काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही दिनअघि एक सार्वजनिक समारोहमा आफ्नो पदीय मर्यादाविपरीत जनता भड्काउने भाषण गरेका छन्।
नेपाल सम्बत ११४३ को अवसरमा आयोजित कार्यक्रममा उनले सेनाको सुरक्षा घेरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको एउटा खण्डमा धावा बोल्न जनता उत्तेजित पार्दै सार्वजनिक भाषण गरेका थिए।
बालेनको भाषण सुनेर उत्तेजित भिड विमानस्थलको उक्त खण्डमा हमला गर्न कस्सिसकेको थियो। त्यही बेला सम्पदा अभियन्ता याद्दवलाल कायस्थले आफ्नो सुझबुझ प्रयोग गर्दै भिड थामथुम पारेका थिए।
यो गत बुधबार म्ह पूजाको घटना हो। त्यस दिन सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुला नभएपछि मेयर शाहले नयाँ वर्ष मनाउन जम्मा भएको भिडलाई उत्तेजित पार्दै चौबीसै घन्टा सेनाको सुरक्षा घेरामा रहने उक्त ढोका फोड्न उक्साएका थिए।
'यो नेपाल सम्बत सुरू भएको ठाउँ हो। यो विमानस्थलको ढोका काठमाडौं महानगरपालिका अन्तर्गत पर्दैन। संस्कृति, पर्यटन मन्त्रालयको क्यान (नागरिक उड्डयन प्राधिकरण) अन्तर्गत पर्छ। क्यानमा विभिन्न चरणमा कुरा गर्दागर्दै पनि यहाँ ढोका किन लगाइयो?' मेयर बालेनले उक्त समारोहलाई सम्बोधन गर्दै भने, 'वसन्तपुरमा आज नेपाल सम्बतसम्बन्धी कार्यक्रम छ। तर त्यो कार्यक्रम त्यहाँ होइन, यहाँ गर्नुले धेरै अर्थ राख्छ।'
यति भनेपछि उनले अगाडि भने, 'यहाँ यतिका मान्छे आउनुभएको छ। अघि नै यो ढोका भत्काउनुपर्ने हो! अहिलेसम्म किन नभत्काउनुभएको? अहिले नै यो ढोका भत्काइदिम्!'
बालेनको यस्तो भाषणमा उत्तेजित भिडलाई सम्पदा अभियन्ता याद्दवलाल कायस्थले रोके। अरू बेला सम्पदा संरक्षण अभियान क्रममा सरकारी निकायहरूसँग जुध्न अघि सर्ने कायस्थ विमानस्थलको उक्त घटनामा संयमित देखिन्थे।
बालेनले भिड उक्साएपछि कायस्थले हतारहतार भिडलाई रोक्दै भने, 'होइन होइन साथी हो, यो अन्तर्राष्ट्रिय विमानस्थल हो। नेपाल सम्बतको दिन हामीले हाम्रो सभ्यताको परिचय दिने हो। अशान्ति मच्चाउने होइन।'
कायस्थले यति भनेपछि बल्ल भिड शान्त भएको थियो। उनले बेलैमा भिड नसम्हालेका भए मेयर बालेनले लगभग विमानस्थलको ढोकामा धावा बोल्ने सुर कसिसकेका थिए। त्यस्तो भइदिएको भए र उक्त ढोकामाथि हमलाको स्थिति आएको भए सेना वा सुरक्षा निकायले बल प्रयोग गर्नुपर्ने थियो। त्यो अवस्थामा अप्रिय घटना हुनसक्थ्यो।
यसबारे हामीले कायस्थसँग कुरा गर्दा उनले बालेनको व्यवहारलाई गैरजिम्मेवारपूर्ण भनेका छन्।
'बालेनले जे बोले, त्यो एकदमै गैरजिम्मेवार र तुच्छ अभिव्यक्ति हो। महानगरको उद्देश्य नै द्वन्द्व मच्चाउने र तोडफोड गर्ने देखिन्छ,' उनले भने, 'त्यो दिन सेनाले हामीलाई बन्दुक तेर्स्याएर बसेको थियो। हामी त नयाँ वर्ष मनाउन त्यहाँ गएका थियौं, कुनै लडाइँ झगडा गर्न गएका थिएनौं। हामी तोडफोड गरेर होइन, समन्वय गरेर अगाडि बढ्न चाहन्छौं।'
कायस्थ तिनै व्यक्ति हुन् जसको नाम हिति (ढुंगेधारा) संरक्षणसँग जोडिएर आउँछ। सिनामंगलको जुन ठाउँमा जान मेयर बालेन भिडलाई उक्साउँदै थिए, त्यसको संरक्षणमा लामो समयदेखि काम गरेका व्यक्ति पनि कायस्थ नै हुन्।
आखिर त्यो ठाउँमा के छ?
