प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र आएको भन्दै बुधबार सर्वोच्च अदालत जाने बताए पनि सर्वोच्चले भने कुनै जानकारी नभएको बताएको छ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार राणाको महाअभियोग निष्क्रिय भएको कुनै पनि पत्र वा जानकारी आएको छैन।
‘प्रधानन्यायाधीशज्यूमाथि लागेको महाअभियोग निष्प्रभावी भएको कुनै जानकारी र पत्र सर्वोच्च अदालत आएको छैन,’ उनले भने।
सर्वोच्चका एक न्यायाधीशले पनि अदालतमा संसदबाट महाअभियोग निष्प्रभावी भएको भन्ने पत्र नआएको पुष्टि गरे। त्यस्तो पत्र संसदले सर्वोच्चमा नपठाई राणा प्रधानन्यायाधीशको रूपमा अदालत आउन नसक्ने पनि उनको जिकिर छ।
संसद सचिवालयले आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र आएकाले अदालत जान लागेको राणाले सेतोपाटीलाई जानकारी दिए।
‘पहिला कार्य सम्पादन गर्न नपाउने गरी भएकोमा संसद नै गइसकेको हुनाले निष्प्रभावी भएको जानकारी गराइन्छ भनेर पत्र आएको छ,’ राणाले भने,‘म व्यवस्थापन गरेर आजै अदातल जान्छु।’
संसद सचिवालयले राणालाई पत्र पठाइसकेको पुष्टि गरेको छ।
सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राणाको महाअभियोगका विषयमा पत्र पठाइएको पुष्टि गरे।
‘पत्र आजै सम्बन्धित सबै निकायमा पठाइएको छ। व्यहोराबारे मैले पनि बुझ्दैछु,’ धमलाले भने।
राणाविरूद्ध गत फागुनमा सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।