२०६४ को पहिलो संविधान सभा निर्वाचनमा कास्की-२ बाट नेकपा (एमाले) का नेता रवीन्द्र अधिकारी निर्वाचित भए। उनलाई जिताउन रवीन्द्रका सिनियर श्रीनाथ बराल दिनरात खटिए। दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि रवीन्द्र जिताउन उसैगरी श्रीनाथ लागिपरे।
पर्यटन मन्त्री भएका रवीन्द्रको २०७५ फागुनमा हवाई दुर्घटनामा परी निधन भयो। त्यसपछिको उपनिर्वाचनमा पनि उनकी पत्नी विद्या भट्टराईलाई जिताउन श्रीनाथले फेरि साथ दिए। विद्यालाई राजनीतिमा फर्काउन जिल्लाबाट सर्वसम्मत उनको नाम उम्मेदवार सिफारिस गर्न पनि श्रीनाथको भूमिका थियो।
यसपालि अवस्था उल्टिएको छ। सधैँ एमाले उम्मेदवार जिताउन लागि परेका श्रीनाथ अहिले ५ दलीय गठबन्धनका तर्फबाट एमालेलाई हराउन आफैं उठेका छन्। तत्कालीन नेकपा तीन टुक्रामा विभाजित हुँदा विद्याविरूद्ध एमालेकै पूर्वनेता मैदानमा उत्रिएका हुन्।
माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) यतिबेला विद्याको विपक्षमा छ। तत्कालीन प्रतिस्पर्धी कांग्रेससहित पाँच दलीय गठबन्धनले एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथलाई विद्याविरूद्ध साझा उम्मेदवार बनाएका छन्।
त्यसो त एमाले केन्द्रीय सदस्य विद्या यसपालि प्रतिनिधि सभा उम्मेदवार बन्ने आकांक्षा राखेकी थिइनन्। उनले अध्यक्ष केपी ओलीलाई भेटेर आफू प्राज्ञिक क्षेत्रमै फर्कने र एमालेको राजनीतिमा पनि सक्रिय भइरहने प्रस्ताव गरेकी थिइन्। उनको प्रस्ताव अध्यक्ष ओलीले ठाडै अस्वीकार गरिदिए।
‘कास्कीमा अरू साथीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि अवसर दिनुपर्छ भनेर मैले अध्यक्षलाई भनेको हुँ,’ उनले भनिन्, ‘जिल्लामा पार्टीका साथीहरू र अध्यक्षले पनि तपाईं नै आउनुपर्छ भनेपछि मैले उम्मेदवारी दिएँ।’
यसअघि पनि उनले राजनीतिमा आउने व्यक्तिगत चाहना राखेकी थिइनन्। उनका श्रीमान् हेलिकप्टर दुर्घटनामा परेपछि उनलाई तत्कालीन नेकपाले उम्मेदवार उठाउने निर्णय गरेको थियो।
त्यतिबेला नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई उम्मेदवार बनाउन अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए। प्रधानमन्त्री बन्ने आकांक्षाले प्रतिनिधि सभा सदस्य बन्ने तीव्र चाहना राखेका गौतमले त्यतिबेला पोखरा आएर आफूले जित्न सक्छु कि सक्दैन भन्ने विश्लेषण गरेका थिए। आफूले हार्ने देखेपछि तत्कालीन नेकपाले विद्यालाई उम्मेदवार उठाएको थियो, एमाले कास्कीले पनि विद्यालाई नै उम्मेदवार बनाउन सर्वसम्मत एकल सिफारिस गरेको थियो।
नेकपा सचिवालयको निर्णय स्वीकारेर विद्याले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशाबाट विदा लिइन्। २०७६ मंसिर ६ गते भएको उपनिर्वाचनमा उम्मेदवारी दिइन्। उनले त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तरले पराजित गर्न सकिन्।
त्यो फराकिलो जित कायम राख्न यसपालि विद्यालाई सजिलो छैन। त्यतिबेला एमाले र माओवादी मिलेर बनेको शक्तिशाली नेकपा थियो। अहिले नेकपा फुटेर तीन चिरा परेको छ। त्यतिबेला विद्यालाई साथ दिएका नेता, कार्यकर्ता र मतदातासमेत अहिले विभाजित छन्।
रवीन्द्रले लगातार तीन पटक र उपनिर्वाचनमा विद्याले चुनाव जितेको कास्की-२ को विरासत जोगाउन यतिबेला एमालेलाई हम्मे पर्ने देखिन्छ। जसको छनक वैशाख ३० को स्थानीय निर्वाचनले पनि दिएको छ।
