पातीहाल्ने र रिगताल क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रूकुमको सीमाना हो। मध्यपहाडी लोकमार्गमा पर्ने यी क्षेत्र अहिले आन्तरिक पर्यटकको रोजाइमा छन्।
स्थानीय सरकार आएपछि बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रूकुमको भुमे गाउँपालिकाले यहाँका पर्यटकीय क्षेत्रलाई आ-आफ्नो कब्जामा पर्न थालेपछि विवाद उत्पन्न भएको छ।
पाँच वर्ष अगाडि भूमे गाउँपालिकाले बागलुङको भू-भागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि उत्पन्न भएको विवाद अझै सुल्झिएको छैन।
सरोकारवालाले विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन। पातीहाल्ने दुई जिल्ला मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशकै सीमा क्षेत्र पनि हो। दुवै जिल्लाका सरोकारवालाबीच पटक/पटक सहमति जुटाउने प्रयास विगतमा भए तर त्यसले कुनै सहमति नजुटेपछि विवाद कायमै रहेको हो। दुई वर्ष अगाडि सीमा विवाद टुङ्ग्याउन कार्यदलसमेत बनेको थियो। कार्यदललेसमेत विवाद टुंग्याउन सकेन।
अहिले पनि भूमे गाउँपालिकाले बागलुङको भू-भागतिर ल्याउने गरी सडक निर्माण गरी रहेको निसीखोलाका स्थानीयको भनाइ छ।
गत वर्षदेखि नै भूमे गाउँपालिकाले पुनः बागलुङमा पर्ने रिगा तालसम्म जोड्न सडक निर्माण गर्न थालेपछि विवाद थप बढेको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हिमबहादुर बुढामगरले बताए।
उनले भूमे गाउँपालिका–१ ले आफू खुसी अर्काको भू-भागमा आएर पूर्वाधार निर्माण गरेको भन्दै निसीखोला गाउँपालिका–६ ले उक्त निर्माण कार्य तत्काल रोक्न पत्र पठाएको बताए।
उनले विवाद नसुल्झेसम्म कुनै पनि पालिकाले यस क्षेत्रमा विकास निर्माण नगर्ने सहमति गरे पनि भूमे गाउँपालिकाले आफू खुसी सडक निर्माण गर्न थालेको बताउँछन्।
'भूमे गाउँपालिकाले २०७५ सालमा हाम्रो क्षेत्रमा आएर प्रवेशद्वार नबनाएको भए यो विवाद सिर्जना हुने थिएन, प्रवेशद्वार निर्माणलाई रोकियो तर विवाद सुरू भयो, अहिले पनि उहाँहरूले हाम्रो क्षेत्रमा आएर पूर्वाधार निर्माण गरी आफ्नो भएको दाबी गर्दै हुनुहुन्छ', अध्यक्ष बुढामगरले भने, 'विवाद नरोकिएसम्म यस क्षेत्रमा कुनै पनि पालिकाले विकास निर्माणका काम नगर्ने भन्ने सहमति गर्यौं तर उहाँहरूले अहिले सडक बनाउँदै हुनुहुन्छ।'
प्रवेशद्वार बनाउने बेला निसीखोलाका स्थानीयले संरचना निर्माण गर्न रोकेका थिए।
भूमे गाउँपालिकाका-१ का वडाध्यक्ष मनकाजी पुन मगर अहिले निर्माण भइरहेको सडक आफ्नै क्षेत्रमा भएको दाबी गर्छन्। अध्यक्ष पुन मगरले उक्त सडक पर्यटन प्रवर्द्धनका लागि निर्माण गर्न थालिएको बताए। यो सडक मध्यपहाडी लोकमार्गदेखि कोइपाडाँडासम्म जोड्ने उनी बताउँछन्।
उनले नापी विभागले जारी गरेको आधिकारिक नक्सा हेर्ने र सोही आधारमा विवाद टुंग्याउने भन्दै यस अगाडि गुगल नक्सामार्फत् विवाद मिलाउने कोसिस भएको जनाउँदै त्यो नक्सा आधिकारिक नभएको बताउँछन्।
अध्यक्ष पुन मगर भन्छन्, 'अहिले हामीले निर्माण गर्न थालिएको सडक हाम्रै भू-भागमा पर्छ, यो सडक पर्यटन प्रवर्द्धनका लागि निर्माण गर्न थालेका हौं, लोकमार्गदेखि कोइपाडाँडासम्म जोड्ने गरी सडक निर्माण भएको छ।
उनी अगाडि भन्छन्, 'नापी विभागको आधिकारिक नक्सा लिएर हेर्ने त्यसपछि हामीले दाबी गरेको क्षेत्र जता परे पनि हामी मान्न तयार हुन्छौं, हामीलाई लाग्छ, यो क्षेत्र हाम्रैमा पर्छ।'
निसीखोला गाउँपालिका–६ का स्थानीय टेकबहादुर घर्तीले रिग ताल र पाती हाल्ने क्षेत्र पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएको हुँदा भूमे गाउँपालिकाले आँखा लगाएको जानकारी दिए।
उनले यो क्षेत्र निसीखोलाका पाका पुर्खा सयौं वर्षदेखि चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएको बताए। घर्तीले रिगतालमा पछिल्लो समय सयौं पर्यटक आउन थालेपछि रूकुमले आफ्नो दाबी गरेको बताउँछन्।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले सीमा विवादका बारेमा जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी र प्रदेश सांसदहरू, निर्वतमान गाउँपालिका अध्यक्ष, वडा अध्यक्षसँग पटक/पटक छलफल भए पनि यसको समाधान हुन नसकेको बताए।
उनले प्रदेश सरकारलाई यस विषयमा जानकारी गराएपछि तदारूकता नदेखाएको बताउँछन्।
'यो विवाद मिलाउन हामीले निकै प्रयास गर्यौं सकिएन, यतिका वर्ष भयो, प्रदेशमा पनि जानकारी गरायौं, तर कुनै सुनुवाइ नै भएन, सांसदहरू पनि आएर यहाँ विवाद मिलाउने कोसिस गर्नुभयो तर सक्नुभएन', उनले भने, 'अब तिहार पछाडि अथवा चुनाव पछाडि जसरी पनि यो टुङ्ग्याउनु पर्नेछ, विवादले ठूलो रूप लियो भने यहाँ ठूलो घटना हुनसक्छ, घटना हुन नदिन सहज रूपमा विवाद मिलानका लागि हामी फेरि पनि जुट्नेछौं।'
मध्यपहाडी लोकमार्गले दुई जिल्ला नजोडिँदा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए। यो ठाउँ सुनसान थियो। अहिले पाती हाल्नेमा घर भवन निर्माण गरी व्यवसाय सञ्चालन हुँदै आएको छ।
यस क्षेत्रमा दैनिक दर्जनौं आन्तरिक पर्यटक पुग्ने गर्दछन्। आफ्नो भूमि आफूले नछोड्ने निसीखोलाका स्थानीयको भनाइ छ।