आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मुलुकका धेरै क्षेत्रमा पुरानै प्रतिस्पर्धीहरू दोहोरिएका छन्।
मोरङको क्षेत्र नम्बर ६ पनि यस्तै क्षेत्रमा पर्छ, जहाँ कांग्रेस नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितबीच चुनावी 'रिम्याच' हुँदैछ।
यी दुई नेता २०७४ सालमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धी थिए जहाँ लालबाबुले शेखरलाई पराजित गरेका थिए।
रिम्याचको यो 'रेस' मा शेखर पाँच वर्षअघिको हारको बदला लिँदै संसदमा पुग्ने प्रयासमा हुनेछन्। लालबाबु पुरानो सफलता कायम राख्दै रेकर्ड बनाउने लक्ष्यमा हुनेछन्।
यी दुवै नेताका लागि चुनावी लक्ष्य चुनौतीपूर्ण हुने देखिएको छ। गठबन्धनमा आधारित दुवै उम्मेदवारले जितका लागि अन्य दलमा जानसक्ने मत आर्जन गर्नु पर्नेछ।
दुवैले आन्तरिक असन्तोष र अन्तरविरोधको व्यवस्थापन पनि गर्नुपर्नेछ।
एमालेभित्र लामो समय अध्यक्ष केपी ओलीविरोधी कित्तामा उभिएका कारण लालबाबुलाई ओली पक्षको मन र मत जित्नुपर्ने चुनौती हुनेछ।
कांग्रेसमा संस्थापन इतरका शीर्ष नेता शेखरका लागि पार्टीको आन्तरिक व्यवस्थापन पेचिलो हुन सक्नेछ।
पार्टीको चौधौं महाधिवेशनपछि निरन्तर घेराबन्दीमा परेका शेखरलाई आफ्नै निर्वाचन क्षेत्रमा पनि संस्थापन पक्षको सहयोग जुटाउनु चुनौतीपूर्ण हुने देखिन्छ।
गठबन्धनको आकार, पछिल्लो स्थानीय चुनावको हिसाब र व्यक्तिगत प्रभावका कारणले यसपटक तुलनात्मक रूपमा शेखर बढी सुरक्षित देखिन्छन्।
चुनावी खेलमा हालको गणित मतदानसम्म कायम रहने–नरहने निश्चित हुँदैन। यही अनिश्चितताले मोरङ-६ को चुनावी होड रोचक बनाउनेछ।
शेखर र लालबाबुको बदलिएको छवि
२०७४ को चुनावताका यी दुवै नेता आआफ्ना छविले चर्चामा थिए।
मन्त्री हुँदा अमेरिकाको डिभी र विदेशको पिआरधारी कर्मचारीप्रति लिएको कठोर नीतिका कारण लालबाबु चर्चाको शिखरमा थिए।
एमालेभित्रका सबैभन्दा 'सादा' नेताको छवि पनि थियो। उनी साइकल चढेर मत माग्दै डुल्थे। यसले पनि उनलाई लोकप्रिय बनाएको थियो। उनको 'साइकल व्यक्तित्व' हास्य कलाकारको प्रस्तुतिको विषय बनेको थियो।
धेरै नेताहरूले हास्य कलाकारको व्यंग्य खेप्नु पर्दा लालबाबुले भने प्रशंसा पाएका थिए। प्रखर रूपमा उठेको समावेशिताको मुद्दा पनि मधेशी समुदायका लालबाबुका लागि 'प्लस प्वाइन्ट' थियो।
प्रशंसक त भइगए, सञ्चार माध्यमले पनि लालबाबुको व्यक्तित्वमा जलप भरिदिएका थिए। चुनावमा अन्य चल्तापूर्जा नेतासरह नै खर्च गरेका भए पनि उनी देशभरमै सबैभन्दा कम खर्च गर्ने नेता भन्दै अखबारका पाना भरिए।
