अमेरिकामा संसदीय चुनाव भइरहेको छ। मतदाताहरू मुख्यगरी चार अपेक्षाका साथ मतदानमा सहभागी भइरहेका न्युयोर्क टाइम्सले जनाएको छ।
उनीहरूका अपेक्षा गर्भपतनको अधिकार, महँगी तथा अपराध न्यूनीकरण र सुदृढ लोकतन्त्र छन्।
प्रतिनिधि सभाको ४ सय ३५ र सिनेटको एक सय सिटका लागि मतदान भइरहेको छ। अमेरिकाको निर्वाचनमा ६ वटा राज्य 'ब्याटल ग्राउन्ड'का रूपमा परिचित छन्।
यो निर्वाचनमा रिपब्लिकनले बहुमत ल्याउने सर्वेक्षणहरूको दाबी छ। सिनेटमा बहुमतका निम्ति पेन्सिलभेनिया एरिजोना र जर्जिया राज्य निर्णायक छन्।
जर्जियामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेमा त्यहाँ डिसेम्बर ६ मा फेरि अर्को निर्वाचन हुनेछ। जनवरी ३ २०२३ मा नयाँ संसदको बैठक तय भएको छ।
पाँच आधारले डेमोक्र्याटका उम्मेदवारलाई यसपालिको चुनाव गाह्रो रहेको सिएनएनले उल्लेख गरेको छ।
१. बाइडेनको लोकप्रियता खस्किनु
सिएनएनले बाइडेनको लोकप्रियता खस्किएका कारणले चुनावी परिणाममा असर पुग्ने लेखेको छ। सेप्टेम्बर र अक्टोबरमा गरिएका सर्वेक्षणअनुसार ४६ प्रतिशतले मात्रै बाइडेनलाई मन पराएका थिए। अहिले त्यो संख्या घटेर ४२ प्रतिशत पुगेको छ। यता १७ प्रतिशतले मात्रै बाइडेनको कामलाई अनुमोदन गरेका छन् भने ४७ प्रतिशतले असन्तुष्टि जनाएका छन्।
२. राष्ट्रिय समस्या समाधानमा असफल
मतदाताहरूले बाइडेन प्रशासन राष्ट्रिय प्राथमिकता तय गरेर समस्या समाधानमा असफल भएको बताउन थालेका छन्। सर्वेक्षणमा सहभागीमध्ये ३९ प्रतिशतले मात्रै बाइडेनको प्राथमिकता सही रहेको भन्दै समर्थन जनाएका थिए। ६१ प्रतिशतले भने बाइडेन प्रशासनप्रति असन्तुष्टि जनाएका हुन्। सन् २०१८ को चुनावमा सिएनएनले सर्वेक्षण गर्दा ४० प्रतिशत मतदाताले ट्रम्पका प्राथमिकता सही रहेको मत जाहेर गरेका थिए।
३. अर्थतन्त्रको स्थितिमा मतदाताको असन्तुष्टl
बाइडेन प्रशासनले मुलुकको अर्थतन्त्रलाई सही दिशामा लैजान नसकेको भन्दै आलोचना गरेका छन्। सर्वेक्षणमा सहभागीमध्ये ५१ प्रतिशतले अर्थतन्त्र सुधारकलाई आफ्नो मत जाने बताएका छन्। ७१ प्रतिशत मतदाताले आफ्नो निर्वाचन क्षेत्रमा रिपब्लिकनका उम्मेदवारलाई मतदान गर्ने बताएका छन्। पेट्रोलियम पदार्थको भाउ महंगिएर गरिबलाई मर्का पर्दासमेत बाइडेन प्रशासनले केही गर्न नसकेको भन्दै रिपब्लिकनले चुनावी एजेन्डा बनाइरहेको छ।
४. विकल्पको पक्षमा ७२ प्रतिशत मतदाता
