मंसिर ४ को निर्वाचनले आफ्नो दललाई विपक्षमा रहन जनादेश दिएको भए पनि 'आवश्यक परे सबै विकल्पमा आफूहरू खुला रहेको' जनता समाजवादी पार्टी (जसपा) ले जनाएको छ।
जसपा प्रवक्ता मनिष सुमनले शनिबार सेतोपाटीसँग कुरा गर्दै निर्वाचनले पार्टीलाई विपक्षमै रहन भनेको तर सरकार नबन्ने स्थिति आए निकास दिन आफूहरू तयार रहेको बताए।
सरकार निर्माणका लागि गठबन्धन बनाउने सन्दर्भमा पनि जसपा सबै विकल्पमा खुला रहेको उनको भनाइ छ।
निर्वाचनको अन्तिम मत परिणाम आउनै लागेका बेला दलहरू केन्द्र र प्रदेश सरकार गठनको कसरतमा जुटिसकेका छन्। यही सन्दर्भमा जनता समाजवादी पार्टी धेरै ठाउँमा सरकार गठनमा निर्णायक हुने अवस्थामा देखिएको छ।
संघ र प्रदेश १ मा पनि जसपा निर्णायक हुने अवस्था छ। यस्तो बेला चुनावमा झैं एमालेसँगै सहकार्य हुन्छ कि अहिलेको सत्ता गठबन्धनमा जसपा सामेल हुन्छ भन्ने प्रश्नमा प्रवक्ता सुमनले भने, 'सम्भावनाका सबै ढोका हाम्रा लागि खुला छन्। जसपा सबै विकल्पका लागि तयार छ।'
उनका अनुसार चुनाव बेला भएको तालमेल चुनावपछिको अवस्थामा कायम नरहन पनि सक्छ, कायम रहन पनि सक्छ। यसपटकको जनादेशले जसपालाई विपक्षमा रहन निर्देश गरेको उल्लेख गर्दै उनले थपे, 'यसपटकको जनादेशले हामीलाई विपक्षमा रहन भनेको छ। हामी जनादेशको सम्मान गर्न प्रतिबद्ध छौं।'
'हामीबेगर सरकार नै बन्न नसक्ने अवस्था भयो, संसद अनिर्णयको बन्दी हुने वा विघटनतिर अघि बढ्यो भयो भने हामी खुट्टा कमाउने छैनौं,' उनले भने, 'यसका लागि के गर्ने भन्ने कुरा निर्वाचनको अन्तिम परिणाम आएपछि बल्ल छलफल सुरू हुनेछ।'
मंसिर ४ भन्दा केही दिनअघिसम्म सत्ता गठबन्धनमै रहेको जसपाले अन्तिम समयमा गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको थियो। तर अध्यक्ष उपेन्द्र यादव स्वयं सप्तरी-२ मा सिके राउतसँग ठूलो मतान्तरले पराजित भए। यादवकै गृहजिल्ला मोरङमा पनि जसपाका लागि सहमति भएको क्षेत्रमा एमालेले आफ्नै उम्मेदवार खडा गरेको थियो। प्रतिनिधिसभामा मोरङ-५ लिएको जसपा त्यहाँ एमालेकै बागी उम्मेदवारबाट पराजित भएको थियो।
जसपाले निर्वाचनपछिको अवस्थामा देशैभर एकै नीति अख्तियार गर्ने जनाएको छ।
'हामी निश्चित मान्यता, विधि र विचारद्वारा निर्देशित पार्टी हौं, त्यसैले प्रदेशमा एउटा र केन्द्रमा अर्कै नीति लिएर अवसरवादी चरित्र देखाउँदैनौं,' उनले भने, 'अब कसरी अघि बढ्ने, कोसँग तालमेल गरेर अघि बढ्ने भन्ने निर्णय लिनेछौं। त्यसका लागि निर्वाचनको अन्तिम नतिजा कुर्नेछौं।'