अहिले लालबाबुसँग पाँच वर्षअघिको त्यो 'क्रेज' बाँकी छैन। सर्वत्र 'पोट्रेट' गरिएको उनको 'सादा' छवि यतिबेला फुंग उडेको अवस्थामा छ।
उनको व्यक्तित्व ह्रासको सुरूआत २०७४ को चुनावलगत्तै भएको थियो। त्यो चुनावको हरेक भाषणमा लालबाबु आफैं चुनावका लागि आएको सहयोगको फेहरिस्त सुनाउँथे। उनका अनुसार स्वदेश र विदेशबाट आर्थिक सहयोग जुटेको थियो।
सहयोगको सूची सार्वजनिक गर्दै हिँडेर उनले पारदर्शी नेताका रूपमा पनि आफूलाई खडा गरे। निर्वाचनपछि भने खर्चका बारे मौन बसे। त्यो मौनताले उनको आलोचना सुरू भयो।
'त्यो बेला कम्तीमा डेढ करोड जति रकम उठेको हिसाब आएको थियो। त्यसमा उनले ६० लाख जति खर्च गरे,' लालबाबुको चुनावी अभियानमा सक्रिय रहेका विराटनगर निवासी रमेश अधिकारीले भने, 'बाँकी पैसाको खोजी भयो तर उनले कहिल्यै हिसाब देखाएनन्।'
बिस्तारै लालबाबुको आलोचनाको पारो चढेर यति उच्च भयो कि उनले 'साइकलमा पेट्रोल हालेको' भन्दै कटाक्ष हुन थाल्यो। सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोप पनि लाग्यो।
यति बेला एमाले कार्यकर्ताहरू नै लालबाबुको क्षयीकृत छविबारे खुलेर बोल्छन्।
'अघिल्लो चुनावसम्मको उहाँ (लालबाबु) को सादा छवि अहिले धमिलिएको सत्य हो,' मोरङकै एउटा क्षेत्रका एमाले उम्मेदवार भन्छन्, '६ नम्बर क्षेत्रमा उहाँको विकल्प भएन।'
२०७४ को चुनावमा मात्रै होइन, त्यसअघि देखि नै शेखरले 'कोइराला पारिवारिक विरासतको बल' मा राजनीतिक स्पेस पाएको भन्ने आरोप खेप्नु पर्यो।
लामो समय चिकित्सा पेसामा रहेका उनलाई कांग्रेसभित्र उक्त आरोपले पछ्याइरह्यो। कतिसम्म भने उनलाई कांग्रेसकै कार्यकर्ताहरू 'आफ्नै क्षेत्रमा कसै नचिन्ने र कसैलाई नचिन्ने' नेता भनेर कटाक्ष गर्थे।
पाँच वर्षयता शेखरले आफ्नो उक्त छवि बदलेका छन्। हिजो आफ्नै क्षेत्रका मान्छे नचिन्ने आरोप लागेका उनी अहिले कांग्रेसभित्र शीर्ष प्रतिपक्षी नेतामा गनिएका छन्।
२०७४ को चुनावमा पराजित हुनु शेखरका लागि राजनीतिक जीवनको 'टर्निङ प्वाइन्ट' मानिएको छ। त्यसयता उनले राजनीतिक सक्रियता मात्रै बढाएनन्, आफूलाई कांग्रेसको भावी नेताका रूपमा अघि सारेर देशव्यापी अभियान चलाए।
शेखरको निर्वाचन क्षेत्रका कांग्रेस कार्यकर्ता राजीव साह भन्छन्, 'उहाँ (शेखर) ले गरेको देश दौडाहा र संगठनमा बढाउँदै लगेको पकडले उहाँलाई बलियो नेताका रूपमा उभ्याएको छ।'
शेखर समर्थक कार्यकर्ता साहको टिप्पणी अनुसारको नतिजा कांग्रेसको चौधौं महाधिवेशनमा नै देखिएको थियो।
सभापति पदमा शेरबहादुर देउवालाई बलियो चुनौती दिएर शेखरले ४० प्रतिशत मत पाए।