सिएनएनको सर्वेक्षणम सहभागीमध्ये ७२ प्रतिशत मतदाताले विकल्प खोज्नुपर्ने बताएका छन्। २८ प्रतिशतले मात्रै बाइडेन प्रशासन ठीकै चलिरहेको बताएका छन्। यसले मतदाताहरू विकल्पको पक्षमा रहेको संकेत गर्छ। ह्वाइट हाउस चलाउने डेमोक्र्याटविरूद्धका असन्तुष्टिका स्वरहरू रिपब्लिकनका निम्ति फाइदाजनक हुनसक्छ।
५. आर्थिक मन्दीको त्रास
७५ प्रतिशत मतदाताले मुलुकमा आर्थिक मन्दी आउन सक्ने चिन्ता व्यक्त गरेका छन्। आर्थिक मन्दीका विषयमा बहस भइरहे पनि मतदाताहरूले यस विषयलाई कसरी लिइरहेका छन् भन्नेमा वर्तमान प्रशासनले चासो लिएको देखिँदैन।
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स ४३५ सदस्यीय छ। उनीहरूको कार्यकाल २ वर्षको हुन्छ। अमेरिकामा सत्तारूढ दल संसदीय चुनावमा पछि पर्ने ट्रेन्ड छ। सन् २०१८ को चुनावमा डेमोक्र्याटले २ सय ३५ सिट जित्दै बहुमत ल्याएको थियो। त्यसबेला रिपब्लिकनले १ सय ९९ सिट जितेको थियो। सन् २०२० मा राष्ट्रपति डोनाल्ड ट्रम्पको अलोकप्रियताको कारण डेमोक्र्याटको सिट अझै बढ्ने आँकलन गरिए पनि त्यस बेला डेमोक्र्याटले २ सय २२ सिट जित्दै बहुमत सुनिश्चित गर्यो। रिपब्लिकनले २ सय १३ सिट जितेको थियो।
डेमोक्र्याटलाई चुनाव कठिन रहेका मत सर्वेक्षण सार्वजनिक भइरहँदा अमेरिकी राष्ट्रपति बाइडेनले मतदातालाई विशेष अपिल गरेका छन्। मुलुकमा लोकतन्त्रको भविष्य आगामी चुनावी परिणाममा निर्भर रहने भन्दै सचेत हुन मतदातालाई उनले अपिल गरेका हुन्।
‘लोकतन्त्रलाई अब हल्का रूपमा लिन सकिँदैन,’ उनले सम्बोधनमा भनेका छन्,‘म यहाँ उभिएर सम्बोधन गरिरहँदा उम्मेदवारहरूलाई नियालिरहेको छु। चुनावमा भाग लिने तर परिणामलाई अस्वकीर गर्नेहरू पनि सहभागी छन्,’बाइडेनले भने, ‘ यो बाटो अराजक हो, गैरकानुनी हो र गैरअमेरिकी चरित्र हो।’
राष्ट्रपतीय निर्वाचनको परिणाम अस्वीकार गर्दै समर्थकहरूलाई प्रदर्शनमा उतार्ने ट्रम्पप्रति बाइडेन निकै आक्रोशित सुनिन्थे।
‘जनमत अस्वीकार गरेर पूर्वराष्ट्रपतिले अमेरिकी लोकतन्त्रमा प्रहार गरे। हिंसा झुठ र षडयन्त्रको सहायतामा काम गरिरहेका छन्। हामीले शान्तिपूर्ण तवरले सत्यता अघि सार्नुपर्छ,’ उनले भने।
हिंसा र द्वन्द्वको प्रवर्द्धन गर्नेहरू अमेरिकामा कमजोर रहने उनको टिप्पणी छ। अमेरिकी जनताले संसदीय चुनावमा हिंसाको प्रवर्द्धन गर्ने शक्तिलाई हराउनेमा आफू आशावादी रहेको बताएका छन्। बाइडेनले डेमोक्र्याटिक नेशनल कमिटीको राजनीतिक कार्यक्रममा आफ्नो सम्बोधन गरेका थिए।