हामी करिब डेढ वर्षअघि सेनाको अनुमति लिएर उनै कायस्थसँग त्यो ठाउँ निरीक्षण गर्न गएका थियौं। त्यहाँभित्र पहिले ठूलो शिला थियो जहाँ नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वाले ऋणमोचन गरेको भनाइ छ। त्यहीँ शंखधरको शालिक पनि थियो। त्यो शालिक अहिले पशुपतिमा जीर्ण अवस्थामा राखिएको स्थानीय बताउँछन्।
नेपाल भाषामा यो ठाउँलाई शिलाःमुग भनिन्छ। यसको अर्थ 'सिमानाको ढुंगा' भन्ने बुझिन्छ। यसलाई काठमाडौं, भक्तपुर र ललितपुरको सिमाना अर्थात् जिरो किलो पनि भनिन्छ। अहिले जुन ठाउँमा धावनमार्ग छ, त्यहीँ यो शिला थियो। करिब ५०–६० वर्षअघि राजा महेन्द्रले यहाँ एयरपोर्ट बनाउने भएपछि कोरियाका कामदारहरू ल्याइ डोजर चलाएर शिला झिक्न खोजियो। करिब १२–१३ फिटको शिला सबै बाहिर निस्केन। ७–८ फिट टुक्रिएको शिला बेवारिसे अवस्थामा एकछेउ फालियो। बाँकी त्यहीँ पुरेर रनवे बिस्तार भयो।
करिब ४० वर्षअघि स्थानीयले त्यहाँको शिलालाई महादेव मान्दै पूजा गर्न थाले। यसैलाई अहिले सिनामंगल मन्दिर भनिन्छ। शिलालाई तामाको चारमुखे महादेवले छोपेर संरक्षण गरिएको छ।
अहिले जुन ठाउँमा एयरपोर्ट छ, त्यो कुनै समय गौचरन थियो। विशाल चउरमा एकाएक एयरपोर्ट बन्ने भएपछि धेरैथोक परिवर्तन भए। त्यहाँको शिला, विभिन्न मन्दिर एवं मान्छेका घर–जग्गासमेतको स्थान परिवर्तन भयो। धावनमार्गभन्दा केही तल पुरानो पाटी र ढुंगेधारा अझै देख्न सकिन्छ। शंखधरले ऋण मुक्त गर्नुअघि त्यहीँको ढुंगेधारामा नुहाएको पनि स्थानीय विश्वास राख्छन्।
पाटीलाई महेन्द्र फल्चा (पाटी) भनिन्छ। राजा महेन्द्रले २०११ सालमा यसलाई जिर्णोद्धार गरेका थिए। वरिपरि महेन्द्रको पालाका इँटाहरू पनि छन्। त्यस वरिपरि दुई हिति भएको स्थानीयले बताएका थिए। एक ठाउँमा पोखरीजस्तो अवशेष बाँकी नै छ। अर्को भागमा भने हितिको डोबधरि बाँकी थिएन।
यही बाटो हुँदै पहिले भक्तपुरबाट बानेश्वर, डिल्लीबजार, मैतिदेवी हुँदै रत्नपार्क जाने बस लाग्थ्यो। यहाँबाट नवदुर्गा, अन्नपूर्ण भन्ने बस चल्थ्यो। स्थानीयका अनुसार २०२६–२७ सालतिर दक्षिण कोरियालाई यहाँ रनवे विस्तार गर्ने टेन्डर पर्यो। अनि विभिन्न ठाउँबाट माटो ल्याएर समथर बनाई रनवे बनाइयो।
द्वन्द्वकाल अघिसम्म स्थानीयहरू विमानस्थलस्थित त्यो पाटीछेउ सजिलै छिर्न पाउँथे। उनीहरू वस्तुभाउ चराउँथे। त्यहाँ बस्ने, भोज लगाउने, रात बिताउनेजस्ता गतिविधि सामान्य थियो। जब द्वन्द्वकाल सुरू भयो, सेना बसेर पहरा दिन थाले। त्यहाँ तारबार लगाइयो।
अहिले त्यो ठाउँ त्यसै छ। विमानस्थलको कुनै प्रयोजनका लागि पनि उपयोग नभएकाले स्थानीयले करिब एक रोपनी १३ आनामा फैलिएको उक्त ठाउँमा हकदाबी गरेका छन्। त्यहाँको ऐतिहासिक विषयको खोजी, उत्खनन र संरक्षण गर्दै पर्यटकीय स्थल बनाउनुपर्ने माग राखेका हुन्।
हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीसँग त्यति बेला कुरा गर्दा त्यो ठाउँ 'एयर साइड' भित्र पर्ने भएकाले स्थानीयलाई फिर्ता गर्न नमिल्ने बताएका थिए।
'अहिले हवाईजहाज पार्किङका लागि ठूलो क्षेत्र नभएकाले जहाजहरू आकाशमै केही समय होल्ड गरेर बस्नुपर्ने अवस्था छ, जस कारण एयर–ट्राफिक बढिरहेको हुन्छ। त्यसको समाधानका रूपमा त्यो क्षेत्रमा पार्किङ बनाउने गुरूयोजना छ,' उनले भनेका थिए, 'हामीले पहिल्यै किनेको र विमानस्थलभित्र परिसकेकाले बाहिरको मान्छेका लागि खोल्ने कुरै आउँदैन।'
त्यहाँभित्र रहेको पाटी र अन्य सम्पदा संरक्षण गर्न त्यसलाई अन्य ठाउँमा सार्नुको विकल्प नरहेको उनले बताएका थिए।
कायस्थले भने त्यो ठाउँमा पार्क बनाउने र त्यहाँ मानव आकारको शंखधर साख्वाको सुनको जलप राखेर मूर्ति बनाउने उद्देश्य रहेको बताएका छन्।
भिडिओ सौजन्यः नेपाल पुकार