लागि माओवादीका पदम वनले सुरूमा आफ्नो मनोनयन दर्ता गराएका छन्।
गठबन्धन दलबीचको सहमतिअनुसार २ (क) कांग्रेसले पाएपछि बनले बागी उम्मेदवारी दिएका हुन्।
त्यसपछि एमालेबाट सुर्खेत २ (क) मा यामलाल कँडेलले उम्मेदवारी दर्ता गराए।
त्यसपछि सुर्खेत–२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका हृदयराम थानी, प्रदेश सभा सदस्यका लागि २ (क) बाट कांग्रेसका कालीप्रसाद शाक्य र (ख) बाट माओवादीका विन्दमान विष्टले उम्मेदवारी दर्ता गराएका छन्।
विष्ट यसअघि पनि प्रदेशसभा सदस्य थिए। उनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन्।
सुर्खेत–२ मा नेकपा एमाले लगायतका केही दलले मनोनयन दर्ता गराउन बाँकी छ।
गठबन्धनबीच भागबण्डा गर्दा रूष्ट बनेका समाजवादीका नेताले पनि गठबन्धनविरूद्ध उम्मेदवारी दिने संकेत सुर्खेतमा देखिएको छ।