पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सरकारले आफ्नो पार्टी तेहरिक–ए–इन्साफ र देशको सेनाबीच झगडा गराउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
पञ्जाबको गुजरनवाला सहरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकारले युद्ध चाहिरहेको बताएका हुन्।
देशमा वास्तविक स्वतन्त्रता ल्याउन भन्दै इमरान खान लाहोरदेखि इस्लामावादसम्म लङ मार्च गरिरहेका छन्।
उनले आफ्नो सम्बोधनमा निष्पक्ष र स्वतन्त्र निर्वाचनबिना वास्तविक स्वतन्त्रता सम्भव नहुने जिकिरसमेत गरेका छन्।
आफ्ना राजनीतिक विपक्षीमाथि कडा भाषण गर्दै इमरानले गएराति सरकारले नै आफ्नो पार्टी र सेनाबीच युद्ध चाहेको बताएका हुन्।
‘सरकारले सेना र तेहरिक-ए-इन्साफबीच युद्ध सुरू गर्न चाहेको छ’, उनले प्रधानमन्त्री नवाज शरीफलाई चुनौती दिँदै भने, ‘म तपाईँलाई चुनौती दिन्छु कि, तपाईँको सिटबाट हराएरै छोड्नेछु।’
यस्तै पाकिस्तान पिपुल्स पार्टीका नेता आसिफ अली जर्दारीलाई चुनौती दिँदै आफू चाँडै सिन्ध पुग्ने भएकाले त्यसको तयारी गर्न सुझावसमेत दिएका छन्।
‘जरदारी ध्यान दिएर सुन्नुहोस्, म चाँडै सिन्ध आउँदैछु,’ इमरानले भने।
सत्ताबाट हटाइएपछि इमरान खान र उनको पार्टीले पाकिस्तानी सेनालाई लिएर निकै आक्रामक अडान लिइरहेका छन्।
बिहीबार पाकिस्तानको खुफिया एजेन्सी आईएसआईका प्रमुख लेफ्टिनेन्ट जनरल नदीम अहमद अन्जुमले मार्च महिनामा इमरान सरकारले सेना प्रमुख बाजवालाई प्रस्ताव राखेको भन्दै उनको प्रस्तावमा देशको हितका लागि जनरल बाजवाले मौन बसेको स्पष्ट पारेका थिए।