नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि लेखक एवं विश्लेषक झलक सुवेदी एमालेको राजनीतिमा फर्किए। विगत १५ वर्षयता प्रत्यक्ष राजनीतिमा थिएनन्। प्राज्ञिक क्षेत्रमा सक्रिय थिए।
उनी २०३६ सालमा तत्कालीन मालेको सदस्यता लिएर राजनीतिमा लागेका थिए। उनी अनेरास्ववियुबाट पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति थिए। पञ्चायतकालमै जनपक्षीय उम्मेदवार सोमनाथ अधिकारी ‘प्यासी’ लाई जिताउन लागेका थिए।तत्कालीन मालेमा लागेर पञ्चायत विरोधी मोर्चामा सहभागी भएकै आधारमा झलकलाई पटकपटक प्रहरीले पक्राउ गर्यो।
जेलमा यातना दियो। यतिसम्म कि २०४६ को जनआन्दोलनमा पक्राउ परेका झलकलाई फाँसीको सजाय दिन माग गर्दै तत्कालीन सरकारी वकिलले बहस गरेका थिए। प्रजातन्त्र पुनर्स्थापनापछि उनी हिरासत मुक्त भए।
यसरी माले–एमालेमा जीवनको ऊर्जाशील समय खर्चेका झलक प्राज्ञिक क्षेत्रमा क्रियाशील हुँदासमेत निर्वाचनमा भने एमालेको प्रचार गर्न गाउँगाउँ पुग्थे। एमालेलाई भोट दिन आह्वान गर्दै भाषण गर्थे।
प्राज्ञिक क्षेत्रमा लागेर पनि पार्टी सदस्यता नत्यागेका झलक नेकपा विघटनपछि एमालेको विधान महाधिवेशनमा प्रतिनिधि चुनिए। त्यतिबेला उनलाई एमाले नेता विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले साथ दिएका थिए। विधान महाधिवेशनमा केन्द्रबाटै प्रतिनिधि चुनिएपछि झलक हौसिए। चितवनमा भएको पार्टी महाधिवेशनमा जिल्लाबाटै प्रतिनिधि चुनिन चाहे। उनको अधिकांश बसाइ पोखरामा हुन थाल्यो। दिनहुँ नेता कार्यकर्ता भेट्न थाले।
जिल्ला अधिवेशनमा उनले महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिए तर सर्वसम्मतिका नाममा उनी रोकिए। उनले महाधिवेशन प्रतिनिधि छान्न मतदान माग गरेका थिए तर सुनुवाइ भएन।
एमाले कास्कीका एक नेताका अनुसार त्यतिबेला उनलाई खगराज अधिकारीको समूहले रोकेको थियो।
महाधिवेशनमा जिल्लाबाटै मिल्काइँदा पनि झलकले एमालेमा क्रियाशील हुने आकांक्षा त्यागेनन्। उनले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवारीको आकांक्षा राखे।
उक्त क्षेत्रबाट २०७४ मा नेता खगराज अधिकारीले चुनाव जितेका थिए। अहिले उनी मुख्यमन्त्रीको दाबी गर्दै प्रतिनिधिसभा छोडेर प्रदेश सभामा झरे। तर उनको चुनावी क्षेत्रमा दाबी गरिरहेका झलकले टिकट पाएनन्।
किनभने एमालेको आन्तरिक राजनीतिमा होस् वा गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा, झलक जहिल्यै पृथ्वीसुब्बा गुरुङका पक्षमा रहे। पोखरामा झलकले पृथ्वीसुब्बालाई साथ दिएको खगराजलाई मन नपरेको एमालेका नेताहरू बताउँछन्।
त्यसैको परिणाममा झलकलाई एमालेको राजनीतिमा फर्कन नदिने रणनीति खगराजले लिएको एमाले कास्कीका एक नेताले बताए।