उनले पार्टीमा मात्रै होइन, आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा पनि सक्रियता बढाएका छन्। हाल शेखरलाई त्यो पुरानो आरोप बल्झिने छैन भन्ने विश्वास छ। यो अवस्था उनका लागि चुनावमा विजय हासिल गर्न अनुकूल हुनेछ।
गत चुनावमा शेखरको छवि लालबाबुका लागि 'प्लस प्वाइन्ट' बनेझैं यसपटक लालबाबुको छवि शेखरका लागि 'प्लस प्वाइन्ट' बन्ने अनुमान छ।
संसदीय अनुभवका हिसाबले शेखरको तुलनामा लालबाबु अगाडि छन्। २०४८ सालमा मोरङ क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित उनी २०५१ सालको मध्यावधि निर्वाचनमा पारजित भए।
२०५६ मा फेरि निर्वाचित भए। समानुपातिकबाट पहिलो संविधान सभामा पुगे। २०७० मा पार्टीको टिकट पाएनन्। २०७४ मा मोरङ-६ बाट शेखरलाई पराजित गरे।
लालबाबु अब पाँचौं पटक संसद छिर्ने दाउमा छन्।
शेखर तेस्रोपटक संसद प्रवेश गर्ने दाउमा छन्। उनी एउटा उपनिर्वाचनसहित दुई पटक विजयी भए। प्रतिस्पर्धा भने चारपटक गरिसके।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा शेखर मोरङको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ७ मा विजयकुमार गच्छदारसँग पराजित भएका थिए।
त्यसबेला मधेशी जनअधिकार फोरममा रहेका विजयलाई २०७० मा सोही क्षेत्रमा शेखरले पराजित गरेका थिए। त्यसअघि २०६५ चैत मा भएको उपनिर्वाचनमा शेखरले सोही क्षेत्रमा फोरमका चुमनारायण तवदारलाई हराएका थिए।
यस्तो छ भोटको गणित
विराटनगर महानगरका सात वटा वडा, बुढीगंगा गाउँपालिकाका सातै वटा वडा र सुन्दर हरैंचा नगरपालिकाका ६ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर ६ मा कुल १ लाख २६ हजार ७६१ मतदाता छन्।
पछिल्लो स्थानीय तह निर्वाचनको वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले नै सबैभन्दा बढी मत पाएका छन्।
यस क्षेत्रमा वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले कुल २७ हजार ८६ र एमालेकाले २४ हजार ५५६ मत पाएका थिए।
एकीकृत माओवादीकाले ४ हजार ९९६, जनता समाजवादी पार्टी (जसपा) काले ३ हजार ९३९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) ले ३ हजार ११५, एकीकृत समाजवादीकाले २ हजार ३५५ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वडाध्यक्ष उम्मेदवारले ८९५ मत पाएका थिए।
स्थानीय चुनावसम्म सत्ता गठबन्धनमा रहेको जसपा अहिले एमाले नेतृत्वको गठबन्धनमा पुगेको छ। लोसपा सत्ता गठबन्धनमा छ।
यसरी गठबन्धनमा भएको परिवर्तनले पनि कांग्रेस नेतृत्वको सत्ता गठबन्धन गणितीय रूपमा बलियै अवस्थामा हुने अनुमान छ।
लोसपासहितको मतअनुसार यो क्षेत्रमा सत्ता गठबन्धनसँग ३५ हजार ३३२ मत छ। एमाले नेतृत्वको गठबन्धनमा राप्रपाको मतसहित ३१ हजार ६१० मत देखिन्छ। मोरङमा एमाले र राप्रपाका आआफ्ना उम्मेदवार छन्।
