नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट तेस्रो पटक प्रतिनिधि सभा सदस्य चुनिएका छन्।
चुनावी प्रचारको क्रममै भावी प्रधानमन्त्री दाबी गर्ने बताएका थापाले सांसद चुनिएपछि कांग्रेस संसदीय दलको नेता बन्ने तयारी थालेका छन्। मंसिर ४ को चुनावी मतपरिणाम, कांग्रेसले पाएको मत र भावी राजनीतिबारे सेतोपाटीका मनोज सत्यालले कांग्रेस महामन्त्री थापासँग कुराकानी गरेका छन्। कुराकानीको सम्पादित अंश:
तपाईंले आगामी प्रधानमन्त्रीमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहुनुभएको छ। यो कत्तिको सहज छ? आफ्नो मूल्यांकन सुनाउनुस् त।
मेरो आफ्नो अनुभवका हिसाबले प्रधानमन्त्रीमा दाबी गर्ने यो उपयुक्त समय हो। मसँग तीन पटक सांसद भएको, मन्त्रालय चलाएको अनुभव छ। यो अनुभवसँगै नेपाललाई कता डोर्याउने भन्ने सोच संकल्प र योजना छ। त्यसैले व्यक्तिगत हिसाबले मेरा लागि उपयुक्त समय हो।
प्रधानमन्त्रीमा तपाईंको दाबेदारी स्टन्ट मात्रै हो भन्ने तर्क पनि छ नि?
प्रधानमन्त्रीमा दाबी गरेर गगन थापाले स्टन्ट गरे भन्नुचाहिँ मलाई र नेपालको राजनीतिलाई नबुझ्नेहरूले गरेको सतही विश्लेषण हो। नेपाली कांग्रेसभित्र अब यसका लागि लडाइँ नलड्ने हो भने पार्टीको अस्तित्व माथि नै संकट आउँछ।
कांग्रेसबाट प्रधानमन्त्रीमा अरूले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन्। अरू नेताहरूसँग तपाईंले छलफल गर्नुभएको छ?
पार्टी भित्रको समिकरणका हिसाबले म शेखर कोइरालासँग सामिप्यतामा छु। उहाँलाई सभापति बनाउन इमान्दारीतापूर्वक म लागेको हुँ। मलाई शेखर कोइरालाको आशिर्वाद प्राप्त हुन्छ, हुन्छ।
संसदीय दलमा उम्मेदवारीबाट म पछाडि फर्किने ठाउँ नै छैन। नेपाली कांग्रेस र शुभेच्छुकहरूको आकांक्षा नै नयाँ नेतृत्व रहेको अवस्थामा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र म यही एजेन्डासहित चुनावमा गएको हो। आम शुभेच्छुकहरूलाई निराश बनाउने छुट हामीलाई छैन।
परिणाम सार्वजनिक भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गर्नुभयो। त्यसलगत्तै, तपाईंकै पार्टी सभापतिले पनि प्रचण्डसँग संवाद गर्नुभयो। अहिलेको राजनीतिक घटनाक्रमले प्रधानमन्त्री प्रचण्डले पाउने देखिन्छ नि?
नेकपा एमालेले माओवादीसँग तत्कालै तालमेल गर्ने स्थिति छैन। माओवादी पनि एमालेसँग लसपस गर्न जान्छ भन्ने लाग्दैन। कोही कतै लसपस गर्न जाला भनेर कांग्रेसले अरूलाई प्रधानमन्त्री प्रस्ताव गर्दैन। हाम्रो कर्तव्य भनेकै गठबन्धनको सरकार कांग्रेसको नेतृत्वमा बनाउनु हो। कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने कुरा हाम्रो हो।
यो निर्वाचनमा कांग्रेसप्रतिको आकर्षण किन घट्यो र कांग्रेसको मत किन घट्यो?
कांग्रेसकै नेतृत्वमा सरकार बन्छ तर पुराना अनुहारले सरकारको नेतृत्व गर्दैन भन्ने प्रतिवद्धता निर्वाचनअघि नै गरेको भए कांग्रेसको मत धेरै नै बढ्थ्यो। अरू बेलाका हाम्रा भोटर कांग्रेसको समानुपातिक सूची देखेर रिसाए।
तपाईंमाथि राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर गठबन्धन र पार्टी भित्रैका उम्मेदवार हराएको आरोप पनि छ नि यसबारे के भन्नुहुन्छ?
शेरबहादुर देउवाको क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार थिएन। मेरा समर्थकले अब, सभापतिले सेटिङ गर्नुभयो आफू जित्नुभयो तलकालाई हराउनुभयो भन्न थाल्ने? यो हल्ला चलाउने को हो? कांग्रेस भित्रकै कोही हो भने अगाडि आउनुपर्यो। यो आरोप लगाउनु भनेको मतदातालाई हेप्नु हो।
राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारीलाई तपाईंले कसरी हेर्नुभएको छ?
राष्ट्रिय स्वतन्त्र पार्टीको उदय परम्परागत दलहरूप्रतिको ठूलो असन्तुष्टि हो। पुराना दलहरूले मतदाताको मनोविज्ञानअनुसार नेतृत्व परिवर्तन र स्थिर सरकारको योजना र सुशासन अघि सारेर विश्वस्त बनाउन सकेको भए नयाँ पार्टीको उदय नै हुँदैनथ्यो। हामीले गर्नु परेका निर्णय नगर्दा नयाँ पार्टीको उदय भएको हो। हामीप्रतिको ठूलो असन्तुष्टि र विद्रोह हो।
सरकार बनाउनलाई १ सय ३८ सांसद आवश्यक हुन्छ। अब सरकार निर्माण कसरी गर्नुहुन्छ?
हामी पाँच दलीय गठबन्धन एक ठाउँमा रहेर अरू दलहरूको समर्थन खोज्ने हो। त्यसपछि हामीले गर्नुपर्ने कुरा भनेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग नै हो। संख्याको कारणले गर्दा पनि उसलाई सहभागी गराउँदा हाम्रो सरकार सानो कुराले तलमाथि हुँदैन।