सुवेदीमात्र होइन गण्डकीमा पृथ्वीसुब्बा र खगराजको जुँगाको लडाइँमा अरू नेता पनि मिचिएका छन्।
एमाले नेता जगत विश्वकर्माले कास्की क्षेत्र नम्बर ३ बाट टिकट नपाउनु पनि यसैको परिणाम भएको कास्की एमालेका एक नेताको भनाइ छ। विश्वकर्मा गत निर्वाचनमा उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
पार्टीको पोलिटब्युरोमा पुगेका दलित नेता विश्वकर्माले पोखरा र गण्डकीको राजनीतिमा पृथ्वीसुब्बालाई साथ दिँदै आएका थिए।
लमजुङको घले गाउँलाई चिनाएका नेता प्रेम घलेको नाम एमाले लमजुङले समानुपातिकतर्फ एक नम्बरमा सिफारिस गरेको थियो। क्व्होलासोथार गाउँपालिकाका पूर्वअध्यक्ष घलेले गत वैशाखमा भएको स्थानीय निर्वाचनमा आफ्नो पालिकामा अरू दलको ‘क्लिन स्वीप’ गराइदिएका थिए। घले पनि पृथ्वीसुब्बा पक्षकै भएका कारण समानुपातिक सूचीबाट उनको नाम काटिएको लमजुङका केही एमाले कार्यकर्ताको आशंका छ।
एमालेको राजनीतिमा जतिसुकै मलजल गरे पनि यसपालि अध्यक्ष ओलीले पृथ्वीसुब्बा पक्षधरलाई पाखा लगाइदिएको पोखराका कार्यकर्ताहरू बताउँछन्।
यसको कोपभाजनमा पृथ्वीसुब्बा नै परेका छन्। उनी प्रतिनिधि सभाका लागि उम्मेदवार हुन चाहेकै थिएनन्। अधुरा काम पुरा गर्न फेरि मुख्यमन्त्री हुन चाहेको बताउँदै आएका थिए। त्यसैले जिल्लाबाट पनि उनको नाम प्रदेश सभाका लागि लमजुङ ‘ख’ मा सिफारिस थियो।
पार्टीको जिल्ला कमिटीले गरेको सिफारिस विपरीत ओलीले पृथ्वी सुब्बालाई संघीय सांसदको टिकट दिए। उनले चाहेको प्रदेशसभा निर्वाचन क्षेत्रमा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले टिकट पाए।
संंघीय सांसद सिफारिस भएका जमीन्द्रमान घले लमजुङ ‘क’ मा जबरजस्ती उम्मेदवार बनाइएका छन्। यसको परिणाम, एमाले गण्डकीका सचिव एवं प्रदेशका पूर्वसांसद धनञ्जय दवाडीले टिकट पाएनन्।
दवाडी प्रदेश सभाका पूर्व सांसद हुन्। संसदमा र एमालेभित्र पनि बौद्धिक नेताको छवि बनाएका उनले जिल्ला र प्रदेशमा सधैँ पृथ्वीसुब्बालाई साथ दिए। यसै कारण उनले यसपालि टिकट नपाएको अनुमान छ।
एमाले लमजुङका पूर्वअध्यक्ष रहेका जमीन्द्रमान नेकपा विघटन हुनुअघि माधव नेपाल पक्षमा थिए। जमीन्द्रको टिम माधव नेपालको पार्टीमा जाँदा लमजुङमा एमाले दुई चिरा हुने विश्लेषणका साथ पृथ्वीसुब्बाले उनलाई एमालेमै रोकेका थिए।
गाविस अध्यक्ष, जिल्ला विकास समितिका सभापति र संविधान सभा सदस्य रहिसकेका घलेले प्रतिनिधि सभामा टिकट पाउँदा जित्न सजिलो हुने आकलन गरेरै पृथ्वीसुब्बा उनलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउन चाहन्थे।
पृथ्वीसुब्बाले सत्तारूढ गठबन्धन विरुद्ध बलियो उम्मेदवार दिन चाहेको कुरा ओलीले थाहा नपाएझैँ गरिदिए। खगराज पक्षधर मानिएका जिल्ला अध्यक्ष अधिकारीको कुरा सुनेर ओलीले पृथ्वी सुब्बा र घलेलाई सिफारिस नै नभएको र नचाहेको क्षेत्रमा टिकट दिएर लखेटेको स्थानीय कार्यकर्ताको टिप्पणी छ।