यसपटक २०७४ को समीकरणमा पनि पूरै बदलाव आएको छ। त्यस बेला लालबाबुलाई सघाएको एकीकृत माओवादी यसपटक शेखरलाई सघाउने अभियानमा छ। एमाले विभाजित भएको छ।
वाम गठबन्धन रहेकै बेला गत संसदीय निर्वाचनमा शेखर लालबाबुसँग झिनो मतान्तरले पराजित भएका थिए।
लालबाबु ३३ हजार ९४१ मतका साथ विजयी शेखर ६७५ मतले पराजित भएका थिए।
लालबाबु 'आफूले थालेका अधुरा योजनाहरू पूरा गर्न' चुनावी मैदानमा आएको बताइरहेका छन्।
शेखर 'संविधान जोगाउने र विकासका काम अघि बढाउने' नारा लिएर मतदातामाझ पुग्न थालेका छन्।
यसपटक यो क्षेत्रको चुनावी प्रतिस्पर्धा जनप्रतिनिधिको निरन्तरता कि परिवर्तन भन्ने मुद्दामा पनि केन्द्रित हुने देखिन्छ।
यही क्षेत्रका मतदाता रहेका औषधि व्यवसायी देशबन्धु ढकाल अहिले पनि लालबाबुकै पल्ला भारी देख्छन्।
उनी भन्छन्, 'कांग्रेसमा आन्तरिक किचलो उत्कर्षमा छ। एमाले एकताबद्ध छ। जसपाको मत थपिन्छ। मधेशी समुदायको भएका कारणले पनि लालबाबुलाई फाइदा हुनसक्छ।'
यही क्षेत्रका अर्का मतदाता सञ्जीव शर्मा शेखरको पल्ला भारी देख्छन्।
भन्छन्, 'गठबन्धन आफैंमा बलियो छ। एमाले उम्मेदवारको व्यक्तिगत छवि बिग्रेको छ। पार्टी फुटेको छ। यसको फाइदा शेखरलाई हुन्छ।'
कांग्रेसको संस्थापन पक्षका भनेर चिनिने रमेशजंग रायामाझी, शिव ढकाल, डिला संग्रौला लगायतका नेताहरू शेखरलाई रोक्ने प्रयासमा थिए। उनीहरू सफल भएनन्।
यही पंक्तिले शेखरलाई असहयोग गर्ने विश्वास एमाले नेताहरूको छ।
संस्थापन पक्षका नेताहरू चुनावी अभियानमा सक्रियतापूर्वक लागेका कारण एमालेको अपेक्षाले काम नगर्ने कांग्रेस कार्यकर्ताहरूको विश्वास छ।
मोरङमा एमाले र जसपाबीचको गठबन्धन पनि बलियो मानिएको छैन। यसले शेखरलाई लाभ हुने कांग्रेसजनको अनुमान छ।
मोरङमा गठबन्धनका क्रममा एमालेले जसपालाई धोका दिएको मानिएको छ। केपी ओली र उपेन्द्र यादवबीचको सहमति अनुसार क्षेत्र नम्बर ६ 'ख' जसपाको भागमा परेको थियो। त्यहाँ जसपाले राजेन्द्र गुप्तालाई उम्मेदवार बनाएको छ।
एमालेबाट क्षेत्र नम्बर ६ 'क' मा रीता न्यौपाने र 'ख' मा पर्शुराम बस्नेतले मनोनयन दर्ता गराएका छन्।
यसले एमाले र जसपाबीच संशय बढाएको छ।
सत्ता गठबन्धनले मोरङ ६ 'क' मा प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई र 'ख' मा प्रदेशका मन्त्री कांग्रेसका केदार कार्कीलाई उम्मेदवार बनाएको छ।
कार्कीको क्षेत्रमा एकीकृत समाजवादीका वसिम आलमले पनि उम्मेदारी दिएका छन्। सत्ता गठबन्धनका नेताहरू सहमति अनुसारकै उम्मेदारी कायम हुने बताउँदै छन्।