नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्रमा उक्त प्रतिबद्धताका लागि विभिन्न सिद्धान्त र नीति अवलम्बन गर्ने जनाएको छ।
कांग्रेसले शून्य कार्बन उत्सर्जनका लागि हरित तथा उत्पादनशील प्रकृतिको आर्थिक विकास, वन क्षेत्रको संरक्षण, कार्बन क्रेडिटबाट आर्थिक उपार्जन, पर्यापर्यटन, अर्ग्यानिक कृषि प्रणाली र खाद्य सुरक्षा, वनमा आधारित उद्योग व्यवसाय र जैविक विविधताको संरक्षणमा जोड दिने उल्लेख गरेको छ।
यसैगरी स्वच्छ ऊर्जा प्रवर्दन, वातावरणीय सुरक्षा उपार्जनको अवलम्बन र प्रत्याभूतिमा आधारित प्रभाव अध्ययन गरेर मात्र भौतिक पूर्वाधार विकास तथा जलवायुजन्य जोखिमबाट भएको हानी नोक्सानीको आकलन गर्ने क्षमताको विकास गर्ने सङ्कल्पपत्रमा उल्लेख छ।
प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सङ्कल्पपत्र सार्वजनिक गरेका हुन्।
नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावारणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरे पनि जलवायु परिवर्तनले नयाँ जोखिम सिर्जना गरेको छ।
जलवायु अनुकूलन र कार्बन सूचीकरणका नीति र कार्यक्रमलाई अब सबै तह र सरोकारवालाबीच समन्वय गर्दै मूल प्रवाहीकरण गर्नुपर्ने संकल्पपत्र उल्लेख छ।
जलवायु परिवर्तनका जोखिमबाट जीवन सुरक्षाका लागि पूर्वसूचना प्रणाली, भूगोलअनुसार जलवायु अनुसन्धान केन्द्रको स्थापना, ग्रामीण क्षेत्रमा स्थानीय समुदायको इकोसिस्टममा आधारित अनुकूलन क्षमताको विकास तथा वातावरणीय सेवाको भुक्तानी गर्ने संयन्त्रजस्ता विषयमा थप पहल लिइने संकल्पपत्रमा जनाइएको छ।