रुकुम पश्चिमको प्रदेशसभा तर्फ क्षेत्र नं. (ख) का लागि नेपाली कांग्रेसका जिल्ला सभापतिले दिएको उम्मेदवारी खारेज भएको छ।
पार्टी जिल्ला सभापति प्रेमप्रकाश वलीले निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उम्मेदवारी दर्ता गराएका थिए।
तर, उनको उम्मेदवारीविरूद्ध नेकपा माओवादी केन्द्रका नेताले बैंकिङ कसुरमा अदालतले तोकेको सजाय भुक्तान नगरेको भन्दै उजुरी दिएका थिए।
केही समय पहिले उच्च अदालत सुर्खेतले उक्त मुद्दामा वलीलाई झन्डै एक महिना जति काराबास सजाय तोकेको थियो।
जाहेरीकर्ता र उम्मेदवारी दिएका वली दुबैलाई आवश्यक प्रमाणसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिमले मंगलबार बेलुका दुबै पक्षलाई बोलाएको थियो।
माओवादी केन्द्रका प्रदेशसभा (ख) का उम्मेदवार राजकुमार शर्माले वलीविरूद्ध उक्त उजुरी सोमबार दिन लगाएका थिए।
दावी विरोधको उक्त उजुरी परेपछि छानबिन गरी निर्वाचन आयोगले वलीको उम्मेदवारी खारेज गरेको हो।
कांग्रेस नेता वलीमाथि बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने फैसला भएपनि उनले त्यो भुक्तान नगरेकाले हुँदा उम्मेदवार बन्न अयोग्य साबित निर्वाचन कार्यालयले गरेको सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले बताए।
गठबन्धनको भागवण्डा अनुसार यो प्रदेशसभा माओवादीकै भागमा परेको थियो।