भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले देशको मुद्रा भारतीय रुपैयाँमा हिन्दुहरूका देवी-देवता लक्ष्मी र गणेशको फोटो राख्नु पर्ने बताएका छन्।
एनडिटिभीका अनुसार बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्वजनिक रूपमा सम्बोधन गर्दै आम आद्मी पार्टीका प्रमुखसमेत रहेका केजरीवालले भारतीय रुपैयाँका नयाँ नोटमा एकातिर महात्मा गान्धी र अर्कातिर लक्ष्मी र गणेशको फोटो राख्नुपर्ने बताएका हुन्।
आफूले यसबारेमा प्रधानमन्त्री मोदीलाई केही दिनमा औपचारिक प्रस्ताव नै राख्ने उनले जानकारी दिएका छन्।
अहिले भारतीय रुपैयाँमा महात्मा गान्धीको फोटो अंकित हुन्छ। पछिल्लो समय भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर हुँदै गइरहेको छ। भारतमा विदेशी मुद्राको सञ्चिति पनि पछिल्लो समय घट्दै गइरहेको छ।
भारतीय मुद्रालाई मजबुद् बनाउन भगवानको शक्ति पनि चाहिने केजरीवालको भनाइ छ।
कहिलेकाहीँ मान्छेले गरेका प्रयासहरूमा देवी र भगवानको आशिर्वाद नहुँदा फलदायी हुन सक्ने भन्दै केजरीवालले रुपैयाँमा हिन्दु देवी देवताको तस्बिर राख्न प्रस्ताव गरेका हुन्।
इन्डोनेसिया मुस्लिमबहुल मुलुक भए पनि त्यहाँको मुद्रामा गणेशको तस्बिर राखिएको उल्लेख गर्दै केजरीवालले भनेका छन्- इन्डोनेसियाले त्यो काम गर्न सक्छ भने हामी किन सक्दैनौं? नयाँ नोटमा देवी देवताको फोटो छाप्न सकिन्छ।