अध्यक्ष ओलीले यसरी पृथ्वीसुब्बा पक्षधर नेतालाई छानीछानी 'पाखा लगाउनु'मा सरकारमा हुँदाको रिस फेरेको हुन सक्ने आशंका पनि कतिपयको छ।
संघीय सरकारमा दुई तिहाई बहुमतको सरकार हुँदा पृथ्वीसुब्बा पनि गण्डकीमा दुई तिहाइकै सरकार चलाउँथे। संघीयता बलियो बनाउने सवालमा उनले जमेर ओलीको आलोचना गरे।
तत्कालीन प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघीय सरकारकै शाखा हो भन्दा पोखराबाट पृथ्वीसुब्बाले जवाफ दिएका थिए। प्रदेशका नाममा एउटा कार्यालयसमेत नहुँदा पनि संविधान बमोजिम अधिकार माग गर्न पृथ्वीसुब्बा अघि सर्थे।
पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्री भेला गराएर उनले संविधानले तोकेको अधिकार बाँडफाँड गर्न दबाब दिएका थिए।
पृथ्वीसुब्बाको उक्त कदम तत्कालीन प्रधानमन्त्री ओलीलाई सह्य भएन। मिति तय भइसकेको मुख्यमन्त्री सहभागी हुने अन्तरप्रदेश समन्वय परिषद बैठक नै लामो समय रोकिदिए। त्यति वेला ओलीले मुख्यमन्त्रीलाई भेट समेत दिएनन्।
संवैधानिक व्यवस्था बलियो बनाउने सवालमा समेत यति अनुदार बनेका ओलीसँग पृथ्वीसुब्बा पनि झुकेनन्। ओलीको अनुदार कार्यशैलीको आलोचना गरिरहे।
संविधानले तीन वटै तहका सरकार सहअस्तित्व र सहकार्यमा चल्नुपर्ने भनेको छ। तीनै तहका सरकारका एकल अधिकार र साझा अधिकारका क्षेत्र छुट्याइदिएको छ। प्रदेशका एकल अधिकार पनि प्रयोग गर्न नपाएको गुनासो पृथ्वीसुब्बाको थियो। ओलीले बेवास्ता गरिरहे।
केही जिल्ला नेताहरूका अनुसार उपमहासचिव पृथ्वीसुब्बासँग अध्यक्ष ओली रिसाउनुको कारण अर्को पनि छ।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पोखरा महानगरका मेयरसहित अधिकांश वडाध्यक्ष हार्नुमा अन्तर्घात भएको ओलीले विश्वास छ।
एमाले सचिवालयले पोखराको मेयरमा दीपक पौडेललाई टिकट दिएको थियो। एउटा सुन पसलबाट सिक्री चोरेको भन्दै पुरानो एउटा सिसिटिभी फुटेज भाइरल भएपछि ओलीले प्रदेश सांसद कृष्ण थापालाई उम्मेदवार बनाएका थिए।
पृथ्वीसुब्बा थापालाई उम्मेदवार बनाउन नहुने पक्षमा थिए। खगराज पक्षका नेता थापाले पनि पृथ्वीसुब्बाका विरुद्ध अभिव्यक्ति दिने गरेका थिए।
यही आन्तरिक द्वन्द्वका कारण थापा मेयर पदमा पराजित भएको भन्ने भाष्य पोखराको एमाले वृत्तमा जबरजस्त निर्माण भएको छ।पृथ्वीसुब्बा पक्षको अन्तर्घातले पोखरामा एमाले पराजित भएको भन्ने भाष्य एमालेका अधिकांश नेता कार्यकर्ता पत्याउँदैनन्।
पोखरा महानगरमा मात्र २५ हजारभन्दा बढी मत बदर हुँदा अधिकांश मत गठबन्धनको थियो। गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर निर्वाचित हुँदा ५ हजारभन्दा बढी मतको अन्तर छ।
