उत्तर कोरियाले बुधबार बिहान एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।
कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी उत्तर कोरियाले दक्षिण कोरियातर्फ क्षेप्यास्त्र प्रहार गरेको हो।
स्थानीय समय अनुसार बिहान ९ बजेतिर प्योङयाङले कुल तीन वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्रहरू उसको पूर्वी तटतर्फ प्रहार गरेको थियो।
छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र दक्षिण कोरियाली टापु उलुङ्डो नजिकै खस्दा त्यस टापुमा हवाई हमलाको चेतावनी दिने साइरनसमेत बजेको थियो।
उक्त सानो टापुका बासिन्दाहरूलाई भूमिगत आश्रयस्थलमा जान भनिएको छ।
दक्षिण कोरियाली अधिकारीहरूले तत्कालै ती प्रहारको निन्दा गरेका छन्।
शीर्ष दक्षिण कोरियाली अधिकारी केंग शिन-चुलले उत्तर कोरियाबाट प्रहार गरिएको क्षेप्यास्त्र अस्वीकार्य भएको बताएका छन्।
यसैबीच राष्ट्रपति युन शुक-योलले राष्ट्र सुरक्षा बैठकसमेत बोलाएका छन्।
उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रहार गर्नुअघि दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको वायु सेना अभ्यास रोक्न भनेको थियो।
उत्तर कोरियाले अभ्यासहरूपछि शक्तिशाली जवाफसमेत दिइने धम्की दिएको थियो।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक-युलले उत्तर कोरियाको आक्रामणको छिट्टै जवाफ दिइने बताएका छन्।
उनले दक्षिण कोरिया र अमेरिकाबीचको सम्बन्ध तोड्ने कुनै पनि प्रयास सफल नहुने बताए।
उनले आफ्नो देश सियोलमा ह्यालोविनको समयमा धेरै युवाहरूको मृत्युबाट गहिरो दुखमा रहेको भन्दै यस्तो बेला उत्तर कोरियाले आफ्नो वास्तविक रूप देखाएको बताए।
दक्षिण कोरियाली अधिकारीहरूका अनुसार बुधबार बिहान प्योङयाङले कम्तीमा १० वटा क्षेप्यास्त्रहरू पूर्वी तटतर्फ प्रहार गरेको थियो।