महाअभियोगपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा कार्यालय आउने भएपछि सर्वोच्च परिसरमा सुरक्षा सतर्कता बढाइएको छ।
महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा महाअभियोग निष्प्रभावी भएको पत्र पाएसँगै बुधबार सर्वोच्च अदालत जाने भएका छन्।
राणाले मंगलबार आफूविरूद्ध महाअभियोग दर्ता भएको संसदको कार्यकाल समाप्त भएकाले महाअभियोग निष्प्रभावी पारिदिन संसद सचिवालयमा निवेदन दिएका थिए।
उनको निवेदनपछि संसद सचिवालयले बुधबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्, न्याय परिषद र सर्वोच्च अदालतमा महाअभियोग निष्प्रभावी भएको पत्र पठाएको हो।
सेतापाटीसँग संक्षिप्त कुराकानी गर्दै राणाले संसद सचिवालयबाट महाअभियोग निष्प्रभावी भएको पत्र प्राप्त गरेकाले त्यहीँ पत्रको आधारमा आफू २ बजेपछि सर्वोच्च छिर्न लागेको बताए।
जबराले यसअघि २ असोजमा पनि सर्वोच्च छिर्ने प्रयास गरेका थिए। त्यसबेला उनको प्रयास असफल भएको थियो।
महाअभियोग निष्प्रभावी भएको पत्र प्राप्त भएकाले यसपटक आफूमाथि अवरोध भए त्यो विधि विपरीत हुने राणाले बताए।
‘विधि र प्रक्रियाको पालना गर्दै म सर्वोच्च छिर्न लागेको हुँ। ममाथि अवरोध गर्नु भनेको विधिको उल्लंघन हो,’ राणाले भने।
हेर्नुहोस् सर्वोच्च परिसरको दृश्य