भारतका दुई राज्यमा आज विधान सभाको मतगणना भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरात र हिमाचलमा विधान सभाका लागि मतगणना भइरहेको छ।
टाइम्स अफ इन्डियाका अनुसार प्रारम्भिक मतपरिणाममा गुजरातमा सत्तारूढ भारतीय जनता पार्टी ऐतिहासिक जिततर्फ अग्रसर देखिएको छ।
विधान सभाका १८२ सिटमध्ये भाजपाका उम्मेदवारले १५० स्थानमा अग्रता लिइरहेका छन्। त्यहाँ प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले १८ स्थानमा मात्र अग्रता लिएको छ भने अरबिन्द केजरीवाल नेतृत्वको आम आद्मी पार्टीले ७ ठाउँमा अग्रता लिएको छ।
गुजरातमा सन् १९९८ देखि भाजपाको सरकार छ। पाँच वर्षअघिको चुनाव भाजपाले ९९ सिटमात्र जितेको थियो। सन् २०१९ को आम निर्वाचनमा केन्द्रमा नरेन्द्र मोदी दोहोरिएपछि गुजरातमा भाजपाप्रति झन् धेरै आकर्षण बढेको देखिन्छ। यसपालि अत्याधिक बहुमतसहित भाजपाले गुजरातमा लगातार ७ पटकसम्म सरकार चलाउने भएको छ।
पाँच वर्षअघिको चुनावमा ७८ सिट जितेको कंग्रेस यसपालि झन् धेरै खुम्चिने भएको छ।
यता हिमाचल प्रदेशमा भने कंग्रेसले भाजपालाई कडा टक्कर दिइरहेको छ।
द हिन्दुका अनुसार विधान सभाका ६८ सिटमध्ये भाजपाले ३३ र कंग्रेसले ३१ सिटमा अग्रता लिइरहेका छन् भने बाँकी ४ सिटमा अन्य दलको अग्रता छ।
पाँच वर्षअघिको चुनावमा हिमाचलमा भाजपाले ४४ सिट जितेको थियो भने कंग्रेसले २१ सिट हात पारेको थियो।
दुबै राज्यको अन्तिम मतपरिणाम बिहीबार साँझसम्म सकिने बताइएको छ।