दक्षिण अमेरिकी मुलुक पेरू बुधबार नाटकीय रूपमा राजनीतिक घटनाक्रम भएका छन्।
द न्युयोर्क टाइम्सका अनुसार बुधबार पेरूको संसदमा राष्ट्रपति पेड्रो क्यास्टिलो विरूद्धको महाअभियोग प्रस्तावमाथि मतदान हुने कार्यतालिका थियो। संसद बैठक नबस्दै ५३ वर्षीय राष्ट्रपति क्यास्टिलोले टेलिभिजनमा देशवासीका नाममा सम्बोधन गरे।
उक्त सम्बोधनबाट उनले संसद विघटन गरेर संकटकालीन सरकार गठन गर्ने घोषणा गरे। आफू सत्तामा रहिरहन उनले गरेको घोषणा प्रतिपक्षी त स्वीकारेनन् नै उनका सहयात्री नै त्यसको विपक्षमा उभिए। सुरक्षा निकायका प्रमुखहरूले पनि संयुक्त वक्तव्य जारी गरेर राष्ट्रपतिको कदमलाई साथ नदिने बताए।
केहीबेरमा बसेको संसद बैठकले राष्ट्रपति क्यास्टिलोविरूद्धको महाअभियोग प्रस्ताव पारित गर्यो। उनको ठाउँमा उपराष्ट्रपति डिना बोलार्तेलाई राष्ट्रपति चुन्यो। ६० वर्षीय डिनाले बुधबार राती नै राष्ट्रपतिको सपथ लिएकी छन्। उनी पेरूमा राष्ट्रपति बन्ने पहिलो महिला हुन्।
नाटकीय रूपमा विकसित भएका घटनाक्रमसँगै संसद विघटन गर्ने राष्ट्रपति क्यास्टिलोलाई पक्राउ गरियो। अहिले उनलाई हिरासतमा राखिएको छ।
क्यास्टिलो किसानबाट शिक्षक हुँदै राजनीतिमा आएर गत वर्ष जुलाईमा पेरूको राष्ट्रपति निर्वाचित भएका थिए। वामपन्थी विचारधाराका क्यास्टिलोलाई भ्रष्टाचार आरोपमा यसअघि पनि दुई पटक संसदमा महाअभियोग प्रस्ताव ल्याइएको थियो। आफूविरूद्धको महाअभियोग फेल गराउन उनले दर्जनौंलाई मन्त्री बनाएका थिए भने कुनै अनुभव नभएकाले पनि उच्च सरकारी जिम्मेवारी दिएका थिए।