पोखरा महानगरको वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ रहेको उक्त क्षेत्रका ६ वटा वडामा कांग्रेस र ५ वटा वडाका वडाध्यक्ष एमाले उम्मेदवारले जितेका छन्। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार ८ मत पाएका छन् भने एमालेका वडाध्यक्ष उम्मेदवारले २१ हजार १०० मत पाएका थिए।
यस्तै, एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले २ हजार ५३, माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८, राप्रपाका वडाध्यक्ष उम्मेदवारले २ हजार ७९ र अन्य उम्मेदवारले ७५० मत पाएका थिए। अहिले ५ दलीय गठबन्धनमा आवद्ध दलहरूले उक्त क्षेत्रका वडाध्यक्षमा पाएको मत जोड्दा विद्या १ हजार मतले पछाडि छन्।
एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथले वैशाख ३० मा गठबन्धनका वडाध्यक्षले पाएका मत मात्र जोगाउन सके पनि १ हजार मतान्तरले जित्ने देखिन्छ। एमाले नेता/कार्यकर्ता भने यसपालिको मत परिणाम पनि स्थानीय चुनावको जस्तै आउने कुरा मान्न तयार छैनन्।
एमालेभित्र अन्तर्घात भएकाले गठबन्धनका पक्षमा धेरै मत देखिएको पुरानै तर्क उनीहरू दोहोर्याउँदै आएका छन्।
विद्याको व्यक्तित्व र संसदमा खेल्न सक्ने भूमिकाले पनि मतदातालाई आकर्षण गर्ने एमालेको तर्क छ।
यता, गठबन्धनका उम्मेदवार श्रीनाथ अत्याधिक बहुमतले विजयी हुने विश्वास राखेका छन्। एमालेका केन्द्रीय सदस्यसम्म पुगेका उनले पार्टीभित्रका अन्तरविरोधमा सधैँ माधव नेपाललाई साथ दिए। ओली पक्षको हालीमुहाली रहेको कास्कीमा माधवलाई साथ दिएकै कारण आफूले कहिल्यै अवसर नपाएको उनले बताए।
‘एमालेमा मैले ४० वर्ष राजनीति गरें, सधैँ उम्मेदवार सिफारिस हुन्थें तर टिकट पाइनँ,’ उनले सेतोपाटीलाई भने, ‘माधव नेपाललाई साथ दिएकै कारण एमालेमा मेरो मूल्यांकन भएन।’
जिल्ला विकास समिति कास्कीका उपसभापति भइसकेका श्रीनाथ कास्कीलाई एमालेको किल्ला बनाउन आफ्नो पनि भूमिका भएको बताए। यस पटक कतिपय एमाले कार्यकर्ताले पनि आफूलाई मतदान गर्ने उनको दाबी छ।
माओवादी र एकीकृत समाजवादीसहित कांग्रेसलगायत दल पनि आफ्नो पक्षमा रहेकाले चुनाव जित्न गाह्रो नपर्ने श्रीनाथले तर्क गरे।
‘म पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुँ, एमालेले कसलाई उम्मेदवार उठायो भन्ने मेरो विषय भएन,’ उनले भने, ‘विद्याप्रति मेरो सद्भाव छ, यसपटक मैले भारी मतले जित्छु।’
एमालेनिकट अनेरास्ववियुको केन्द्रीय सचिवसम्म पुगेकी विद्या २०५५ सालमा रवीन्द्रसँग विवाह गरेपछि भने प्रत्यक्ष राजनीतिबाट अलग भइन्। एमालेका भातृ संस्थाहरूमा आवद्ध भए पनि उनले प्रत्यक्ष राजनीतिमा फर्किएको २०७६ को उपनिर्वाचनदेखि हो। उनले पनि कास्की- २ बाट आफूले विगतमा भन्दा धेरै मतान्तरसहित चुनाव जित्ने दाबी गरिन्।
‘म पोखरेली जनताको साझा उम्मेदवार हुँ, अहिले पनि एमालेको शक्ति क्षीण भएको छैन,’ उनले सेतोपाटीसँग भनिन्, ‘पार्टी भनेको समयले निर्माण गर्ने कुरा हो, व्यक्ति कोही यता, कोही उता भइरहन्छन्।’
एमाले फुटेर बनेको एकीकृत समाजवादीका नेता श्रीनाथसँगको प्रतिस्पर्धालाई उनले स्वभाविक मानेकी छन्। राजनीतिमा संगठित हुने क्रममा केही व्यक्ति अलग ढंगले जान खोज्नु गलत नभएको उनले बताइन्।
‘राजनीतिमा अलग ढंगले पनि संगठित हुन सकिन्छ, पार्टीमा आउने, जाने क्रम चलिरहन्छ,’ उनले भनिन्, ‘हामी स्वस्थ प्रतिस्पर्धामा छौं।’