यति धेरै मतान्तर हुँदासमेत हारको दोष उपमहासचिवलाई दिनु गलत भएको एमाले कास्कीका अर्का एक नेता बताउँछन्।
‘२०७४ को निर्वाचनमा हारेका वामदेव (गौतम) ले आफूलाई हराउन केपी ओली लागेको भने जस्तै आरोप हो यो,’ ती नेताले भने, ‘उम्मेदवारले विगतमा गरेका काम, आफ्नै पार्टीका दलित नेतामाथि छुवाछुत जस्तो अमानवीय घटनामा पीडितविरुद्ध दिएको अभिव्यक्ति र एमाले नेतृत्वको तत्कालीन महानगरले गरेका केही गलत कामले पनि हार भएको हो।’
त्यतिबेला गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता धनराज एमालेजनलाई रिझाएर विजयी सफल हुन भएको पनि एमाले कार्यकर्ताको भनाइ छ।
रवीन्द्र अधिकारीदेखि विद्या भट्टराईसम्मका चुनावी कमान्डर धनराजको अनुभवले पनि एमालेको भोट तान्ने काम गरेको ती नेताको विश्लेषण छ।
ठूलो मतान्तर र अन्य कारणको खोजी नगरी पोखरामा हारको दोष पृथ्वीसुब्बालाई दिनु अन्याय हुने उनीनिकट अर्का नेताको भनाइ छ। संगठन विभाग प्रमुख खगराजको वडामा अध्यक्ष हार्नुको दोष पनि पृथ्वीसुब्बालाई दिनु दुर्भाग्य रहेको उनले बताए।
यतिमात्र होइन, उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित हुँदा अयोजित कोणसभामा खगराज पक्षका केही कार्यकर्ताले नाराबाजी गरे।
संगठन विभाग प्रमुख खगराजले भाषण गर्दा मौन रहेका कार्यकर्ताले उपमहासचिव पृथ्वीसुब्बा बोल्दा ‘अन्तर्घाती मुर्दावाद’ भन्दै सभामै नाराबाजी गरेका थिए।
गण्डकी प्रदेशमा संघीयताको जग बसालेका उपमहासचिव पृथ्वीसुब्बामाथि यति धेरै प्रहार हुँदा पनि उनी शान्त बसेका छन्। ओलीलाई अध्यक्ष बनाउँदा होस् वा उनलाई कुनै अप्ठ्यारो पर्दा, जहिले पनि पृथ्वीसुब्बाले बलियो गरी काँध थापे। यसपालिको टिकट वितरणमा ओलीले उनै पृथ्वीसुब्बालाई किनारा लगाइदिए।
यता, संगठन विभाग प्रमुख खगराज भने आफू र पृथ्वीसुब्बाबीचको सम्बन्धमा कुनै समस्या नरहेको दाबी गर्छन्।
प्रदेश सभामा कास्की क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवारी दर्ता गरेपछि उनले भने, ‘पृथ्वीसुब्बा र मेरो मित्रता संसारको कुनै तागतले रोक्न सक्दैन।’
पृथ्वीसुब्बालाई मात्र होइन, उनका पक्षधर पनि पाखा लाग्ने अवस्था आउनुमा ओलीमात्र जिम्मेबार छैनन्। पृथ्वीसुब्बाको शैली पनि ओलीको जस्तै रहेको भुक्तभोगी कार्यकर्ता बताउँछन्।
पृथ्वीसुब्बाले निःस्वार्थ सहयोग गर्नेलाई वास्ता नगर्ने र कहिलेकाहीँ अन्याय गर्ने गरेको उनीहरू बताउँछन्।
‘पृथ्वीसुब्बालाई सधैँ सहयोग गरेका छौँ, उहाँको सही विचारको पक्षमा उभिँदा कहिलेकाहीँ उहाँले पनि अन्याय गर्नुभएको छ,’ एक कार्यकर्ताले भने, ‘इमानदार नेताले इमानदारीपूर्वक दिएको समर्थन र सहयोग बुझ्न सक्नुपर्छ।’